News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले चालु आव माघ महिनाको उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत पुगेको जनाएको छ।
- चालु आव माघसम्म कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रहेको छ।
- विप्रेषण आप्रवाह चालु आव माघमा १ खर्ब ९८ अर्ब ८ करोड पुगेको छ।
२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष माघ महिनाको उपभोक्ता मुद्रास्फीति बढेको छ । मूल्यवृद्धि बढ्न भनेको आर्थिक गतिविधि बढेको वा समग्र बजारको माग सुधार आएको भन्ने बुझ्न सकिन्छ ।
वित्तीय क्षेत्रको कर्जा, आयात निर्यात अवस्था, वित्तीय क्षेत्रको तरलता र ब्याजदर हेर्दा आर्थिक गतिविधि बढेको देखिँदैन । राष्ट्र बैंकले अर्थतन्त्रको वाह्य क्षेत्र हालसम्मकै बलियो अवस्थामा रहेको देखाएको छ ।
त्यसैगरी कर्जाको औसत ब्याजदर ७ प्रतिशत, निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर ४ प्रतिशत, १० खर्बभन्दा धेरै लगानीयोग्य रकम राष्ट्र बैंकमा थुप्रिएको तथ्यांकले आर्थिक गतिविधिमा सुधार आएको देखिँदैन ।
केन्द्रीय बैंकका अनुसार चालु आव माघ महिना वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत छ । चालु आव पुसको मुद्रास्फीति २.४२ प्रतिशत थियो ।
चालु आव पुसको तुलनामा मूल्यवृद्धि बढे पनि गत आव सोही अवधिको तुलनामा भने थोरै नै हो । सुस्त अर्थतन्त्र, जेनजी विद्रोह र समग्र माग बढ्न नसक्दा मूल्यवृद्धि असामान्य हुँदै आएका थियो । चालु आव पछिल्ला महिना मूल्यवृद्धिमा सामान्य सुधार आउन थालेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार कर्जामा सुधार आएको र आर्थिक गतिविधिमा समान्य सुधार आउँदा मूल्यवृद्धिमा सुधार आएको हो ।
केन्द्रीय बैंकका अनुसार चालु आव माघसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड छ । यस्तो सञ्चिति १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
रेमिट्यान्समा आएको उच्च सुधारका कारण चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड र शोधनान्तर ५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशत र अमेरिकी डलरमा ३३ प्रतिशत बढेको छ । चालु आव माघको विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड छ । उक्त अवधिमा निर्यात ३२.२ प्रतिशत र आयात १३.६ प्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ ।
गत माघसम्म नेपाल सरकारको खर्च ८ खर्ब १ अर्ब ३७ करोड र राजस्व परिचालन ६ खर्ब ६५ अर्ब २ करोड छ । चालु आव सोही अवधिमा विस्तृत मुद्रा प्रदाय ५.९ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १४.२ प्रतिशत बढेको हो ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाबीच भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4