+
+
Shares

बढ्न थाल्यो आर्थिक गतिविधि, सुध्रिएन कर्जाको माग

चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा आर्थिक गतिविधिमा सुधार देखिएको छ । अमेरिका–इजरायल र इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण पनि मुलुकको आयात बढ्दा आर्थिक गतिविधि बढेको देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्थिक गतिविधिमा सुधार देखिएको केन्द्रीय बैंकले जनाएको छ।
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आयात बढेको र विदेशी मुद्रा सञ्चिति १८.४ महिनाको आयात धान्न पर्याप्त रहेको छ।
  • चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स आएको छ जुन हालसम्मकै उच्च हो।

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा आर्थिक गतिविधिमा सुधार देखिएको छ । अमेरिका–इजरायल र इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण पनि मुलुकको आयात बढ्दा आर्थिक गतिविधि बढेको देखिएको हो ।

पेट्रोलियम पदार्थको हकमा नेपाल पूर्ण रुपमा आयातमा निर्भर छ । चालु आर्थिक वर्षको ९ महिनासम्म २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पश्चिम एसिया तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको छ भने भारतबाट विदेशी लगानी फिर्ता जाँदा अमेरिकी डलरको तुलनामा भारुसँगै नेपाली रुपैयाँ कमजोर भएको छ ।

नेपाली रुपैयाँ र भारुको स्थिर विनिमयदरका कारण डलरसँग भारु कमजोर हुँदा रुपैयाँ पनि कमजोर हुन्छ । डलर बलियो भएपछि त्यसको असर विदेशी विनिमय सञ्चितिमा पनि देखिएको छ । डलर बलियो हुँदा नेपाली मुद्रामा रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य बढेको छ । आर्थिक गतिविधि पनि बढेकाले मुद्रास्फीतिमा सुधार देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ । त्यसैगरी विदेशी मुद्रा सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ । चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । एकै महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।

फागुन महिनामा २३ अर्ब ८ करोड अमेरिकी डलर रहेको विदेशी विनिमय सञ्चिति चैत महिनासम्ममा आइपुग्दा २३ अर्ब ५५ करोड पुगेको छ । तर, फागुनसम्मको विदेशी सञ्चितिले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो भने चैतसम्मको सञ्चिति १८.४ महिनाको लागि पर्याप्त हुनेछ । डलरको तुलनामा रुपैयाँ कमजोर भएकै कारण सञ्चिति पर्याप्तता घटेको हो ।

रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३१.९ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिने अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत रहेको छ ।

चालु आवको चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब ५४ करोडले बढी ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ६ प्रतिशत अर्थात् ३ खर्ब ४ अर्ब ८२ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

गत आवको चैतमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । चालु आवको चैतसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत तथा वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?