News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका अनुसार चालु आव पाँ महिनामा निजी क्षेत्रमा जाने कर्जा १.९ प्रतिशतले बढेको छ।
- चालु आव मंसिरसम्म नेपाल सरकारको खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड पुगेको छ।
- चालु आव मंसिरसम्म विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ र निर्यात ५८.२ प्रतिशतले बढेको छ।
२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष पाँचौं महिना बित्दा आर्थिक गतिविधिमा सुधार संकेत देखिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार निर्माण क्षेत्रले समान्य गति लिँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा सुधार देखिँदा आर्थिक गतिविधि सुध्रिएको हो ।
केन्द्रीय बैंकका अनुसार चालु आव पाँ महिनामा निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्र ५.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र ३.५, औद्योगिक उत्पादन क्षेत्र २.५ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत बढेको छ ।

कर्जामा आएको यो सुधार मुद्रास्फीति पनि कात्तिकको तुलनामा बढेर १.६३ प्रतिशत कायम भएको छ । साथै, निजी क्षेत्रमा जाने बैंक तथा वित्तीय संस्थाको कर्जा पनि १.९ प्रतिशत पुगेको छ । चालु आव कात्तिकमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि १.२ प्रतिशतमा सीमित थियो ।

विगतमा वाह्य अर्थतन्त्रका सूचक सकारात्मक भए पनि आन्तरिक गतिविधि बढेको थिएन । तर, पछिल्लो समय निर्माण क्षेत्रले सामान्य गति लिँदा पनि समग्र अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव देखिएको हो ।
समग्र माग बढ्न नसक्दा सुस्त भएको अर्थतन्त्रमा विगतको तुलनामा उपभोग पनि बढ्न थालेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत छ । त्यसैगरी कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड हो । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंसिरसम्म चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर ४ खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशत र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ ।

चालु आव मंसिरको विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ छ । उक्त अवधिमा निर्यात ५८.२ र आयात १५.८ प्रतिशतले बढेको छ ।

मंसिरसम्म नेपाल सरकारको खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १२.९ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको केन्द्रीय बैंकको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया 4