News Summary
Generated by OK AI. Editorially reviewed.- विदेशी नागरिक अनुगमन प्रणाली लागु भएको ५ महिनामा सवा १ लाख विदेशी पर्यटक अध्यागमन विभागको ट्र्याकिङमा आएका छन्।
- हालसम्म १ हजार ५ सय ४३ सेवा प्रदायक प्रणालीमा आबद्ध भएका छन्, जसमा ९४ वटा होटल मात्र छन्।
- विदेशी नागरिकको सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि प्रणालीमा आबद्धता बढाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
२९ वैशाख, काठमाडौं । विदेशी नागरिक अनुगमन प्रणाली लागु भएको ५ महिनामा सवा १ लाख विदेशी पर्यटक अध्यागमन विभागको ट्र्याकिङमा आएका छन् ।
हालसम्म होटल, एजेन्सी, आन्तरिक वायुसेवा कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने १ हजार ५ सय ४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
तीमध्ये ९४ वटा होटलमात्र यस प्रणालीमा आबद्ध भएका छन् । प्रणाली मार्फत करिब १ लाख २५ हजार यात्रुको अभिलेख संकलन भएको देखिएको छ ।
यो प्रणाली १ जनवरी २०२६ देखि काठमाडौंका तारे होटलहरू र १ मार्चदेखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागु भएको हो ।
विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधि अनुगमन तथा अपराध नियन्त्रण र मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने प्रणालीको उद्देश्य छ ।

आज विभागले यस प्रणालीको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेको छ । गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासंघ, पर्यटक प्रहरी लगायत निकायको सहभागितामा समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।
छलफलमा सबै होटल संघ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटल संख्या कम भएको देखिएको छ । प्रणाली सम्बन्धी सचेतनाको कमी भएको, साना होटल प्रणालीमा आबद्ध हुन नसकेको लगायत गुनासो छलफलमा उठेका छन् ।
छलफलमा होटल अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवा प्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिनेसमेत निर्णय भएको विभागले जनाएको छ ।
बैठकमा होटल लगायत अन्य प्रकृतिका सेवा प्रदायकलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
प्रणाली राष्ट्रिय सुरक्षाको विषय भएको र धेरै होटल प्रणालीमा आबद्ध हुन नआएकाले अध्यागमन विभागले अन्य उपाय खोजी गरिरहेको समेत बताएको छ ।
प्रतिक्रिया 4