+

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

२०८० फागुन  २ गते १८:३२ २०८० फागुन २ गते १८:३२
पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

२ फागुन, पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए ।

बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो ।

‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शून्यप्राय छन् । कुनै पनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाट नै सुरु हुन जरुरी छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको रुपमा हामीले यो अवधारणा प्रस्तुत गरेका हौं ।’

यो टि–२० प्रतियोगिता १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् ।

१२ विद्यालयलाई ४ समूहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए ।

उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ ।

बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए ।

प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भएपनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ ।

क्रिकेट प्रतियोगिता पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय