+
+

४ पल्ट लिग जित्ने भाग्यमानी ३ ‘स्टार’

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन १५ गते १९:१६

१५ फागुन, काठमाडौं । मच्छिन्द्र क्लबले शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्दा टिमका तीनजना खेलाडीका लागि विशेष उत्साह थियो । मच्छिन्द्रले लगातार दोस्रो सिजन शीर्ष डिभिजनको उपाधि जित्नु आफैंमा विशेष थियो । गोलरक्षक विशाल श्रेष्ठ र विंगर सुजल श्रेष्ठ र मिडफिल्डर विशाल राईका लागि भने लगातार चार सिजन ‘ए’ डिभिजन लिग जितेको दुर्लभ सफलताको क्षण थियो ।

एन्फा एकेडेमीको एकै ब्याचका उत्पादन यी खेलाडीले २०७० को लिगमा मनाङ मस्र्याङ्दीबाट पहिलोपल्ट उपाधि जितेका थिए । पाँच वर्षपछि २०७५ मा आयोजित अर्को संस्करणमा मनाङले उपाधि रक्षा गर्दा उनीहरु टिमका महत्वपूर्ण सदस्य थिए ।

त्यतिबेला विशाल त लिगकै उत्कृष्ट गोलरक्षकसमेत चुनिएका थिए । त्यसपछि उनीहरु तीनैजना घरेलु फुटबलको उदाउँदो शक्ति मच्छिन्द्रमा अनुबन्धित भए । २०७६ मा मच्छिन्द्रलाई पहिलोपल्ट लिग जिताएका उनीहरुकै प्रदर्शनको बलमा मच्छिन्द्रले यसपल्ट उपाधि रक्षा गरेको हो । सुजलले त यसपल्ट मच्छिन्द्रको कप्तानीसमेत गरेका थिए ।

गोल रक्षकमा खारिएका विशाल श्रेष्ठ

एन्फाको चौथौ ब्याचका विशालले २०६६-६७ को सिजनदेखि लिगमा डेब्यू गरेका हुन् । २०७० मा पनि उत्कृष्ट गोलकिपर बनेका उनले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् ।

वर्ष २०७८ विशालका लागि दोहोरो खुसी बनेर आयो । गत असोजमा भारतसँगको मैत्रीपूर्ण खेलका क्रममा उनले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने अवसर पाए । त्यसका लागि उनले १० वर्षसम्म प्रतीक्षा गरेका थिए । राष्ट्रिय टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङको छायाँमा पर्दा लामो समयसम्म दोस्रो रोजाईमा खुम्चिनुपरेको थियो ।

एन्फा एकेडेमीबाट बाहिरिएपछि व्यवसायिक लिग खेल्दा गोलाप्रथाबाट मनाङ पुगेका उनले सो क्लबाट दुईपटक लिग उपाधि जित्ने अवसर पाए । दुई फरक टोलीमा चारपटक लिग विजेताको इतिहास रच्नु विशालका लागि एकैवर्ष मिलेको दोस्रो खुसी हो ।

यसपटक त उनको व्यक्तिगत प्रदर्शन पनि खास रह्यो । लिगमा उनले मछिन्द्रलाई १ हजार ९५ मिनेटको क्लिनसिट राखे । नेपाली घरेलु फुटबलको नयाँ कीर्तिमान विशालको नाममा दर्ता भयो ।

एनआरटीविरुद्धको लिगकै पहिलो खेलमा ५४औं मिनेटमा गोल खाएपछि विशालले लगातार ११ खेलमा विपक्षीलाई गोल गर्न दिएनन् । एपीएफसँगको अन्तिम खेलमा उनले ६९औं मिनेटमा गोल खान पुगे ।

‘हरेक सानो–सानो सफलताले खुसी दिन्छ । यो कीर्तिमान पनि एकैपटक बनेको होइन । एकपछि अर्को खेलमा गोल रोक्दै जुन सफलता पाएँ त्यसबाट धेरै सन्तुष्ट छु,’ विशालले थपे, ‘यो सफलता मेरोमात्रै नभएर टिममेटको प्रयास र व्यवस्थापनको सहयोगका कारण मिलेको हो ।’

यही सिजनदेखि विशालले लिगमा १ सय खेल पनि पूरा गरेका छन् । यो उपलब्धी चाहिं उनलाई ठूलो लागेको छैन । भन्छन्, ‘हरेक वर्ष लिग भएको भए एक सय खेलको कोशेढुंगा ठूलो कुरा हुँदैन । नेपालमा लिग निरन्तर भइरहोस्, अझ डबल लिग होस् तबमात्र खेल संख्यामा गर्व गर्न सुहाउँछ ।’ उनले करिअरको १२ वर्षमा ७ संस्करणमात्र लिग खेल्न पाए ।

मैदानभित्र विशालको सक्रियता र आफ्नो पोजिसनप्रतिको गम्भीरता उत्कृष्ट देखिन्छ । यो सिजनका १३ खेलमध्ये नवप्रवेशी सातदोबाटोविरुद्धको खेल आफ्नो उत्कृष्ट खेल भएको उनी बताउँछन् । ‘सबै खेलका लागि शत प्रतिशत प्रयास गर्ने हो । तुलनात्मक रुपमा सातदोबाटोसँगको खेल चाहिं निकै राम्रो भएको थियो । मेरा लागि लिगभरिकै सबैभन्दा राम्रो खेल थियो, त्यो’ विशालले सम्झिए ।

सुजल श्रेष्ठ-रेलिगेसनदेखि च्याम्पियनसम्मको अनुभव

एन्फा एकेडेमीको चौथौ व्याचबाट बाहिरिँदा गोला प्रथाबाट संकटामा पुगेका सुजलले लिगको पहिलो सिजन नै रेलिगेसनको तीतो अनुभव व्यहोर्नुप¥यो । १९ वर्षको युवा उमेरमा रेलिगेसनको बज्रपातबाट उम्कन सुजललाई धेरै समय लाग्यो ।

‘पहिलो पटक नै टिम रेलिगेसनमा पर्दा नरमाइलो लाग्यो । मसँग खेल्ने अनुभव पनि थिएन । पहिलो पटक नै हार्दा करिअर अब के होला भन्ने डरले निकै सताउँथ्यो,’ उनले अनलाइनखबरसँग आफ्नो अनुभव सुनाए ।

असफलताले सफलतातिर डोर्‍याउँछ । २०६६-६७ को ए डिभिजन लिगमा रेलिगेसनको अनुभव लिएको चार संस्करणपछि सुजलले मनाङबाट लिग उपाधि जिते । रेलिगेसनमा परेको टोलीका खेलाडीलाई महारथी मनाङ मस्र्याङ्दीले नै आफ्नो टिममा बोलायो ।

मनाङले २०७० मा लिग जित्दा सुजल खासै चर्चामा थिएनन् । तैपनि रेलिगेसनबाट लिगको सुरुवात गरेको करिअरमा पहिलो उपाधि उनका लागि विशेष थियो ।

सुजलको प्रदर्शन पनि सुधारिँदै गयो । पाँच वर्षपछि दोस्रोपटक लिग जित्दा उनी मनाङको उपकप्तान भइसकेका थिए । त्यसपछि कप्तान विराज महर्जनसँगै मच्छिन्द्रमा अनुबन्ध हुँदा त्यहाँ पनि उनी उपकप्तानकै भूमिकामा रहे । यस सिजन विराज मच्छिन्द्र छाडेर च्यासल गएपछि सुजल मच्छिन्द्रको कप्तान बने ।

मध्य र अग्रपंक्ति दुवैमा सहज मान्ने उनले भने, ‘अन्य खेलमा जस्तो कप्तानको फरक भूमिका भने फुटबलमा हुँदैन । मैदानमा गएपछि सबै खेलाडी कप्तान जस्तै हो र कप्तान अन्य खेलाडी जस्तै । खेलको रणनीति सबै प्रशिक्षककै हुने हो ।’

चौथो पटक लिग विजेता बन्ने क्रममा सुजलले यो सिजन एक गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरे । ‘कप्तान भएर लिग जित्दा आफूमा आएको अधिकार तथा जिम्मेवारीले गौरवान्वित भएको छु,’ उनले थपे, ‘आफैंलाई परिपक्व महसुस गरेको छु । जिम्मेवारी बहन गर्न सक्ने क्षमता विकास भएकोमा खुसी लागेको छ ।’

मिडफिल्डमा अनुभवी विशाल राई

एन्फा एकेडेमीबाट बाहिरिँदा गोलाप्रथामा विशाल राई मच्छिन्द्र क्लबमा परेका थिए । तीन सिजन मच्छिन्द्रबाटै खेलेर मनाङ पुगेका विशालले पहिलो सिजन नै मनाङबाट उपाधि जिते । लामो समयदेखि राष्ट्रिय टोलीबाट समेत खेलिरहेका विशाल घरेलु फुटबलका अनुभवी मिडफिल्डर हुन् ।

‘पहिलोपल्ट जित्दाजस्तो उत्साह त्यसपछिका तीन उपाधिमा कम हुँदै जाँदो रहेछ,’ उनले भने । तर, मच्छिन्द्रबाटै ए डिभिजनको करिअर सुरु गरी मच्छिन्द्रकै लागि लगातार उपाधि जित्न पाउने संयोगमा चाहिं उनले गर्व गरेका छन् ।

टिम राम्रो भएकाले यसपटक लिग उपाधि जित्नेमा विशाललाई विश्वस्त थिए । ‘यसपालि पहिलो खेलदेखि नै हामीले जित्छौं भन्ने मनमा थियो । यसपालि मछिन्द्रले पहिलो पटक लिग जित्दा भन्दा पनि बलियो टोली बनाएको थियो । खेलाडीको छनोट र व्यवस्थापन पक्ष पनि पहिले भन्दा निकै राम्रो थियो,’ उनले थपे ।

आठ वर्षअघि मनाङमा रहेर लिग जित्दा उनी अनुभवहीन थिए । पहिलो रोजाइमा कमैमात्र अवसर पाउँथे । राम्रो प्रदर्शन गर्न नसकेकामा ग्लानी थियो । उनी भन्छन्, ‘पहिलो उपाधि जित्दाको समय मैले राम्रो खेल्न सकेको थिइनँ । त्यसपछिको तीन सिजन भने म आफ्नो खेलबाट सन्तुष्ट छु ।’

यस सिजनमा उनले गोल गर्न सकेनन् । तीन गोलका लागि पास उपलब्ध गराएका थिए । उनले एक गोल पनि गर्न नसकेकामा नराम्रो लागेको प्रतिक्रिया दिए । ‘मैले गोल गर्न सकिनँ, जसले गर्दा अझै मेहनत गर्न बाँकी छ भन्ने महसुस गरेको छु ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?