+

भारतका ‘अप्ठ्यारा’ सर्त, जसका कारण यसअघि उपयोग हुन सकेन १ खर्ब ३८ अर्ब ऋण सहायता

२०८३ मंसिर ८ गते ९:०६

भारतले प्रतिबद्धता जनाएको करिब १ खर्ब ३८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (एलओसी) खर्च हुन नसकेपछि दुई वर्षअघि नेपालले रद्द गरेको थियो । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सहमति भएको ५६ अर्ब अनुदान र १ खर्ब ८४ एलओसी उपयोग होला ?

८ मंसिर, काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले एउटा अनौठो निर्णय गर्यो । १३ कात्तिक २०८१ को मन्त्रिपरिषद् बैठकको निर्णय थियो- भारतले घोषणा गरेको ९० करोड अमेरिकी डलर (करिब १ खर्ब ३८ अर्ब रुपैयाँ) ऋण नलिने ।

नेपालको सम्पूर्ण बजेटको ११ प्रतिशत र विकास बजेटको आधाभन्दा बढी हिस्साका लागि वैदेशिक ऋण नै चाहिन्छ । यस्तोमा कुनै देशले दिइसकेको ऋण रद्द गर्ने काम आफैंमा दुर्लभ थियो । तर, आर्थिक सहायता घोषणा भएको लामो समयसम्म उपयोग हुन नसकेपछि त्यसलाई खारेज गरिएको थियो । त्यसमा नेपालका आफ्ना समस्या मात्र होइन, भारतका कडा सर्त पनि जिम्मेवार छन् ।

हुन त सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएको दुई महिनापछि नै ताजा जनादेशको जोश लिएर काठमाडौं ओर्लिएका थिए नरेन्द्र मोदी ।

संविधानसभामा नेपालीमा सम्बोधन सुरु गरेर ताली बटुलेका उनले एक अर्ब डलर सहुलियत ऋण घोषणा गरेका थिए । अर्को वर्ष भूकम्पपछि पुनर्निर्माण सम्मेलनमा आएकी तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले पुनर्निर्माणका लागि एक अर्ब डलर (करिब एक खर्ब)को प्याकेज घोषणा गरेकी थिइन् ।

तर, घोषणा गरिएका सबै रकम खर्च भएनन् । १० वर्षसम्म त्यो रकम खर्च गर्न नसकेका कारण उल्टै प्रतिबद्धता शुल्क (कमिटमेन्ट फी) मात्रै तिरिरहनु परेको भन्दै सरकारले सहयोग नै नलिने निर्णय गरेको थियो ।

यसपटक प्रधानमन्त्री बालेन शाहको भ्रमणमा भारत सरकारले १ खर्ब ५० अर्ब भारतीय रुपैयाँको आर्थिक सहयोग प्याकेज घोषणा गर्यो । त्यसमध्ये ३५ अर्ब भारु अर्थात् ५६ अर्ब रुपैयाँ अनुदान विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनामा खर्च हुने घोषणा गरिएको छ । बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात १ खर्ब ८४ अर्ब रुपैयाँ चाहिँ ऊर्जासम्बन्धी परियोजनामा खर्च गर्ने नेपाल–भारत संयुक्त वक्तव्यमा उल्लेख छ ।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले २५ करोड डलर अनुदान दिएको थियो, जुन पूरै खर्च पनि भयो । त्यसको तुलनामा रसुवा बाढीको पुनर्निर्माणका लागि घोषणा गरिएको ५६ अर्ब रुपैयाँ अनुदान निकै ठूलो रकम हो र यसको उपयोग पनि सहज हुने विकास वित्तका जानकारहरू बताउँछन् ।

तर, खर्च गर्नै नसकेको भन्दै दुई वर्षअघि रद्द गरिएको १ खर्ब ३८ अर्ब रुपैयाँ ऋणमा अझै ४६ अर्ब थपेर नयाँ लाइन अफ क्रेडिट घोषणा गरिएको छ । यो ऋण र अनुदान रकमलाई नेपाल र भारत दुवैले निकै महत्वका साथ प्रस्तुत गरेका छन् । नेपालको विकास आवश्यकता पूरा गर्न यति ठूलो मात्राको ऋण चाहिएको पनि छ ।

तर, ऊर्जाका क्षेत्रमा खर्च गर्ने भनिए पनि परियोजना पहिचान गरिएको छैन । त्यसैले, यो रकम खर्च हुन्छ कि हुँदैन भन्नेमा अधिकारीहरू आशंका व्यक्त गर्छन् ।

के हो लाइन अफ क्रेडिट ?

लाइन अफ क्रेडिट (एलओसी) भनेको विकासशील तथा साझेदार मुलुकलाई पूर्वाधार विकास र आर्थिक विकासका परियोजना सञ्चालन गर्न उपलब्ध गराइने सहुलियतपूर्ण ऋण सुविधा हो ।

भारत सरकारले इन्डियन डेभलपमेन्ट एन्ड इकोनोमिक असिस्टेन्स स्किमअन्तर्गत एक्जिम बैंक अफ इन्डियामार्फत विभिन्न देशलाई यस्तो ऋण उपलब्ध गराउँदै आएको छ । यस्तो सहयोग भारत सरकारले सिधै दिने होइन, एक्जिम बैंकसँग पाउने सरकारले सम्झौता गरेर लिनुपर्छ ।

यस्तो ऋण व्यावसायिक ऋणभन्दा सहुलियतपूर्ण हुन्छ । अर्थात कम ब्याजदर, लामो भुक्तानी अवधि र निश्चित अवधिको ग्रेस पिरियडजस्ता सुविधा हुन सक्छन् । भारतले हालसम्म विश्वका ६८ मुलुकलाई ३२ अर्ब अमेरिकी डलरभन्दा बढी एलओसी उपलब्ध गराइसकेको विदेश मन्त्रालयले जनाएको छ । भारत सरकारले एलओसीका रूपमा उपलब्ध गराउने रकमबाट सञ्चालन गरिने विकास परियोजनामा ७५ प्रतिशत सामग्री भारतमै बनेको उपयोग गर्नुपर्ने नियम छ ।

नेपालले पनि विभिन्न विकास परियोजना सञ्चालन गर्न भारतबाट पटकपटक एलओसी लिएको छ । हालसम्म भारतले चारवटा एलओसीमार्फत नेपाललाई १ अर्ब ६५ करोड अमेरिकी डलर दिएको छ । त्यसमध्ये ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा रद्द गरेको थियो ।

नेपालले भारतसँग अहिलेसम्म लिएको एलओसी

नेपालले भारतसँग पहिलो एलओसी सन् २००६ मा हस्ताक्षर गरेको थियो । १० करोड अमेरिकी डलरको सो एलओसीको उपयोग सडक, ग्रामीण विद्युतीकरण र जलविद्युत् क्षेत्रमा गरिएको थियो । यो एलओसी पूरै उपयोग भयो ।

दोस्रो एलओसी सन् २०१०–११ मा हस्ताक्षर भएको थियो । २५ करोड डलरको यो एलओसीको रकम १९ वटा सडक पूर्वाधार, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना र प्रसारण लाइनहरूमा खर्च भएको थियो । यो पनि पूरै खर्च भएको देखिन्छ ।

त्यसपछि तेस्रो एलओसी सन् २०१४ र २०१६ को बीचमा हस्ताक्षर भएको देखिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा गरेको पहिलो नेपाल भ्रमणका क्रममा १ खर्ब भारतीय रुपैयाँको सहयोग प्याकेज घोषणा गरेका थिए । त्यही प्रतिबद्धताको हिस्साका रूपमा ५५ करोड डलरको यो एलओसीमा हस्ताक्षर भएको थियो ।

यो रकम महाकाली सिँचाइ आयोजना (तेस्रो), कोशी करिडोर २२० केभी ट्रान्समिसन लाइन तथा विभिन्न सडक सुधारमा खर्च भएको थियो । तर, यो एलओसीको ३५ करोड डलर मात्रै खर्च भएको सरकारी रेकर्डमा भेटिन्छ । १३ कात्तिक २०८१ को मन्त्रिपरिषद् बैठकले यो एलओसीको आकार ३५ करोड डलर मात्रै बनाउने निर्णय गर्यो अर्थात् थप २० करोड डलर रद्द गर्यो ।

भारतको एक्जिम बैंकसँग भएको यसअघिको सबैभन्दा ठूलो ऋण चौथो एलओसी हो । यो एलओसी भूकम्पपछिको पुनर्निर्माणलाई १ अर्ब डलर उपलब्ध गराउने भारत सरकारको घोषणा कार्यान्वयनका लागि भएको थियो । त्यसमध्ये २५ करोड डलर अनुदान थियो । ७५ करोड डलर ऋणमध्ये ५ करोड डलर मात्रै खर्च भई ७० करोड डलर नेपाल सरकारले १३ कात्तिक २०८१ मा रद्द गरेको थियो ।

अर्थात् नेपाल र भारतबीच हालसम्म १ अर्ब ६५ करोड अमेरिकी डलर एलओसीको सम्झौता भयो । त्यसमध्ये ७५ करोड डलर मात्रै खर्च भयो, ९० करोड डलर खर्च हुन सकेन ।

किन रद्द गरियो ९० करोड डलर भारतीय एलओसी ?

१३ कात्तिक २०८१ को मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौताहरू– एलओसी तेस्रो र एलओसी चौथोलाई संशोधन गरी ३५ करोड अमेरिकी डलर र ५ करोड अमेरिकी डलर कायम गर्ने निर्णय गर्यो ।

त्यो मन्त्रिपरिषद्को निर्णय हेर्दा नेपालले भारतसँग ४० करोड अमेरिकी डलर ऋण लिने निर्णय गरेजस्तो देखिन्थ्यो । तर, त्यसको अन्तर्यमा भने भारतको एक्जिम बैंकसँग नेपालले गरेको ऋण सम्झौतामध्ये ९० करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३८ अर्ब रुपैयाँ खारेज गर्ने निर्णय थियो त्यो ।

भारतले दिएको त्यति ठूलो रकम किन खर्च हुन सकेन त ?

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय एलओसीमा सञ्चालन हुने परियोजनामा ७५ प्रतिशत सामग्री भारतमै बनेको हुनुपर्ने नियमका कारण रकम खर्च हुन सकेन । खासगरी पुनर्निर्माणका लागि आएको एलओसीको सम्झौता २०१६ सेप्टेम्बर १६ मा भएको थियो । जसमा प्लान्ट, मेसिनरी, उपकरण र सेवामा ७५ प्रतिशत तथा निर्माण कार्यमा ५० प्रतिशत भारतीय सामग्री/सेवा चाहिने सर्त थियो । त्यसअघिका एलओसीमा पनि सडक निर्माणमा ५० प्रतिशत भारतीय सामग्री हुनुपर्ने सर्त भारतले राखेको थियो ।

‘नेपालले भारतलाई भारतीय सामानको हिस्सा घटाइदिन पटकपटक अनुरोध गर्यो, तर त्यसमा भारत सहमत भएन । नेपालले पुनर्निर्माणमा खर्च हुन नसकेको रकम अन्य परियोजना सार्न गरेको अनुरोध पनि भारतले मानेन,’ स्रोतले भन्यो, ‘रकम चाहिँ खर्च नहुने अनि सम्झौता भइसकेको र खर्च हुन नसकेको रकमको ० दशमलव ५ प्रतिशत कमिटमेन्ट फी एक्जिम बैंकलाई वार्षिक रूपमा तिरिरहनुपर्ने भएपछि एलओसी रद्दको निर्णय भएको हो ।’

नयाँ सहयोग कति फरक ?

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा घोषणा भएको अनुदान र एलओसी दुवैको रकम हालसम्मकै सबैभन्दा ठूलो हो । यो एलओसी ऊर्जा क्षेत्रका परियोजनामा खर्च हुने दुई देशबीचको संयुक्त भिजन पेपर र प्रेस वक्तव्यमा उल्लेख छ । ऊर्जा क्षेत्रमा पनि खासगरी प्रसारण लाइन परियोजनामा यो रकम खर्च हुने भारतीय विदेश सचिव विक्रम मिश्रीले बताए ।

मिश्रीले भ्रमणका उपलब्धिबारे सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा भने, ‘पहिलाको सहयोग अमेरिकी डलरमा आधारित थियो । यो चाहिँ भारतीय रुपैयाँमा आधारित हो, जुन नेपालका लागि नयाँ हो ।’

भारतले पछिल्लो समय श्रीलंका, भुटान, मरिससलगायत मित्रराष्ट्रलाई भारतीय मुद्रामै एलओसी उपलब्ध गराउने गरेको उनले बताए ।

भारुमै एलओसी उपलब्ध गराउन नेपाल सरकारले पनि अनुरोध गरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘डलरमा ऋण लिँदा १ प्रतिशत ब्याजमा त पाइन्थ्यो । तर, विनिमय दरको उतारचढावका कारण नेपाललाई त्यसको लागत धेरै पर्ने गरेको थियो,’ ती अधिकारीले भने, ‘त्यही भएर नेपालले भारुमा एलओसी दिन अनुरोध गरिरहेको थियो ।’

भारतले विगतमा घोषणा गरेका एलओसी खर्च हुन नसकेको विषयमा आफू जानकार रहेको बताउँदै भारतीय विदेश सचिवले यसपटक त्यस्तो नहुने पनि बताए ।

‘यसपटकको एलओसी पूर्ण रूपमा ऊर्जा क्षेत्रका परियोजनामा खर्च हुनेछ । त्यसमा पनि पावर ट्रान्समिसन लाइनमा । नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने सम्झौता हामीबीच भएको छ । अहिले १२ सय मेगावाट मात्रै आइरहेको छ । ठूलो मात्रामा विद्युत् निर्यातलाई चाहिने प्रसारण लाइन निर्माणमा त्यो रकम खर्च हुनेछ,’ उनले भने ।

प्रसारण लाइन परियोजनामा एलओसीको रकम खर्च गर्न सजिलो हुने अर्थ मन्त्रालयका अधिकारीहरू पनि बताउँछन् । ‘प्रसारण लाइन परियोजनामा सबैजसो वस्तु आयात नै गर्नुपर्छ । त्यसो हुँदा यस्ता परियोजनामा ७५ प्रतिशत नै भारतीय कन्टेन्ट (वस्तु) प्रयोग गर्न पनि गाह्रो हुँदैन,’ एक अधिकारीले भने ।

यद्यपि, यो ऋणलाई कुन परियोजनामा खर्च गर्ने, कस्ता सर्तहरू रहने भन्नेबारे अझै पनि सहमति हुन बाँकी रहेको मिश्रीले बताए ।

‘दुई देशबीचको

भिजन डकुमेन्टमा सहयोग रकम तथा परियोजनाको स्क्रिनिङ गर्नेलगायत काम गर्न उच्चस्तरीय संयन्त्र बनाउने उल्लेख छ । उनीहरूले छनोट गरेका परियोजनामा खर्च हुन्छ,’ मिश्रीले भने ।

भारत सरकारले नेपालमा संकट आउँदा सधैं सबैभन्दा अघि र सबैभन्दा उल्लेखनीय सहयोग गर्दै आएको बताउँदै सचिव मिश्रीले यसपटक पनि सोहीअनुरूप ठूलो सहयोग घोषणा गरेको बताए ।

‘हामी नेपालमा ठूलो विपद् आउँदा फर्स्ट रेस्पोन्डर हुँदै आएका छौं । २०१५ को भूकम्पमा पनि पहिलो र उल्लेखनीय सहयोग गरेका थियौं । अन्य विपद्मा पनि गरेका छौं । यसपटक पनि हामीले सबैभन्दा पहिलो मात्रै होइन, सबैभन्दा धेरै सहयोग गर्ने देश पनि बनेका छौं,’ उनले भने ।

नेपालको सम्पूर्ण बजेटको ११ प्रतिशत र विकास बजेटको आधाभन्दा बढी हिस्साका लागि वैदेशिक ऋण नै चाहिन्छ । यस्तोमा कुनै देशले दिइसकेको ऋण रद्द गर्ने काम आफैंमा दुर्लभ थियो । तर, आर्थिक सहायता घोषणा भएको लामो समयसम्म उपयोग हुन नसकेपछि त्यसलाई खारेज गरिएको थियो । त्यसमा नेपालका आफ्ना समस्या मात्र होइन, भारतका कडा सर्त पनि जिम्मेवार छन् ।

भारतीय एलओसी (सहुलियत ऋण) मा सञ्चालन हुने परियोजनामा प्लान्ट, मेसिनरी, उपकरण र सेवामा ७५ प्रतिशत तथा निर्माण कार्यमा ५० प्रतिशत भारतीय सामग्री लिनैपर्ने सर्तले पनि यसअघिको सहयोग उपयोग हुन सकेन । यसपालि के–कस्ता सर्त रहन्छन्, तय भइसकेको छैन ।

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै नेपाल आएका मोदीले एक खर्ब भारतीय रुपैयाँको सहयोग घोषणा गरेका थिए । तर त्यसको मोडालिटी नबन्दै भूकम्प आएपछि आवास तथा पुनर्निर्माणका लागि भनेर भारतले ७५ करोड डलर घोषणा गरेको थियो । तर त्यसमा पाँच करोड डलर मात्र उपयोग भयो । बाँकी ७० करोड डलर १० वर्षसम्म उपयोग हुन नसकेपछि कात्तिक २०८१ मा नेपाल सरकारले नै रद्द गरेको थियो ।

कभर स्टोरी

जनार्दन बराल
लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय