
News Summary
Generated by OK AI. Editorially reviewed.- टंक दाहालले कान्तिपुर टिभीको प्रसारणलाई वास्तविकता लुकाउने र नभएको देखाउने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे।
- टंक दाहालले निर्मला पन्त प्रकरण र अन्य विषयमा प्रमाणविहीन सामग्री बनाएर समाजमा भ्रम फैलाएको आरोप लागेको छ।
काठमाडौं । गत सोमबार र मंगलबार जेन्जी आन्दोलनको दुई दिन । न त कसैले सजिलै बिर्सिन सक्ने, न त सहजै सम्झन मन हुने । सबैतिर त्रास र अनिश्चितता थियो । एक क्षण ‘मृत्यु भएको’ खबर आउँछ, अर्को क्षण ‘सिंहदरबार जलेको’ सुनिन्छ ।
कतै बैंक लुटिएको हल्ला, कतै आगो लागेको समाचार ।
देश नै भय र भ्रमको घेराबन्दीमा थियो ।
जुन बेला जनमानसमा यस्तो स्थिति थियो, त्यतिबेला रिस, आवेग, ग्लानि होइन—सबै यथास्थितिमा थियो । त्यतिबेला केहीले आफूलाई लागेको कुरा पोस्ट गरे, तर धेरैले चुपचाप परिस्थितिको निरीक्षण गरे ।
यही मौकामा केही भने भ्रमको खेती गर्नलाई हात धोएरै लागे । जसले अत्तालिएको जनमानसलाई झनै तनावग्रस्त बनायो ।
पछिल्लो समय कान्तिपुरबारे चर्किएको विवादको प्रसंगबाट सुरु गरौं । जेन्जी आन्दोलनको दोस्रो दिन कान्तिपुर टिभीको कार्यालयमा समेत आगो लगाइयो । उनीहरूले हिम्मत नहारी भोलिपल्टैबाट आंशिक रूपमा जलेको भवनबाटै प्रत्यक्ष प्रसारण गरे । समाचार प्रस्तुत गर्ने क्रममा जलेको भवनलाई पृष्ठभूमिमा राखेर निरन्तर प्रसारण चलिरह्यो ।
यो प्रस्तुतिलाई कान्तिपुरले एउटा बिम्बको रूपमा प्रयोग गरेको थियो । तर स्वतन्त्र विश्लेषकको रूपमा आफूलाई प्रस्तुत गर्ने टंक दाहालले यसलाई अपव्याख्या गर्दै एक सार्वजनिक पोस्ट गरे ।
कान्तिपुर टिभी प्रसारण भइरहेको समाचारको तस्बिर राख्दै उनले लेखे, ‘वास्तविकता लुकाउने र नभएको देखाउने ।’ यो पोस्ट भए पछि धेरैको ध्यानाकर्षण भयो ।
उनको यस किसिमको दाबीले तत्कालै सामाजिक सञ्जालमा ठूलो तरंग ल्याएको देख्न सकिन्छ ।
त्यसपछि पुनः जनमानस कान्तिपुरमाथि खनिन थाल्यो । जो आगलागिपछि पनि निरन्तर सूचना प्रसारण गरी उठ्न खोजिरहेको थियो, उसको घाँटी निमोठ्ने काम भएको देखिन्छ।
यसले कान्तिपुरलगायत सबै मिडिया झुटा हुन्छन् भन्ने भ्रम पैदा गरिदियो ।
यो उनको भ्रमको खेतीको पहिलो किस्सा भने होइन । यसअघि पनि उनले धेरै कुराहरूलाई भ्रमपूर्ण तरिकाले गलत दिशातर्फ मोडेको देख्न सकिन्छ ।
उनले हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठजस्ता दिग्ग्ज नेपाली कलाकारलाई पनि छाडेनन् ।
मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)माथि युएसएडबाट डलर लिएर क्रिश्चियन धर्म फैलाएको र नास्तिकता प्रचार गरेको भन्दै उनले भ्रामक कन्टेन्ट सामाजिक संजालमा पोष्टाए ।
त्यसो त फेब्रुअरी २०२५ मा को युएसएडको सहयोग र नेपाली कलाकारहरूको सहकार्यबारे बहसले यो मुद्दा उजागर भयो । यसमा टंक दाहालले यी आरोपहरूलाई थप बल पुर्याएको देखिन्छ ।
महजोडीले यी आरोपलाई अस्वीकार गर्दै आफ्ना कार्यक्रमहरू सामाजिक सुधार र सांस्कृतिक सम्मानका लागि भएको बताएका पनि छन् ।
यद्यपि, ठोस प्रमाणको अभावमा यो विवाद अनौपचारिक पोस्ट र भिडियोमा आधारित छ ।
यो मुद्दा नेपालमा विदेशी प्रभाव र सांस्कृतिक पहिचानबारेको गहिरो बहसको हिस्सा हो । समर्थकहरूले यसलाई कलाकारको स्वतन्त्रतामाथिको आक्रमण ठान्छन् ।
यसरी गलत प्रचार गर्दा समाजले ‘आइडल’ मानेका व्यक्तिहरूमाथि पनि स्थायी दाग लगाइदिन्छ । जसले आफ्नो जीवनभरको मेहनतले बनाएको प्रतिष्ठा क्षणभरमै गुमाउनुपर्ने अवस्था आउँछ ।
जबकि देशका विभिन्न ठाउँमा स्कूल, अस्पताल र सार्वजनिक संरचनाको निर्माण गर्दा धेरैजसो विदेशी दाताकै भर छ । विदेशी सहयोगकै कारण कतिपय दुर्गम ठाउँमा विकसित भएका छन् ।
त्यस्तै, उनको अर्को कन्टेन्ट छ, निर्मला पन्तको हत्या प्रकरण बारे । करिब एक महिनाअघि निर्मला पन्त प्रकरणमा उनले बनाएको पछिल्लो भिडिओले ठूलो आलोचना खेपिरहेको छ ।
सामाजिक सञ्जालमा उनलाई ‘भ्युजको खेती’ र ‘सस्तो विश्लेषण’ गरेको आरोप लागिरहेको छ । उनले निर्मला पन्त प्रकरणबारे ‘लुकाइएको कुरा’ भन्ने सनसनीपूर्ण शीर्षकसहित भिडियो बनाएर लाखौँ दर्शक आकर्षित गरे । तर, उनले पस्किएको सामग्री हेर्दा सात वर्षपछि पनि कुनै नयाँ तथ्य प्रस्तुत नगरी पुराना हल्ला र षड्यन्त्र सिद्धान्तलाई मात्र दोहोर्याएका छन् ।
प्रहरी लापरवाही, प्रमाण छेडछाड, राज्यको नाङ्गो नाच र अपराधमाथि राजनीति जस्ता कुरा पहिल्यै बहस भइसकेका हुन् ।
यस्तो दोहोरिएको कन्टेन्टले नयाँ कुरा दिने भन्दा पनि भ्रम फैलाउने काम भएको देखिन्छ ।
यस घटनालाई बिनाप्रमाण सामाजिक सञ्जालमा ‘ब्यूँताउने’ काम गर्ने उनीले पीडित परिवारको गहिरो आघातलाई नसोची बेवास्ता गरेको भन्दा फरक नपर्ला । उनका अन्य कन्टेन्ट पनि विवादास्पद छन् । आफू विदेशमा बस्ने अनि ‘देश हल्लाउने अडियो’ भन्दै उनले फरार व्यवसायी जीबी राईको नाममा सनसनी फैलाए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले सतहमा ल्याएको केपी ओलीको ३२ अर्ब लगानी प्रकरणलाई प्रमाणविहीन तरिकाले पुष्टि गर्न खोजे । यी सबै सामग्रीले जनमानसलाई थप आक्रोशित बनाउने काम मात्र गर्यो।
यसरी दाहालको प्रवृत्ति स्पष्ट हुन्छ । तथ्यलाई अतिरञ्जित गर्ने, विना प्रमाण पुराना विवादलाई झिकेर भ्युज बटुल्ने र समाजमा अविश्वासको बीउ रोप्ने ।
उनको शैली पत्रकारिता कम, सनसनी बेच्ने व्यापार जस्तो देखिन्छ ।
यस्ता गतिविधिले समाजमा गम्भीर असर पार्छ । मिडियाप्रति अविश्वास बढ्छ, नागरिकमा आक्रोश जन्मिन्छ, र लोकतान्त्रिक संस्थामाथि नै प्रश्न उठ्छ । संवेदनशील मुद्दामा प्रमाणबिना गरिएको प्रचारले पीडित मात्र होइन, समग्र समाजलाई नै घाइते बनाउँछ ।
दाहाल हाल अमेरिकामा बस्छन् । तर, नेपालका घटनामा उनको लगातार हस्तक्षेपले कानुनी विवाद समेत निम्त्याएको छ । नेपाल प्रहरीले समेत चेतावनी दिएको खबर गत वर्ष बाहिरिएको थियो ।
प्रतिक्रिया 4