+

नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ

२०८१ कात्तिक ९ गते २०:२०

एरिक भ्यालीको ‘हिमालय’ (क्याराभान) मनोनयन भएयता नेपाली चलचित्रको अस्कर यात्रा सम्भावना र उपायको समीक्षामै सीमित छ । के, हिमालकै कथा भनिएको मीन भाम निर्देशित ‘शाम्बाला’ ले २५ वर्षदेखिको यो खडेरी तोड्ला ?

९ कात्तिक, काठमाडौं । गुगल गर्दा काठमाडौं र लस एन्जलस बीचको दूरी १२ हजार किमीभन्दा केही बढी छ । जहाँ हरेक वर्ष फिल्म ‘सेलिब्रेसन’ चल्छ, अवार्डहरू वितरण हुन्छन् ।

चलचित्रको यो विश्व महोत्सवमा नेपाली फिल्मको उपस्थिति मृगतृष्णा बन्दै आएको छ ।

हुन पनि २५ वर्ष भयो, एरिक भ्यालीको ‘हिमालय’ (क्याराभान) मनोनयन भएको । त्यसयता प्रशान्त महासागरमा ठूला तूफानहरू चले पनि अस्कर पुग्ने नेपाली फिल्ममेकरको सपनाको आँधी भने बत्तिन पाएन ।

‘शाम्बाला’सम्म आइपुग्दा धेरैको मनमा उठ्ने प्रश्न के हो भने– के हिमालकै कथा भनिएको मीन भाम निर्देशित यो फिल्मले २५ वर्षदेखिको खडेरी तोड्ला ?

अन्तर्राष्ट्रिय फिचरतर्फ १७ डिसेम्बरमा उत्कृष्ट १५ फिल्मको मनोनयन सार्वजनिक हुनेछ । १७ जनवरीमा उत्कृष्ट ५ फिल्मको टुंगो लाग्नेछ । यी विधामा सिफारिस भएका संसारका ८२ फिल्मको ‘विश्वकप’ पनि हो यो ।

अमेरिकी ‘सफ्ट–पावर’ अस्करमा पछिल्ला वर्षमा एशियाली दबदबा छ । दक्षिण कोरियाको ‘प्यारासाइट’ ले शीर्ष विधा जितेपछि एशिया चम्कन थाले जस्तो देखिन्छ । वितेको वर्ष भुटानको ‘याक इन द क्लासरुम’ मनोनयन हुँदा एशियाली युग सुरु भएको विश्लेषण पनि भयो ।

बर्लिनमा दक्षिणएशियाको तीन दशक लामो खडेरी तोडेको ‘शाम्बाला’ सामु नेपालको साढे दुई दशकको अस्कर खडेरी तोड्ने अवसर छ । लामो पर्खाइ बीच बर्लिनको मुख्य विधामै छानिएर कीर्तिमान रचेको यो फिल्मलाई लिएर नेपालको आशा पनि छ । चुनौती अवश्य छ, तर असम्भव छैन ।

अस्कर पण्डित यसबेला नेटफ्लिक्सको फ्रान्सेली फिल्म ‘इमिलिया पेरेज’, ब्राजिलको ‘आइएम स्टिल हेयर’, जर्मनीको ‘द सिड अफ द सेक्रेड फिग’, सेनेगलको ‘दाहोमी’, डेनमार्कको ‘द गर्ल विथ द निडल’ छनोट हुनसक्ने प्रक्षेपण गरिरहेका छन् ।

यो अस्कर हो, यहाँ जे पनि हुनसक्छ । के थाहा– बंगलादेशको ‘द रेस्लर’, चीनको ‘द सिंकिङ अफ द लिस्बन मरु’, भारतको ‘लापता लेडिज’, इन्डोनेसियाको ‘वुमन फ्रम रोट आइल्याण्ड’, इरानको ‘इन द आम्र्स अफ द ट्री’, जापानको ‘क्लाउड’, पाकिस्तानको ‘द ग्लास वर्कर’, दक्षिण कोरियाको ‘१२.१२ : द डे’ र नेपालकै ‘शाम्बाला’ले पनि बाजी मार्न सक्छन् ।

यो निर्णय अस्करका १० हजारभन्दा धेरै मतदातामा निर्भर हुनेछ । तिनलाई रिझाउन वितरक बीच भव्य अभियान र करोडौं खर्च गर्ने होड चल्छ । सधैं र सबैका लागि क्याम्पेन मात्र पनि सबथोक नहोला । फिल्मको शिल्प पनि महत्वपूर्ण हुन आउँछ ।

पछिल्ला १० वर्षमा नेपाली फिल्मको कथ्य संरचना, शैली र दृश्यभाषामा जुन विकास भइरहेको छ, यो अभूतपूर्व छ । शिल्पमा भइरहेको यो ‘इभोलुसन’ले नेपाली फिल्म अस्कर जित्न लायक बन्ने क्रममा देखिन्छन् । तर, नेपालको अस्कर सपनामा शिल्पभन्दा अर्को कुनै बाधक छ भने त्यो हो– अस्कर मतदाता रिझाउन गरिने बलियो क्याम्पेन ।

नेपालका २५ वर्ष : सिफारिसमा सीमित

नेपालमा अस्करको एउटा छनोट समिति छ जो वर्षेनि हेरफेर भइरहन्छ । सन् १९९९ मा समितिले पहिलो पटक ‘क्याराभान’ अस्करमा पठाएको थियो । फ्रान्सेली निर्देशक एरिक भ्यालीको सो फिल्म ‘विदेशी भाषी फिल्म’ विधाको उत्कृष्ट ५ मा मनोनयन भयो । समावेशिताको दबाब खेप्न नसकेपछि एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजले विधाको नाम बदलेर ‘अन्तर्राष्ट्रिय फिचर’ राखेको छ ।

‘क्याराभान’देखि गत वर्षको ‘शाम्बाला’सम्मको सूची हेर्दा अहिलेसम्म १४ फिल्म सिफारिस भए । छिरिङरितार शेर्पाको ‘मुकुण्डो’, ज्ञानेन्द्र देउजाको ‘मुनामदन’, सुवास गजुरेलको ‘बसाइँ’, सुवर्ण थापाको ‘सुनगाभा’, यादवकुमार भट्टराईको ‘झोला’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेस टुल्के’, मीनबहादुर भामको ‘कालोपोथी’, दीपक रौनियारको ‘सेतो सूर्य’ यसबीच पठाइए ।

शिवम अधिकारीको ‘पञ्चायत’, विनोद पौडेलको ‘बुलबुल’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’, विक्रम सापकोटाको ‘हल्कारा’ पनि सिफारिस भए । ‘शाम्बाला’ अस्कर सिफारिस हुने निर्देशक भामको दोस्रो फिल्म हो । ‘क्याराभान’लाई छाड्ने हो भने, अन्य फिल्म सिफारिसमै सीमित भए ।

यो त एउटा कमिटीले पठाउने फिल्मको सूची भयो । यसबाहेक अमेरिकी वितरक मार्फत पनि अन्य कथानक र छोटो फिल्म पनि अस्करमा सिफारिस भएका छन् । रामकृष्ण पोखरेलले बनाएको छोटो फिल्म ‘साइलेन्ट इको’ उत्कृष्ट ३० मा छनोट भयो तर, त्यसअघिको यात्रा तय भएन । यसबाहेक अन्य केही छोटा फिल्म पनि पठाइएको थियो ।

सिफारिस भइसके पनि बजेट अभाव र सरकारी उदासीनताले नेपालको अस्कर क्याम्पेनले मूर्तरूप पाउन सकेको छैन । सिफारिस भइसकेपछि स्वतः मनोनयन होला नि त भन्ने मनोविज्ञान निर्माताको पाइन्छ । ‘ऐना झ्यालको पुतली’, ‘सेतो सूर्य’ ले अभियान चलाउने प्रयत्न पनि गरेका हुन् तर, नतिजा केही आएन ।

प्राथमिकतामा कस्ता फिल्म ?

अस्करमा फिल्म छनोटका चरणबद्ध प्रक्रिया छन् । उत्कृष्ट ५०, ३०, २० हुँदै १० र उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिन्छ । एकेडेमीका १० हजारभन्दा बढी मतदाताले फिल्म हेरिसकेपछि मत दिन्छन् ।

यी मतदातालाई रिझाउन र प्रभावित तुल्याउन अस्कर अभियान चलाइन्छ । विशेष स्क्रिनिङ आयोजना गर्नेदेखि विज्ञापन र प्रचारप्रसारमा महँगो रकम खर्च गरिन्छ । विश्वका प्रमुख फेस्टिभलभन्दा अस्करको प्राथमिकता केही भिन्न हुन्छ ।

प्रोडक्सन भ्यालु, बजेट र युनिभर्सल अपिलिङ भएका फिल्ममा अस्करको जोड देखिन्छ ।

नेपालले शिल्पलाई बलियो बनाउनतिर लाग्नुपर्छ । यसबाहेक, गुणस्तरीय कथावाचन र युनिभर्सल अपिलिङ भएका फिल्म निर्माणमा केन्द्रित हुनुपर्ने देखिन्छ । बर्लिन, भेनिस, कान्स, टोरन्टो, सनडान्स लगायतका प्रमुख फेस्टिभलका विजेताले अस्करमा बाजी मारिरहेका छन् ।

यी फेस्टिभलको मुख्य र सहायक विधामा नेपाली फिल्म छनोट त भए तर, कसैले पनि अवार्ड जित्न सकेका छैनन् । अबको चुनौती– कसरी फेस्टिभल छिचोल्ने भन्ने पनि हो । फेस्टिभलमा छनोट हुने मात्र प्रक्रिया लामो समय दोहोरियो, यसका लागि देशभित्रै राम्रा फिल्म बनाउने वातावरण सिर्जना गर्नु पूर्वशर्त हो ।

पछिल्लो समय अस्करमा नेटफ्लिक्स, एप्पल टिभी, अमेजन प्राइम, हुलु जस्ता चर्चित ओटीटी प्लाटफर्ममा रिलिज हुने फिल्मको दबदबा पनि देखिन्छ । कोभिड महामारीपछि अस्करले ल्याएको यो सुविधाले निकै सजिलो भएको छ । धेरै जनाको सहज पहुँच हुने भएकाले पनि अस्करका मतदाता बीच ओटीटी प्लाटफर्म लोकप्रिय छन् ।

प्रश्न उठ्छ– हल र फेस्टिभलमा मात्र सीमित भइरहेका नेपाली फिल्मले यो बाटो पनि किन नपछ्याउने ?

यसबाहेक, अमेरिका प्रदर्शन र अन्तर्राष्ट्रिय प्रदर्शन सुनिश्चित गर्ने, बलियो अस्कर अभियान सिर्जना गर्ने, प्राविधिक र प्रोडक्सन भ्यालु अभिवृद्धि गर्ने, देशको विशिष्ट संस्कृति र परम्परामाथि फिल्म बनाउने, क्रिटिक र इन्फ्लुएन्सरसँग सम्बन्ध स्थापित गर्ने उपाय त छन् तर, नेपालका लागि यी विषय चुनौतीपूर्ण देखिन्छन् । जे–जति भइरहेको छ, सबै निर्माताको एक्लो पहलमा भइरहेको हो ।

अन्तर्राष्ट्रियकरण र यस मार्फत हुने सांस्कृतिक कूटनीतिमा सरकारको उपस्थिति कमजोर छ । अहिले पनि धेरै नेपाली मेकरलाई नेपालको छनोट समितिले पठाएको फिल्म ‘अन्तर्राष्ट्रिय फिचर’ मात्र प्रतिस्पर्धा गर्न पाउने लागेको होला ।

तर, यस्तो होइन । अमेरिकी वितरकमार्फत पठाइएको फिल्मले जुनसुकै विधामा भाग लिन पाउँछन् । अहिले भारतीय फिल्मले गरिरहेको यही हो । बलियो अस्कर क्याम्पेन बाहेक अन्य केही शर्त छन् जसले नेपालको अस्कर सपनालाई सहज तुल्याउन सक्छ ।

देशभित्रै राम्रा फिल्म बनाउने वातावरण

फिल्म निर्माण कम्पनी आइसफल प्रोडक्सनले निर्माण गरेका तीन (दुई कथानक र एक छोटो) फिल्मले अ

स्करमा आवेदन दिए । जसमध्ये ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’लाई नेपालको छनोट समितिले सिफारिस गरेको थियो भने छोटो फिल्म ‘साइलेन्ट इको’लाई अमेरिकी वितरकले त्यहाँ पठाएका हुन् ।

नेपालबाट धेरै फिल्मलाई अस्करमा पठाएको कम्पनीका प्रमुख रामकृष्ण पोखरेललाई लाग्छ, नेपालको अस्कर सपनालाई मूर्तरूप दिने हो भने पहिला देशभित्रै राम्रा फिल्म बन्ने वातावरण बनाउनुपर्छ ।

‘युवा फिल्ममेकरलाई सपोर्ट गर्ने सिस्टम सिर्जना गरिदिनुपर्‍यो । आजसम्म सबैले आफैं गरिराख्या छन्’ उनी भन्छन्, ‘हामी सबैले आफूले गर्दा त यो लेभलमा पुगेका छौं भने सरकारकै सपोर्ट मिल्यो भने भोलि हामी १० गुणा माथि जान सक्छौं ।’

घरेलु फिल्मको दूरगामी भविष्य बनाउन पनि स्वदेशमा फिल्म मेकिङको वातावरण बनाउनुपर्ने उनको तर्क छ । अस्करभन्दा पहिले नेपाली फिल्मले फेस्टिभलमा वर्चस्व जमाउनुपर्ने उनको धारणा छ ।

‘हामीले हाम्रा फिल्ममेकरलाई त्यो तहमा पुर्‍याउनु पर्‍यो । सीधै अस्करमा गएर मात्रै हुँदैन, जानुअघि धेरै प्रक्रिया छन्’ उनी भन्छन्, ‘त्यसअघि फेस्टिभल र अवार्ड छन् । यी अवार्डमा जित्ने फिल्मले लगभग अस्कर जितिराख्या हुन्छन् । त्यही भएर यी कुरामा विचार गर्नुपर्‍यो । तल्लो तहबाट आधार बनाउँदै जानुपर्छ ।’

यसका लागि प्रारम्भिक चरणमै सरकारले २/३ करोड रुपैयाँको कोष बनाउनुपर्ने धेरैको मत छ । ‘फिल्म बनाउन सरकारले २५–३० लाख रुपैयाँ त दिंदैन भने अस्करको सपना टाढै भयो’ उनको तर्क छ ।

अस्कर कलेजका फिल्म अध्येता मनोजबाबु पन्त पछिल्लो समय नेपाल पनि राम्रा फिल्म बनाउने ठाउँ हो भन्ने भाष्य बनाउन सक्नु सन्तोषजनक रहेको बताउँछन् । ‘केही वर्षमा पक्कै पनि राम्रो हुन्छ’ उनी भन्छन्, ‘अहिलेसम्म हाम्रो उपलब्धि भनेको शाम्बालाकै केसमा, प्रमुख फेस्टिभलको मुख्य विधाको कम्पिटिसनमा फिल्म पुग्यो । यो ठूलो उपलब्धि हो ।’

अस्करको सपना देख्ने हो भने दीर्घकालीन रणनीति तयार गर्नुपर्ने मत उनको छ । यसका लागि पूर्वशर्त भनेको राम्रा फिल्म बनाउन उपयुक्त वातावरण पाउनु हो ।

‘अहिले त हामी किन फिल्म बनाइराख्या छौं, कुन लक्ष्यका लागि फिल्म बनाइरहेका छौं, फिल्मले कहाँसम्म पुग्ने उद्देश्य राखेको छ भन्ने कुरामै मेकरहरू अन्योलमा छन्’ उनी भन्छन्, ‘मैले देखिरहेको छु– राम्रै फिल्म बनाइरहेका मेकरले पनि दोस्रो र तेस्रो सिनेमा गर्दै जाँदा सुरुमा गरेका भन्दा झन् खस्किंदै गइरहेको छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले अनलाइनखबरसँग कुरा गर्दै देशभित्र फिल्म निर्माणको अनुकूल वातावरण बनाउन र अन्तर्राष्ट्रियकरणमा प्रोत्साहन गर्न काम गर्ने बताएका छन् । दक्षिण कोरियामा आयोजित बुसान फिल्म फेस्टिभलमा पुगेर उनले आफ्नो भनाइ दोहोर्‍याए । ‘हामी यसका लागि अध्ययन गरिरहेका छौं’ डीसीले भने, ‘१०० दिनपछि मात्र तपाईंले मलाई प्रश्न सोध्न सक्नुहुन्छ ।’

२०८१ भदौ अन्त्यतिर काठमाडौं ओर्लिएका प्रसिद्ध भारतीय फिल्म निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले नेपाली फिल्मको विकासक्रमको खुलेर प्रशंसा गरे । कश्यपले त ‘शाम्बाला’ तिर संकेत गर्दै पछिल्लो समय भारतीय भन्दा नेपाली फिल्म उत्कृष्ट बनिरहेको बताए ।

कश्यपको यो अभिव्यक्तिले एकैसाथ दुई कुराको संकेत गर्छ । पहिलो– उनी भारतीय फिल्म विशेषगरी बलिउडको शैलीप्रति असन्तुष्ट छन् र दोस्रो– नेपाली फिल्मले पछिल्लो समय फेस्टिभल वृत्तमा पाइरहेको उपलब्धिले विदेशीको आँखा नेपालतिर सोझिएको छ ।

समावेशी प्रश्नले नेपाललाई फाइदा

‘एकेडेमी अफ आर्टस् एण्ड साइन्सेज’ ले पछिल्लो समय लैंगिक, जातीय, भौगोलिक र वर्णलाई लिएर व्यापक दबाबको सामना गरिरहेको छ । ‘अस्कर शो ह्वाइट’ नामक आन्दोलन चलेपछि त अश्वेत मतदाताको संख्या थपियो । अस्करको पछिल्लो मतदाता सूची हेर्दा अधिकांश भारत सहित पूर्वी एसियाली मुलुकबाट छन् ।

समावेशी हुनुपर्ने दबाबपछि यस वर्ष भोटर संख्या १० हजार नाघेको छ । अस्करले हालै ‘प्रतिनिधित्व र समावेशी मानक’ सूची समेत सार्वजनिक गरेको छ । विश्वव्यापी जनसंख्याको विविधतालाई हेरेर ल्याइएको भनिएको नयाँ नियममा स्ट्यान्डर्ड ए, बी, सी र डी मापदण्ड तय गरिएको छ ।

कम्तीमा एक प्रमुख अभिनेता वा सहायक अभिनेता कुनै विशिष्ट देश वा छायांकन गरिएको क्षेत्रको अल्पसंख्यक समूहको प्रतिनिधित्व गर्ने जाति वा जातीय समूहबाट हुनुपर्ने नियम छ । जसमा दक्षिणएशियाबाट नेपाली, भारतीय, बंगलादेशी, भुटानी, पाकिस्तानी र श्रीलंकाली हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यसबाहेक महिला, आदिवासी जनजाति, लैंगिक अल्पसंख्यक एलजीबीटीआईक्यू, अपाङ्गता भएका पनि समावेश हुनुपर्ने शर्त राखिएका छन् । समावेशी र पहिचानको मुद्दालाई लिएर हलिउडमा प्रदर्शन चर्किएपछि एकेडेमीले केही वर्षअघि ‘विदेशीभाषी फिल्म’ विधाको नाम परिवर्तन गरेर ‘अन्तर्राष्ट्रिय फिचर’ राख्यो ।

‘फिल्म भनेको आफैंमा युनिभर्सल भाषा हो । जसले संसारभरका फिल्मको सम्मान गर्छु भन्छ, उसले आफ्नो भाषालाई मेरो भाषा भन्छ र अर्को भाषालाई विदेशी भाषा भन्छ । अब उनीहरूले अन्तर्राष्ट्रिय भन्न थाले’ फिल्म प्राध्यापक पन्त भन्छन् ।

लगातार बदलिएका नियमले नेपाल जस्ता मुलुकलाई लाभ हुने उनको तर्क छ । ‘उनीहरूलाई राम्रो र समावेशी हुनुपर्छ भन्ने दबाब पनि छ । यसको फाइदा हामीलाई हुने देखिन्छ’ उनी भन्छन्, ‘दक्षिणएशियामा राम्रा फिल्म बनेका छन्, आफ्नै खालको बजार पनि छ, सिनेमा समाज पनि छ, यिनलाई समेट्नुपर्छ भन्ने धारणा आइरहेको हो जस्तो लाग्छ ।’

यस्तोमा, विश्वव्यापी अपिलिङ सहितको बलियो दृश्यभाषा, फेस्टिभलमा हस्तक्षेपकारी उपस्थिति र सरकारले फिल्म निर्माणमा लगानी र बजारीकरणको लागि अनुकूल वातावरण बनाउन सके काठमाडौं र लस–एन्जलस बीचको दूरी टाढा हुने छैन ।

पछिल्ला १० वर्षमा नेपाली फिल्मको कथ्य संरचना, शैली र दृश्यभाषामा जुन विकास भइरहेको छ, यो अभूतपूर्व छ ।
पछिल्लो समय अस्करमा नेटफ्लिक्स, एप्पल टिभी, अमेजन प्राइम, हुलु जस्ता चर्चित ओटीटी प्लाटफर्ममा रिलिज हुने फिल्मको दबदबा पनि देखिन्छ । कोभिड महामारीपछि अस्करले ल्याएको यो सुविधाले निकै सजिलो भएको छ ।
समावेशी हुनुपर्ने दबाबपछि यस वर्ष भोटर संख्या १० हजार नाघेको छ । अस्करले हालै ‘प्रतिनिधित्व र समावेशी मानक’ सूची समेत सार्वजनिक गरेको छ ।
विष्णु शर्मा
लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय