Comments Add Comment

साझा र विवेकशीलको एकता : रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने ‘समझदारी’

१५ मंसिर, काठमाडौं । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्न आँटेको छ । प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन् ।

एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्दि्रय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो । पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने अनौपचारिक समझदारी बनेको स्रोतले बतायो । यसैगरी विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने स्रोतको दावी छ ।

यसअघिको एकता प्रस्तावमा दुई संयोजक रहने भनिएको थियो । तर, यसले राम्रो सन्देश नजानसक्ने भन्दै अध्यक्ष र संयोजकको नयाँ समझदारी गरिएको हो । यस समझदारीअनुसार पहिलेको प्रस्तावमा संसोधन गरेर साझाले केन्द्रीय कमिटीबाट पारित गराइसकेको छ भने विवेकशीलले पारित गर्न बाँकी छ ।

विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए ।

‘तर, अन्तिम सहमति हुन बाँकी भएकाले यसै हुन्छ भन्न सकिँदैन,’ उनले भने ।

साझा पार्टीका एक नेताले भने अध्यक्षमै कार्यकारी अधिकार निहीत रहने दाबी गरे ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने टुंगो लागिसकेको छ । पहिले एकता हुँदा पनि यही नाम थियो । एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेसनबाट टुंग्याउन दुवै दल तयार भएका छन् ।

साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताइन् । पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने उनको भनाइ छ । बास्कोटा भन्छिन्, ‘सबैतिर हार्ड एन्ड फास्ट ५०-५० प्रतिशत नै त नहोला, तर बराबरीका आधारमा गर्ने सैद्धान्तिक सहमति छ ।’

हाललाई दुवै पार्टीले बोकेका नीति-सिद्धान्तलाई स्वीकार्ने सहमति छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई पार्टीबीच केही मतभिन्नता छ । यी एजेन्डाहरुमाथि जनमतसंग्रह गर्नुपर्ने पक्षमा साझा छ भने विवेकशील वर्तमान संविधानलाई नै स्वीकार्नुपर्ने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment