+
+

‘क्याम्पेनिङ र मार्केटिङ बाहेक अस्करमा अवार्ड जित्न अरू कुनै सूत्र छैन’

अस्कर मतदाताको नजरमा यस्ता फिल्म नै रुचिकर हुन्छन् भन्ने छैन । मुख्य कुरा, उनीहरूको ‘नोटिस’ मा आउनु पर्‍यो । अस्करमा अवार्ड जित्नलाई कुनै सूत्र छैन । एउटै मात्र सूत्र भनेको क्याम्पेनिङ र मार्केटिङ भयंकर गर्नुपर्‍यो ।

रामकृष्ण पोखरेल, फिल्म निर्माता रामकृष्ण पोखरेल, फिल्म निर्माता
२०८१ कात्तिक ९ गते ११:०२

अस्कर आधारभूत रूपमा यस्तो अवार्ड हो जहाँ धेरै क्याम्पेन गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै मान्छेको पहुँचमा फिल्मलाई पुर्‍याउनुपर्ने हुन्छ । विशेषगरी अन्तर्राष्ट्रिय फिचर विधाका मतदाता निकै केन्द्रित र सतर्क छन् । फ्रान्स, जर्मनी लगायत मुलुकमा मतदाता धेरै छन् । यस्तै मतदाताको संख्या अमेरिकामा पनि उच्च छ । भोटरको नोटिसमा फिल्म पुग्नुपर्‍यो ।

मतदाताले हेर्ने गरी फिल्मले बजारीकरण गर्न जरूरी छ । फिल्मबारे उनीहरूले सुन्नु र हेर्नु पर्‍यो । राम्रो लागे भोट गर्ने हुन् । त्यो पहुँचमा पुग्न धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । दुई वर्षअघि दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले कति पैसा खर्च गर्‍यो, त्यो हामी धेरैलाई थाहा छ ।

त्यसअघि भारतबाट सिफारिस भएको आमिर खानको ‘लगान’ले २२ मिलियन डलर खर्च गर्‍यो भन्ने छ । मतदाताको पहुँचमा पुग्न त्यति धेरै पैसा पनि खर्च गर्नु नपर्ला । गत वर्ष ‘भुटान’ को फिल्म पनि मनोनयनमा परेको थियो । हामीले अलिकति नोटिस हुने ढंगले मार्केटिङ गर्‍यौं भने भोटरले फिल्म हेर्छन् ।

अहिले अस्करमा जाने अधिकांश फिल्म हलमा भन्दा पनि ओटीटीमा रिलिज भइरहेका हुन्छन् । बितेको वर्ष ‘एलिफन्ट ह्विस्पर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । नेटफ्लिक्समा हुने वित्तिकै सबैको सहज पहुँच भयो । योजनाबद्ध ढंगले रणनीति बनाएर सोही अनुसारको बजेट पनि तय गर्न सकिएमा सम्भव छ ।

हामीसँग भएको अनुभव मात्रै हो । प्रयास गरे पनि हामीले लस–एन्जलसमा केही पनि गर्न सकेनौं । हामीसँग कुनै पनि खालको बजेट नै छैन । सबैभन्दा पहिला त बजेट चाहियो । मान्छे, पीआर एजेन्सी दुनियाँलाई हायर गर्नुपर्‍यो ।

भोटरलाई बोलाएर फिल्म देखाउनुपर्‍यो । यसका लागि पैसा खर्च हुन्छ । मैले अमेरिकास्थित नेपाली दूतावासमा पनि यसका लागि सहयोग मागें तर, त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएन । दुईचार वटा स्क्रिनिङ राखौं, अस्कर क्याम्पेनमा केही गर्न सकिन्छ कि भनेर प्रस्ताव राखें । केही प्रतिक्रिया आएन । फिल्मले चर्चा चाहिं सिर्जना गर्नुपर्‍यो नि !

नेपालले हरेक वर्ष फिल्म पठाइराखेको हुन्छ । यहाँबाट फिल्म जानु ठूलो कुरा भएन । मेरो एक जना विदेशी साथीले आफ्नो फिल्मको लागि अस्कर क्याम्पेन चलाउँदा अमेरिकी अखबार द न्यूयोर्क टाइम्स सहितका प्रमुख मिडियामा विज्ञापन आउँथ्यो । अनि मान्छेले नोटिस गर्न सके ।

मैले अन्य फिल्मका अभियानको अध्ययन गरें, प्रकाशित आर्टिकलै हेरें, जस अनुसार क्याम्पेनमा ठूलै लगानी भएको रहेछ । अस्करमा सीधै मनोनयन हुने कुरा पनि होइन । मनोनयन पनि चरणबद्ध रूपमा हुनेगर्छ । सबै देशले पठाएका हुन्छन् । सय डेढसय फिल्मबाट फिल्टर हुँदैहुँदै जाने हुन् । यो विस्तारै भोटिङ प्रणालीमा प्रवेश गर्छ । उत्कृष्ट ३०, २० हुँदै सर्टलिस्ट सार्वजनिक हुन्छ ।

सर्टलिस्टमा ९ वटा जति फिल्म हुन्छन् । त्यसपछि मनोनयन र विजेता हुने हो । मलाई कथानक भन्दा पनि छोटा फिल्मको अनुभव छ । हाम्रो छोटो फिल्म ‘साइलेन्ट इको’ उत्कृष्ट ३० मा पुगेको थियो । त्यसभन्दा अघि हामीले मार्केटिङ गर्न सकेनौं ।

मार्केटिङ र क्याम्पेनिङ पछिको प्रक्रिया भनेको ‘क्राफ्ट’ हो । भोटरलाई भोट हाल्दा उसलाई फिल्म राम्रो लाग्नुपर्‍यो । त्यहाँनेर फिल्मको क्राफ्टको भ्यालु हुन्छ ।

फेस्टिभल सर्किटले अस्करमा केही हदसम्म फाइदा पुग्ला तर, धेरै प्रभाव चाहिं हुँदैन । निश्चय नै, कान्समा त्यसले अवार्ड जित्यो भने यसले ठूलो सघाउ पुग्छ । फेस्टिभलमा गएको भरमा मात्र प्रभाव ल्याउँदैन । ठूलो अवार्ड विजेता फिल्म हो भने यसले प्रभावकारिता दर्शाउन सक्छ । कान्स, टोरन्टोमा अवार्ड जितेका फिल्मले अस्कर जितेको इतिहास छ ।

हामी सबैले आ–आफूले गर्दा त यो तहमा पुगेका छौं भने भोलि सरकारकै सपोर्ट मिल्यो भने हामी १० गुणा माथि जान सक्छौं ।

अस्करमा सहभागिताको लागि राम्रो अमेरिकी वितरक चाहियो । अमेरिकामा राम्रो वितरक नभइकन फिल्मको पहुँच पुग्दैन । अस्कर मतदाता धेरै भएको ठाउँमा वितरक गएर पहुँच पुर्‍याउनु पर्‍यो । दोस्रो भनेको पीआर एजेन्सी बलियो चाहियो । उनीहरूले मतदातालाई आकर्षित गरेर फिल्म स्क्रिनिङ गर्छन् ।

अमेरिकामा हुँदा म बसेको होटलमा मात्रै ‘आरआरआर’को तीन वटा स्क्रिनिङ भएको थियो । त्यस्तो स्क्रिन लस–एन्जलसभरि धेरै भएको हुनुपर्छ । पैसा त्यसमा खर्च हुने हो । सबैलाई एकैदिनमा समय मिल्छ भन्ने पनि हुँदैन । कोहीलाई आज समय मिल्छ, आज हेर्छन्, कोहीले भोलि हेर्छन् ।

‘ऐना झ्यालको पुतली’को लागि हामीले खर्च गरेनौं किनभने, त्यसको अर्थ नै देखेनौं । कि ठूलो प्रभाव पार्ने हिसाबले जानुपर्‍यो । थोरै–थोरै पैसा खर्च गरेर कुनै प्रभावकारिता नहुने भएपछि अर्थै भएन ।

अस्कर मतदाताको नजरमा यस्ता फिल्म नै रुचिकर हुन्छन् भन्ने छैन । मुख्य कुरा, उनीहरूको ‘नोटिस’ मा आउनु पर्‍यो । त्यहाँ धेरै खालका फिल्मले अवार्ड जितिराख्या छन् । अस्करमा अवार्ड जित्नलाई कुनै सूत्र छैन । एउटै मात्र सूत्र भनेको क्याम्पेनिङ र मार्केटिङ भयंकर गर्नुपर्‍यो । त्यो भन्दा यस्तो र उस्तो फिल्म बनाएर पाउँछु भन्ने केही पनि छैन ।

प्रारम्भिक चरणमै मतदातालाई नोटिस हुनुपर्‍यो । त्यो लक्ष्यले क्याम्पेन गर्नुपर्‍यो ताकि उनीहरूले सुनुन् । गर्‍यो भने ठूलो कुरा होइन । हामीले एक वर्षमा खेलकुद क्षेत्रमा कति खर्च गर्छौं ? यो राष्ट्रिय सम्मानको कुरा हो । देशको प्रतिनिधित्व गर्ने कुरा हो । त्यही स्तरको फन्डिङ गर्‍यौं भने केही समय लाग्ला तर कुनै दिनमा लक्ष्यमा पुगिहाल्छौं नि !

फन्डिङको कुरामा हाम्रो सरकारले पनि चरणबद्ध ढंगले काम गर्न सक्छ । इन्ट्रीमा यति पैसा दिन्छौं, पहिलो चरणमा हामी यति पैसा दिन्छौं, सर्टलिस्टमा परेमा यति पैसा दिन्छौं, नोमिनेसनमा यति दिन्छौं भनेर भन्न सक्नुपर्छ । नोमिनेसन हुनु मात्र ठूलो कुरा होइन, नोमिनेसन हुँदा झनै धेरै पैसा खर्च हुन्छ ।

यतिबेला झन् धेरै भोट संकलन गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमै कम्तीमा २ करोड रुपैयाँ न्यूनतम हुनुपर्छ । नेपालमा फिल्म बनाउँदा सरकारले १५–२० लाख रुपैयाँ फन्ड त दिंदैन भने अस्कर त धेरै टाढाको कुरा हो । अस्कर भनेको उनीहरूको लागि धेरै टाढाको सोच भयो ।

हाम्रो नीति नियम दूरगामी र भविष्यका लागि भएन । पहिला देशभित्रै फिल्म बनाउने वातावरण बनाऔं । त्यसपछि विदेशमा पछि जाउँला । पहिला भित्रै सुधार गरौं न ! सुरुवाती चरणमा नेपालमा फिल्म फन्ड तुरुन्तै चाहिएको छ । कम्तीमा २–४ करोडको फिल्म फन्ड बनाऊँ पहिला । पहिला राम्रो फिल्म बनाऊँ । अनि त्यो फिल्मलाई ठाउँ–ठाउँमा पुर्‍याउने, मार्केटिङ गर्ने भनेर अर्को दोस्रो चरणको बजेट बनाऊँ न ।

राम्रो फिल्म बनाउने वातावरण बनाउनु पर्‍यो, नेपालका युवा फिल्ममेकरलाई सपोर्ट सिस्टम सिर्जना गरिदिनु पर्‍यो । आजसम्म सबैले आफैं गरिराख्या छन् । हामी सबैले आ–आफूले गर्दा त यो तहमा पुगेका छौं भने भोलि सरकारकै सपोर्ट मिल्यो भने हामी १० गुणा माथि जान सक्छौं ।

एकछिनलाई कल्पना गरौं, अहिले संसारको कुनै पनि फिल्म फेस्टिभल कोरियन, जापानिज, चाइनिज, दक्षिण अमेरिकी फिल्म विना त्यहाँको छनोटले नै पूर्णता पाउँदैन । ती देशले फिल्ममा ठूलै लगानी गरेका छन् । उनीहरूले राम्रा–राम्रा फिल्म बनाएका छन्, जस विना छनोट पूरा हुँदैन ।

हामीले पनि फिल्ममेकरलाई त्यो तहमा पुर्‍याउनु पर्‍यो । सीधै अस्करमा गएर मात्र हुँदैन, अस्करमा जानुअघि धेरै प्रक्रिया छन् । फेस्टिभल र अवार्ड छन् । बाफ्टा, बर्लिन छन् । यी अवार्डमा जित्ने फिल्मले लगभग अस्करमा जितिराख्या हुन्छन् । त्यही भएर यी कुरामा विचार गर्नुपर्‍यो । तल्लो तहबाट आधार बनाउँदै जानुपर्छ ।

(फिल्म निर्माता पोखरेलसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?