युरोपेली संघ (ईयू) का विदेश मन्त्रीहरूले वेस्ट ब्यांकमा हिंसात्मक गतिविधिमा संलग्न इजरायली बसोवासकर्ता र हमासका प्रमुख नेताहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाउने सहमति गरेका छन् ।
ईयूकी वैदेशिक नीति प्रमुख काजा कालासले सोमबार यस सम्झौताको पुष्टि गर्दै सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘गतिरोधबाट नतिजातर्फ अघि बढ्ने यो उपयुक्त समय थियो, उग्रवाद र हिंसाले परिणाम भोग्नुपर्छ ।’ हंगेरीको अघिल्लो सरकारले महिनौंदेखि रोकेर राखेको यो प्रतिबन्धको बाटो गत महिना त्यहाँ भएको निर्वाचनमा सरकार परिवर्तन भएपछि खुलेको हो ।
यस प्याकेजले विशेषगरी तीन जना इजरायली बसोवासकर्ता र चार वटा संस्थालाई लक्षित गरेको छ, भने वेस्ट ब्यांकमा प्यालेस्टिनीहरूविरुद्ध बढ्दो हिंसाप्रति युरोपेली सरकारहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यस निर्णयप्रति इजरायलले कडा प्रतिक्रिया जनाउँदै ईयूको कदमलाई ‘आधारहीन र राजनीतिक पूर्वाग्रह’बाट प्रेरित भएको दाबी गरेको छ । इजरायली विदेश मन्त्री गिदोन सारले विरोध गर्दै भनेका छन्, ‘युरोपेली संघले इजरायली नागरिक र हमासका आतंकवादीहरूबीच जुन तुलना गर्ने बाटो रोजेको छ, त्यो घृणित र पूर्ण रूपमा विकृत अनैतिकता हो ।’
इजरायली प्रधानमन्त्रीको कार्यालयले ईयूले इजरायली नागरिक र हमासबीच ‘झूटा समानता’ देखाएर आफ्नो ‘नैतिक भ्रष्टता’ उजागर गरेको आरोप लगाएको छ ।
अर्कोतर्फ, हमासका वरिष्ठ अधिकारी बासेम नइमले पनि युरोपेली संघको निर्णयलाई ‘राजनीतिक पाखण्ड र रंगभेद’ को संज्ञा दिँदै असन्तुष्टि व्यक्त गरेका छन् । उनले रोयटर्ससँग कुरा गर्दै भने, ‘यसले नरसंहार र जातीय सफायाको गर्व गर्ने फासीवादी जल्लाद र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने राज्यलाई आफ्नो रक्षा गरिरहेको पीडित पक्षसँग बराबर बनाएको छ ।’
प्रतिक्रिया 4