
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष भदौसम्म उपभोक्ता मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
- चालु आव दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढी हो।
- चालु आव दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशत र आयात १६.२ प्रतिशतले वृद्धि भई क्रमशः ४७ अर्ब ३२ करोड र ३ खर्ब ५ अर्ब १६ करोड पुगेको छ।
२८ असोज, काडमाडौं । आर्थिक गतिविधि विस्तार हुन नसके पनि अर्थतन्त्रका आन्तरिक तथा वाह्य सूचक सबल देखिएका छन् ।
रेमट्यिान्समा उच्च सुधार र आयातमा आएको कमीसँगै समग्र अर्थतन्त्रका सूचक सबल देखिएका हुन् ।
चालु आर्थिक वर्ष आर्थिक गतिविधि नबढेको निजी क्षेत्रको कर्जा र मूल्यवृद्धिले स्पष्ट हुन्छ । तर, रेमिट्यान्स र निर्यातमा देखिएको उच्च सुधारले समग्र अर्थतन्त्रलाई नै सबल देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव भदौ महिनासम्म उपभोक्ता मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित छ । त्यसैगरी रेमिट्यान्स आप्रवाह ३१ र निर्यात ८८.६ प्रतिशत बढेको छ । आयात भने १६ प्रतिशतले मात्र बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आव भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड अर्थात् ०.९ प्रतिशत बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ४६ अर्ब ९४ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशत बढेको थियो । तर, चालु आव साउनमा भने २ अर्ब ९३ करोडले घटेको थियो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई भदौ मसान्तमा ७.६ प्रतिशत बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । चालु आव भदौसम्मको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।
चालु आव दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
गत साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्स भित्रिएकोमा भदौमा १ खर्ब ७४ अर्ब ६७ करोडले बढेर साढे ३ खर्ब पुगेको छ ।
भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा ३.८६ प्रतिशत थियो । चालु आव भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत छ ।
चालु आव दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड र कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ५ अर्ब १६ करोड पुगेको छ ।
भदौसम्म शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा छ । गत आवको सोही अवधिमा १ खर्ब १ अर्ब ७७ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा छ ।
चालु आव भदौसम्म डेबिट कार्ड प्रयोगकर्ताले १ करोड ८ लाख कारोबार मार्फत ८७ अर्ब ३२ करोड बराबर भुक्तानी कारोबार गरेका छन् ।
त्यसैगरी मोबाइल बैंकिङ अन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड बराबर कारोबार भएको छ । क्यूआर कोड भुक्तानी अन्तर्गत ४ करोड १० लाख कारोबार मार्फत १ खर्ब १ अर्ब २३ करोड कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4