+

स्टिभ स्मिथ भन्छन् : ओछ्यानबाटै उठ्न मन लाग्दैनथ्यो

२०७५ पुष  ६ गते १८:२३ २०७५ पुष ६ गते १८:२३
स्टिभ स्मिथ भन्छन् : ओछ्यानबाटै उठ्न मन लाग्दैनथ्यो

६ पुस, काठमाडौं । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्धमा परेको ९ महिना बित्यो । यसबीचमा उनले केही टी–२० लिग खेले तर, अन्तर्राष्ट्रिय म्याचको प्यास क्लब क्रिकेटले पक्कै मेटाउन सक्दैन ।

त्यसैले स्मिथ पनि छट्पटीमा छन् राष्ट्रिय टिममा फर्किने दिन गन्दै । बल टेम्परिङ कान्डमा मुद्धिएर एक वर्षे कारवाहीमा परेका उनको प्रतिवन्ध आगामी म्याचमा सकिने छ ।

आफू कारवाहीमा परेपछि अन्तिमपटक पत्रकारसामु प्रस्तुत हुँदै स्मिथले आँखाबाट आँशु खसालेका थिए । त्यो क्षणको सम्झना स्मिथले हालै एक पत्रकार सम्मेलनमा गरेका छन् । बल टेम्परिङ काण्डपछि यो उनको पहिलो पत्रकार सम्मेलन थियो ।

‘ती दिनहरुमा मलाई ओछ्यानबाट उठ्न समेत मन लाग्दैनथ्यो,’ उनी भन्छन्, ‘मनमा औडहा छल्थ्यो र आफैंप्रति दिक्दार लाग्थ्यो ।’

अष्ट्रेलियाको क्रिकेट बोर्डले कारवाही गरेपछि उनले यस वर्ष आईपीएल पनि गुमाए । तर, क्यानाडा र क्यारेबियनमा फ्रेन्चाइज म्याचहरु खेलेका छन् । साथै अष्ट्रेलियाको राष्ट्रिय टिमको नेट प्राक्टिसमा पनि सहभागी भइरहेका छन् । नेटमा उनले मिचेल स्टार्क, जोश ह्याजलउड र प्याट कुमिन्सको बलिङ सामना गरेका थिए ।

स्मिथको अनुपस्थितिमा अष्ट्रेलियाको राष्ट्रिय टिमको स्तर खस्केको छ र अन्तर्राष्ट्रिय म्याचहरुमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । यसले आफूलाई पनि चिन्तित बनाउने स्मिथ बताउँछन् ।

‘जब म टेलिभिजनमा अष्ट्रेलियाको खेल हेर्छु, हाम्रा खेलाडीहरुले मैदानमा संघर्ष गरिरहँदा मलाई बेचैनी हुन्छ । आफू मैदान गएर उनीहरुलाई सहयोग गर्न सक्दिनँ भन्ने कुराले दिक्दार बनाउँछ,’ उनले भने ।

यद्यपि, भारतसित जारी टेस्ट श्रृंखलामा टिमको प्रदर्शनको उनले सह्राना गरेका छन् । पहिलो टेस्टमा पराजित भएको अष्ट्रेलियाले दोस्रो म्याचमा एक सय ४६ रनको फराकिलो जित निकालेको थियो ।

स्मिथले टिमका कामचलाउ कप्तान टिम पाइनको पनि खुलेर तारिफ गरे । पाइनले प्रेरणादायी कप्तानी गरिररहेको उनको भनाइ छ । ‘उनले कठिन समयमा टिमको नेतृत्व लिए र आफ्नो भूमिकामा न्याय गर्न भरपूर कोशिष गरिरहेका छन्,’ उनले भने ।

यदि अष्ट्रेलियाको टिममा पुनरागमन गरेको खन्डमा स्मिथले अर्को वर्ष हुने विश्वकपमा स्थान पाउन सक्छन् । त्यसलाई लिएर आफू उत्साहित रहेको उनले बताएका छन् ।

‘टी–२० लिगहरुमा व्यस्त रहेकाले मेरो क्रिकेटको लय बिग्रेको छैन, विश्वकप खेल्नेमा विश्वस्त छु,’ उनले भने ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय