२२ फागुन, काठमाडौं । बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ । मैदान ओसिलो भएका कारण ढिलो सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको बलपार्कले १० ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको थियो । बलपार्कका लागि निर्भिकले अविजित रहँदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । सचिनले २५ रन जोडे । बालुवाटारका विरेन्द्र र अविनाशले १/१ विकेट लिए ।
बलपार्कले दिएको १०९ रनको लक्ष्य बालुवाटारले ८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । बालुवाटारको जितमा इन्द्र कमलले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । सुरेन्द्रले ३३ रन जोडे । बलपार्कका संगमले १ विकेट लिए ।
यस्तै दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको पुल्चोकले अलआउट हुँदै १७० रन बनाएको थियो । उसका चिरन्जीवीले ५० रन जोड्दा विशालले ४५ रन बनाए ।
ग्रेट हिमालयका विज्ञान राई, मोहम्मद हुसेन, सुशान्त, सन्दीप र नभिनले २/२ विकेट लिए । पुल्चोकले दिएको लक्ष्य ग्रेट हिमालयले ४ विकेट गुमाएर पुरा गर्यो। ग्रेट हिमालयको जितमा आयुषले ६३ रन जोड्दा संगीतले ४४ रन बनाए । सुशान्तले २२ रन जोडे ।
पुल्चोकका सागरले २ विकेट लिए । पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4