+

अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२०७८ पुष  २३ गते १९:२० २०७८ पुष २३ गते १९:२०
अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२३ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जनवरी ९ अर्थात आउने आइतबारदेखि क्यामरुनमा शुरु हुँदैछ ।

यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ । जसमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

२०२१ को जुनमै तय भएको अफ्रिकन कप क्यामरुनको वर्षाको मौसमलाई छल्न जनवरीमा सारिएको थियो । तर कोरोना भाइरस महामारीले गर्दा प्रतियोगिता २०२२ मा सरेको हो ।

अफ्रिकन फुटबल महासंघ (सीएफ) ले प्रतियोगिताको समयको बारेमा आलोचनासमेत खेपेको थियो । सिएफले कोभिड १९ को ओमिक्रोन भेरिएन्टले गर्दा प्रतियोगिता अझै सर्न सक्ने गत महिना जनाएको थियो ।

तर कोरोना भाइरसको संक्रमण वृद्धि हुनका बावजुद पनि प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगिताको फर्म्याट

लगातार दोस्रो पटक अफ्रिकन कपमा २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलहरुपछि प्रत्येक समूहका शीर्ष दुई टिम सिधै अन्तिम १६ मा छनोट हुनेछन् । यस्तै तेस्रो हुनेमध्ये चार टिमले पनि नकआउटमा स्थान बनाउनेछ ।

दाबेदारहरु

साविक विजेता अल्जेरिया अहिले राम्रो लयमा छ । उसलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । म्यानचेष्टर सिटीका विंगर रियाद महारेजको नेतृत्वमा अल्जेरिया ३४ खेलसम्म अपराजित छ ।

यस्तै साडियो मानेको टिम सेनेगल अफ्रिकाको उच्च वरियताको टिम हो । २०१९ मा उपविजेता भएको सेनेगल पनि मुख्य दाबेदारको रुपमा छ ।

यस्तै कीर्तिमानी ७ पटकको च्याम्पियन इजिप्ट अर्को दाबेदार हो । जो संग लिभरपुलबाट खेल्ने मोहम्मद सालाह छन् ।

घाना र नाइजेरिया पनि अफ्रिकाको सफल टिमहरु हुन् । तर २०२२ को विश्वकप छनोटमा राम्रो गर्न सकेनन् । छैटौं पटक अफ्रिकन कप जित्ने लक्ष्यमा रहेका क्यामरुन घरेलु मैदानमा दाबेदारको रुपमा छ ।

यस्तै पूर्व च्याम्पियन आइभरी कोष्ट, ट्युनिसिया र मोरक्को पनि छन् ।

अफ्रिकन कप अफ नेसन्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय