+
+

‘अस्कर अवार्डको छनोट विधि नै हाम्रा लागि प्रतिकूल छ’

नेपालबाट अस्करमा फिल्म सिफारिस भए तर, अहिलेसम्म मनोनयन हुन सकिरहेका छैनन् । यसका लागि फिल्मको कन्टेन्ट, डिजाइन, बजेट, टीम, उनीहरूले सिर्जना गरेको चर्चा सबै कुराले अर्थ राख्छ ।

मनोजबाबु पन्त, फिल्म अध्येता मनोजबाबु पन्त, फिल्म अध्येता
२०८१ कात्तिक ९ गते ११:०३

बिम्ब नै सही, पछिल्लो समय लस–एन्जलस नेपालका लागि नजिक हुँदै गएको छ । पहिले अस्कर के हो भन्ने नै थाहा थिएन । ‘क्याराभान’ अस्करमा मनोनयन भयो भन्ने समाचारले कुनै बेला देशभित्र पनि ठूलो चर्चा बटुल्यो । नेपालको फिल्म भए पनि विदेशी निर्देशकले गरेको काम थियो– त्यो ।

नेपालबाट अस्करमा फिल्म सिफारिस त भएका छन् तर, अहिलेसम्म मनोनयन हुन सकिरहेको छैन । एकेडेमी अवार्डमा मनोनयन हुन फिल्मको कन्टेन्ट, त्यसको डिजाइन, बजेट, टीम, उनीहरूले सिर्जना गरेको चर्चा सबै कुराले अर्थ राख्छ ।

नेपाली फिल्म विश्व सिनेमासँग साक्षात्कार हुँदै गइरहेको कारणले गर्दा केही वर्षभित्र एकेडेमी अवार्डमा मनोनयन हुने ठाउँमा पुग्ला भनेर आशा गर्न सकिन्छ । राम्रो फिल्म भन्ने कुरा मेकिङको गुणस्तर हो । त्यहाँ पुग्नु र नपुग्नु भन्दा पनि त्यहाँ पुग्न लायकको फिल्म बनाउन सक्यौं कि सकेनौं भन्ने पक्ष महत्वपूर्ण हो ।

अहिले नेपालमा पनि राम्रा सिनेमा बन्न थालेका छन् । यसमा प्रत्यक्ष अप्रत्यक्ष फिल्म स्कुलिङले काम गर्न थालेको छ । विश्व सिनेमामा के भइराखेको छ भन्ने कुराले हामीलाई पनि प्रभाव पार्न थालेको छ ।

एउटा समयमा छोटा फिल्मले राम्रो अन्तर्राष्ट्रिय उपस्थिति जनायो । अब फिचर फिल्म सुरु हुँदैछ । यो वर्ष रिलिज भएका तीन वटा फिल्म प्रसिद्ध फेस्टिभलमा पुगेका छन् । नेपालमा राम्रा फिल्म बन्छन्, राम्रा मेकर छन् र बनिराखेका छन् भन्ने ‘न्यारेटिभ’ विश्वभर नै बनिराखेको छ ।

महत्वपूर्ण पक्ष अहिले हामी यो स्थापित गर्न सकिराखेका छौं । यसले गर्दा हाम्रा चिजमा आँखा लागिरहेको छ । फेस्टिभलमा पकड राम्रै भइराख्या छ । तर, प्रतिष्ठित फिल्म फेस्टिभलले गर्ने छनोट र अस्करले गर्ने छनोटबीच केही भिन्नता छन् ।

मुख्य कुरा कन्टेन्टमै राम्रो काम गर्न सक्नुपर्‍यो । यसका लागि टेक्निक र बजेट राम्रो चाहियो । अस्करमा फिल्म पठाएर मात्र हुँदैन, त्यो फिल्म राम्रो भएर मात्रै हुँदैन । त्यहाँ पुग्नको लागि फिल्मको प्रोडक्सन र राज्यले गर्नुपर्ने धेरै काम छन् ।

भोटरलाई प्रभावित तुल्याउन क्याम्पेन चलाउने भन्ने कुरा मलाई अनैतिक पनि लाग्छ । अहिले चाहिं भोटरलाई जम्मा पारेर उनीहरूलाई फिल्मप्रति प्रभावित तुल्याउन खोज्ने संयन्त्र हावी भइरहेको छ ।

 

ती मामिलामा यहाँ केही पनि भएको छैन । जुन फिल्म गइराख्या छन्, यस्तो हुने रहेछ भन्ने कुरा मात्र बुझ्ने हो । आँखा चिम्म गरेर मैले यो फिल्म पठाएको छु, अप्रिसिएट गर्लान् र अस्करमा पुग्ला भन्ने खालको हुँदैन ।

त्यो भित्रको प्रक्रिया प्रति सचेत हुनुपर्छ । मुख्यतः फिल्म राम्रो बन्नुपर्‍यो । अस्कर जित्दैमा ठूलो उपलब्धि र नजित्दैमा उपलब्धि नहुने हैन । त्यसले दिने एउटा चिज भनेको विश्वव्यापी चर्चा जुन सिर्जना गर्छ, त्यो ठूलो कुरा हो । यसका लागि डिजाइनिङ सिनेमा बनाउनुपर्‍यो ।

राम्रो फिल्म बनाउन खोजेका मानिसलाई उनीहरूले फिल्म बनाउने वातावरण हुनुपर्‍यो । अहिले त नेपाली मेनस्ट्रिम कस्तो छ भने, हामी किन फिल्म बनाइराख्या छौं, कुन लक्ष्यका लागि फिल्म बनाइरहेका छौं, फिल्मले कहाँसम्म पुग्ने उद्देश्य राखेको छ भन्नेमा यकिन हुँदैन ।

नेपाली फिल्म नेपाली बजारमा मात्रै सीमित भएर हुँदैन । मैले देखिरहेको छु– राम्रै फिल्म बनाइरहेका मेकरले पनि दोस्रो र तेस्रो सिनेमा गर्दै जाँदा सुरुमा गरेका राम्रा फिल्मको भन्दा पनि स्तर खस्किंदै गइरहेको छ । किनभने जाने त्यही नेपाली बजारमा हो, हेर्ने तिनै नेपाली दर्शक हुन् । यसका लागि किन मिहिनेत गर्ने भन्नेमा उनीहरू छन् ।

मैले यति स्टेप टेकें, अब यसलाई सुधार्दै माथिल्लो स्टेपमा कसरी पुग्छु भनेर निर्माता त्यसरी अभिप्रेरित हुनुपर्ने हो । सहयोग गर्ने निजी क्षेत्र, सरकार सबैले मेरो चिज कहाँ छ, मैले के गर्दैछु भनेर जुन ओरिएन्टेसन हुनुपर्ने थियो, त्यो छैन ।

तर पनि नेपालमा राम्रा फिल्म बनेका छन् र नेपाल पनि राम्रा फिल्म बनाउने ठाउँ हो भन्ने खालको भाष्य बनाउन सकिरहेका छौं । केही वर्षमा पक्कै पनि राम्रो नतिजा आउँछ ।

अहिलेसम्म हाम्रो उपलब्धि भनेको ‘शाम्बाला’ हो, जो प्रमुख फेस्टिभलको मुख्य विधाको कम्पिटिसनमा फिल्म पुग्यो । यो ठूलो उपलब्धि हो । योभन्दा अगाडि पुगेका थिएनन् । कान्स, बर्लिन, भेनिसको मुख्य प्रतिस्पर्धामा पुग्नु भनेको ठूलो उपलब्धि हो । प्रमुख फेस्टिभलमा पुगेर प्रमुख अवार्ड जित्नुले ठूलो अर्थ राख्छ ।

राम्रो फिल्म केलाई भन्ने र केलाई नभन्ने खालको कुरामा, कोही कसैले एउटा छाप लगाइदिएपछि मान्छेले हेर्ने दृष्टिकोण पनि फरक पर्छ । अस्कर अवार्डको धेरै चिज त्यही नै छ । जुन फेस्टिभल छन् उनीहरूले पहिचान गरेको, त्यहाँ जितेर आएका फिल्मलाई हेर्ने दृष्टिकोण नै फरक भइदिन्छ ।

हाम्रो लागि अस्करभन्दा प्रमुख फेस्टिभल जित्ने बाटो नजिक र निश्चित छ जस्तो लाग्छ । अस्कर अवार्डभित्र जुन तरिकाको हाम्रो बजार छ, जुन खालको फिल्म निर्माणको परिवेश छ, जस्तो खालको निर्माण र वितरणको अवस्था छ, धेरै कुरा अभाव हुने भएको कारणले यसमा निश्चित हुने ठाउँ छैन ।

अरू अवार्ड र अस्करमा मनोनयन विधि फरक छ । कस्ता फिल्म आइराखेका छन् भन्ने कुरा पनि फरक छन् । संसारका हजारौं मतदाताले मतदान गर्ने र उनीहरूबीच निष्कर्ष के आउँछ भन्ने कुरा पनि छ । फेस्टिभलमा फिल्म सेन्स भएका मान्छे र जुरीले हेर्ने कारणले गर्दा इन्गेजिङ भन्दा पनि एस्थेटिक भएका फिल्मको पकड बलियो भएको हुन्छ ।

कहिलेकाहीं कान्समा अवार्ड जितेको छ तर, दर्शकले भयंकर मन पराएका छैनन् । कान्स फेस्टिभल विस्तारै अब गम्भीर फिल्म भन्दा जनरा टाइपका सिनेमातिर केन्द्रित हुन थालेको छ । तर, एकेडेमीको त्यस्तो छैन । त्यहाँ सुरुदेखि नै प्राविधिक रूपमा राम्रो, डिजाइनिङ राम्रो, राम्रो बजेट खर्च गरिएको, राम्रो क्राफ्ट गरिएको, राम्रो कथा भनिएको, राम्रो तरिकाले दर्शकलाई इन्गेज गर्ने खालका फिल्म देख्न सकिन्छ ।

‘प्यारासाइट’ लगायत जति फिल्मको कुरा गर्दा पनि, अस्करले जनरा टाइपका फिल्म नै छनोट गर्छ । धेरैजसो गम्भीर ड्रामा, मनोवैज्ञानिक थ्रिलर आइराख्या छन् । केही जनरालाई वास्ता नगर्नु र कुनै जनरालाई वास्ता गर्नु जस्तो । यसमा हरर फिल्मलाई सबैभन्दा पीडित मानिन्छ । बायोपिक आउँदा हरर किन आउन सक्दैन भन्ने प्रश्न उठ्छ । हरर र एक्सन फिल्म जतिसुकै राम्रा भए पनि त्यो अस्करका लागि होइन भनिन्छ ।

एकदमै गम्भीर, स्वतन्त्र र निर्माताको शैली र सोच झल्कने ‘अट्योर’ सिनेमा जसलाई कान्स, बर्लिन र भेनिसले प्राथमिकता दिन्छन् । कतिपय मेकर यिनै फेस्टिभलबाट चिनिएका छन् । उनीहरूका लागि एकेडेमी अवार्ड छैन । किनभने बजेट कम, सानो स्केल र मिनिमल खालका फिल्म, धेरै मासमा नजाने फिल्मलाई उनीहरूले राम्रो फिल्म मान्दैनन् ।

भोटरलाई प्रभावित तुल्याउन क्याम्पेन चलाउने भन्ने कुरा मलाई अनैतिक पनि लाग्छ । अहिले चाहिं भोटरलाई जम्मा पारेर उनीहरूलाई फिल्मप्रति प्रभावित तुल्याउन खोज्ने संयन्त्र हावी भइरहेको छ । अस्ति भुटानको ‘याक इन द क्लासरुम’ अस्करमा मनोनित भयो । हामीलाई त फिल्म यस्तो पो बनाउनुपर्छ भन्ने लाग्यो ।

मेरो विचारमा दक्षिणएशियामा त्योभन्दा धेरै राम्रा फिल्म छन् । तर, उसले गलत बाटो देखाइदियो । अस्करले पोलिस गरिएका फिल्म हेर्छ, धेरै खर्च गरिएका फिल्म हेर्छ । हाम्रो परिदृश्यमा धेरै प्रोडक्सन भ्यालु भएको कुरातर्फ अघि बढ्नु सही हो कि होइन भन्ने प्रश्न हो ।

मेरो व्यक्तिगत रुचिमा, हामी धेरै बजेटवाला फिल्मभन्दा सकेसम्म मिनिमलतिर काम गर्नुमा सम्भावना बढी छ । यसका लागि प्रमुख फेस्टिभल बढी उपयुक्त हुन्छ जस्तो लाग्छ ।

नेपालबाट सिफारिस हुने फिल्मले अभियान सञ्चालन गर्नै सकेका छैनन् । मान्छेलाई फिल्म हेर्ने अभिरुचि पैदा गर्नै सकेको छैन । हामीले केही फिल्मलाई कन्टेन्टको आधारमा राम्रो भन्यौं, मेकरको इनोभेसनको आधारमा राम्रो भन्यौं तर, पोलिस त छैनन् फिल्म । प्रोडक्सन भ्यालु र टेक्निकल पाटोमा कमजोरी छ ।

अमेरिकी दृष्टिकोण के हो भने, उनीहरूले क्राफ्टबाट अलिकति बांगिएको चिजलाई कमजोर भन्छन् । हामी चाहिं त्यसलाई स्ट्रेन्थ भन्छौं, इनोभेसन भन्छौं । त्यही मापदण्डमा बस्नुपर्ने छैन भन्छौं । तर हलिउड र अमेरिकीको स्कुलिङ के हो भने जे हो त्यो नै राम्रो, त्यसबाट अलिकति बाङ्गियो भने चाहिं नराम्रो । हामीले त बिगारेर राम्रो बनाएको हो । उनीहरूले बनाएको मापदण्डमा नपुग्नु भनेको नराम्रो हुनु हो ।

यी चिजमा हामी बजेट र प्रविधिले चुकेका छौं । प्रोडक्सन डिजाइनिङ भन्ने कुरा नै हाम्रो फिल्ममा बल्ल–बल्ल सुरु हुँदैछ । न उपयुक्त मान्छे छन्, न राम्रोसँग थाहा छ । प्रतिबद्धताको कारणले हामीले स्वीकार गर्‍या हो नि ! ‘याक इन द क्लासरुम’को उदाहरण लिंदा हाम्रोमा क्याम्पेन गरेर चर्चा सिर्जना गर्न सक्ने मान्छेको अभाव पनि हो ।

जस्तै ‘प्यारासाइट’ आफैंमा राम्रो फिल्म हो । तर, चर्चामा ल्याउन सक्ने उनीहरूको टीमको क्षमता हो, जसले विश्वभर चर्चा बटुल्यो । चर्चा पायो यसकारण फिल्म राम्रो थियो भन्ने होइन । त्यसभित्र उनीहरूले गरेको रणनीति त हाम्रोमा शून्य नै छ । कसैले केही गरेकै छैन । थाहा पनि छैन । बजेट पनि छैन । सरकारलाई मतलब पनि छैन ।

अस्करमा नदेखिए पनि विश्व परिदृश्यमा पछिल्लो समय नेपाल देखिन थाल्या छ । यसले पक्कै राम्रो गर्छ । कुनै बेला अस्कर अवार्ड समावेशी हुँदै भएन भनेर आलोचित पनि भएको थियो । त्यतिबेला धेरै बहिष्कार पनि भयो । यसलाई उनीहरू तोड्न खोजिराख्या छन् । एकेडेमी र प्रमुख फेस्टिभलले जस्ता फिल्म छनोट गर्छन्, संसारभर त्यस्तै फिल्मको ट्रेन्ड देखिन्छ । राम्रो फिल्म भनेको त यस्तो पो रहेछ भन्ने भइरहेको छ ।

अहिले उनीहरूले संसारभरका फिल्मलाई समेट्न खोजिरहेका छन् । उनीहरूले बाहिरका फिल्मलाई फिल्म नै गणना गर्ने थिएनन् । फरेन फिल्मबाट इन्टरनेशनल फिल्ममा जानु पछाडि पनि कारण छ । पहिला अरू फिल्मलाई विदेशी फिल्म भन्थे । त्यसको धेरै आलोचना पनि भयो । फिल्म भनेको आफैंमा युनिभर्सल भाषा हो । जसले संसारभरका फिल्मको सम्मान गर्छु भन्छ, उसले आफ्नो भाषालाई मेरो भाषा भन्छ र अर्को भाषालाई विदेशी भाषा भन्छ । अब उनीहरूले अन्तर्राष्ट्रिय भन्न थाले ।

यसरी बाहिरका फिल्मलाई हेर्ने उनीहरूको दृष्टिकोण राम्रो हुँदै गइराखेको छ । उनीहरूलाई राम्रो र समावेशी हुनुपर्छ भन्ने दबाब पनि छ । यसको फाइदा हामीलाई हुने देखिन्छ । दक्षिणएशियामा राम्रा फिल्म बनेका छन्, यिनीहरूको आफ्नै खालको बजार पनि छ । पछिल्लो समय यिनलाई समेट्नुपर्छ भन्ने धारणा बनिरहेको जस्तो लाग्छ ।

(अस्कर फिल्म स्टडिज कलेजमा प्राध्यापनरत पन्तसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?