+

सहाना प्रधान स्मृति यू १९ पुरुष तथा महिला भलिबल असारमा हुने

२०८१ वैशाख  २६ गते १७:४१ २०८१ वैशाख २६ गते १७:४१
सहाना प्रधान स्मृति यू १९ पुरुष तथा महिला भलिबल असारमा हुने

२६ वैशाख, काठमाडौं । सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति यू १९ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता असार ९ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलाइने छ ।

प्रतियोगितामा सातवटै प्रदेशका महिला र पुरुष टिम सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टिमले नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख तथा तेस्रो हुनेले १ लाख पाउने छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्टले ५-५ हजार पाउनेछन् ।

प्रतियोगिताका लागि करिब ८० लाख बजेट लाग्ने र सम्पूर्ण बजेट प्रतिष्ठानले व्यहोर्ने बताइएको छ ।

प्रतियोगिता आयोजनाका लागि सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिताको व्यवस्थापन र प्राविधिक सहयोग नेपाल भलिबल संघले गर्नेछ । टिम सहभागिता, भेन्यु व्यवस्थापन र प्राविधिक कामको व्यवस्थापन संघले हेर्नेछ भने आयोजना तथा आर्थिक पक्ष सहाना प्रधान प्रतिष्ठानले हेर्ने संघका अध्यक्ष चन्दले जानकारी दिए ।

चन्दले भलिबलको विकास ग्रासरुटबाटै हुने भन्दै यस प्रतियोगिताले नयाँ खेलाडी आउनका लागि माध्यम बन्ने बताए । ‘भलिबल संघले ग्रासरुट कहिलेदेखि गर्छ भन्ने प्रश्न आइरहेको थियो । हामी आफैंले वा ज्वाइन्ट भेन्चरमा गर्ने तयारी थियो । तर अहिले सहान प्रधान प्रतिष्ठानसँग सहकार्यको अवसर जुरेको छ। यसले उमेर समूहका खेलाडीका लागि सहयोग पुग्नेछ,’ चन्दले भने ।

यस प्रतियोगिताबाट यू १९ राष्ट्रिय टिमको छनोट गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने भलिबल संघले जनाएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले संघसँग मिलेर प्रतियोगिता गर्दा सफल हुने विश्वास व्यक्त गर्दै यस प्रतियोगिताबाट युवा खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर हुने बताइन् ।

भलिबल सहाना प्रधान प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय