१३ पुस, काठमाडौं । एजाक्सका सेन्टर डिफेन्डर डे लाइटमा आँखा लगाइरहेको बार्सिलोनाले फ्रेन्च क्लब टुलुजका डिफेन्डर जिन क्लेर टोडिबोलाई पनि ल्याउने इच्छा देखाएको छ । टोडिबोलाई भने रियल मड्रिडले पनि ल्याउन खोजिरहेको छ ।
१८ वर्षका टोडिबो राम्रा डिफेन्डर मात्रै नभई राम्रा मिडफिल्डर पनि भएकाले उनको खोजी भइरहेको हो ।
बार्सिलोनाका टेक्निकल विभागका इरिक अबिडललाई फ्रेन्च मार्केट पनि राम्ररी थाहा छ । उनीसँगको कुराकानीमा पनि बार्सिलोनाले टोडिबो ल्याउन चाहेका खबरहरु आइरहेका छन् ।
रियल मड्रिडसँगै अरु ठूला क्लबले पनि टोडिबोमाथि आँखा राखिरहेकाले बार्सिलोनालाई सहज भने छैन । टोडिबोमाथि युभेन्टस, म्यानचेस्टर युनाइटेड, लिभरपुल, नापोली र बोरुसिया डर्टमुण्डले पनि चाहना राखेको छ ।
रियल मड्रिडले पनि युवा खेलाडी ल्याउन चाहेको र भविष्यसम्का लागि हुने गरी सेन्टर डिफेन्डर राख्न खोजेकोले टोडिबो मुख्य केन्द्रमा परेका छन् ।
‘उनी छिटै ठूलो क्लबमा हुने छन्’ टोडिबोका एजेन्ट ब्रुनो स्टेनले भनेका छन्, ‘उसलाई अझै राम्रो गर्न सक्छु भन्ने थाहा छ । ठूला भनिएका क्लबमा पनि आफूले खेल्न सक्छु भन्नेमा उनलाई डर छैन ।’
उनले अघि भने, ‘मलाई विश्वास छ, लोनमा नभई ऊ ठूलो क्लबमा ट्रान्सफर नै हुनेछ ।’
अहिले सम्झौताविहीन भएकाले पनि उनलाई नयाँ क्लबमा जान कठिन भने छैन । टुलुजले गर्न खोजेको नयाँ सम्झौतामा उनैले आनाकानी गरेका थिए ।
प्रतिक्रिया 4