+

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

२०८३ मंसिर १० गते ९:०८

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट ।

धनुषाको जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसका विद्यार्थीहरू ०८१ को माघ–फागुनमा परीक्षाको फाराम भर्न पुगे । तर, केही विद्यार्थीलाई शुल्क बुझाएर मात्र फाराम बुझाउन भनियो । जबकि उनीहरूले सेमेस्टरभरिको शुल्क लेखा शाखामा पहिले नै बुझाइसकेका थिए । उनीहरूसँग रसिद पनि थियो । तर, क्याम्पसको रेकर्डमा भेटिएन ।

सुरुमा ३६ जना विद्यार्थीले बुझाएको शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरिएको भन्दै क्याम्पस प्रशासनमा निवेदन दिए । त्यसपछि अनुसन्धान सुरु गर्दा यो केही विद्यार्थीको शुल्क हराएको घटनामा सीमित रहेन, यो त त्रिविमा विद्यार्थीको शुल्कमा भएको अहिलेसम्मकै ठूलो घोटालाको रुपमा उजागर भयो ।

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको राराब क्याम्पसमा पछिल्लो पाँच वर्षयता मात्र विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम कर्मचारीले आफ्नो खल्तीमा हालेको भेटिएको छ । त्यति मात्र होइन, प्रमाण मेटाउन जेनजी आन्दोलनको मौकामा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा पनि आगजनी गरिएको खुलासा भएको छ ।

यो घोटालाको आवरणमा लेखा सहायक सञ्जय दास देखिएका छन् । तर, उनी एक्लैले वर्षौंसम्म यति ठूलो भ्रष्टाचार काण्ड लुकाएर राख्न सम्भव थिएन । त्यसैले तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुख, त्रिविको आन्तरिक लेखा परीक्षण र महालेखाका परीक्षकहरू पनि शंकाको घेरामा छन् ।

प्रमाण नष्ट गर्न जेनजी आन्दोलनमा जलाइयो लेखा शाखा

०८१ को अन्तिमतिर विद्यार्थीहरूले पहिलोचोटि आफ्नो शुल्क बैंकमा दाखिला नभएको थाहा पाउन थाले । तर, रसिद देखाएपछि उनीहरूलाई परीक्षा फाराम भने भराइयो । पढाइमा पनि कुनै अवरोध गरिएन ।

तर, यसबारे निवेदन परेपछि त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरले एउटा टोली अनुसन्धानका लागि राराब पठाएको थियो । उक्त टोलीले क्याम्पसमा पुगेर रसिदहरू एकै ठाउँ जम्मा गरेर अध्ययन गरेको थियो । तर, २४ घण्टामै टोली काठमाडौँ फर्कियो र प्रतिवेदन बुझायो ।

त्यो प्रतिवेदन झारा टार्ने खालको मात्र भएको त्रिविका अधिकारीहरू बताउँछन् । त्यो टोलीको अनुसन्धान चित्त बुझ्दो नभएपछि त्रिविले दोस्रो टोली खटाएको थियो । तर दोस्रो टोली जनकपुर हिँड्नुअघि नै २०८२ भदौ २३–२४ गते जेनजी आन्दोलन भयो । जसमा राराब क्याम्पसका प्रमुख र लेखा शाखामा आगजनी भयो । पहिलो टोलीले जम्मा गरेको धेरैजसो रसिद जलाइयो ।

लेखा शाखामा जलाइएका रसिदहरू ।

तर, क्याम्पसको अरु कुनै पनि कार्यालयमा आगो लगाइएको थिएन । त्यसैले यही घोटालाको प्रमाण नष्ट गर्न आगो लगाइएको राराबका शिक्षक, कर्मचारी र विद्यार्थीहरू बताउँछन् ।

‘पहिलो अनुसन्धान टोलीले सबै रसिद एकै ठाउँमा संकलन गरेको थियो । दोस्रो टोली आउनुअघि नै आन्दोलनको बहानामा लेखा शाखा र क्याम्पस प्रमुखको कोठामा मात्र आगो लगाइयो,’ एक शिक्षक भन्छन्, ‘यो सञ्जय दासकै निर्देशनमा भएको हो । जलाउने काममा केही विद्यार्थी समेत प्रयोग भएका छन् ।’

आगजनीपछि बचेको रसिदकै आधारमा ६ करोड २४ लाख रूपैयाँ दासले हिनामिना गरेको प्रमाण फेला परेको हो । त्यसपछि पनि बाँकी प्रमाण नष्ट गर्ने प्रयास भएको पाइएको छ ।

यो अनियमितताको छानबिन सुरु भएपछि दासलाई क्याम्पसकै अर्को शाखामा सरुवा गरिएको थियो । २०८२ कात्तिकमा फाइल चोरी गर्ने उद्देश्यले उनकै नेतृत्वमा एउटा टोली लेखा शाखाको कोठामा प्रवेश गरेको थियो । ‘सीसी क्यामेराबाट देखेपछि उनीहरूलाई कोठाबाट निकालिएको थियो,’ क्याम्पसका एक कर्मचारीले भने ।

त्यसपछि क्याम्पस प्रशासनले जिल्ला प्रहरी कार्यालय धनुषामा दासविरुद्ध किटानी जाहेरी दियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्याम्पसले दासविरुद्ध आपराधिक उपद्रव मुद्दामा जाहेरी दिएको थियो । प्रहरीको रेकर्ड अनुसार २०८२ कात्तिक २७ मा उजुरी दर्ता भएपछि दास पक्राउ परेका थिए । र, मंसिर १० मा ३० हजार धरौटीमा रिहा भएका थिए ।

त्यसपछि पनि उनी हाजिर गर्न क्याम्पस पुगेका थिए । तर क्याम्पसले दिएन । मुद्दा चलिरहेकाले हाजिर गर्न दिने वा नदिनेबारे त्रिविलाई सोधे पनि जवाफ आएको छैन । त्यसैले उनी क्याम्पस आएका छैनन् ।

५ वर्षसम्म घोटालाको निरन्तरता, तत्कालीन क्याम्पस प्रमुख भन्छन्– मेरो जिम्मा होइन

अनलाइनखबरले प्राप्त गरेको कागजातमा २० करोडभन्दा बढीको भ्रष्टाचार देखिएको छ । २०७७ साउन १ देखि २०८२ पौस मसान्तसम्मका फाइल छानविन गरिएको थियो । त्यसमध्ये अधिकांश रकमको रसिद लेखा सहायक सञ्जय दासले नै काटेका छन् ।

अनेक उपायले भ्रष्टाचार गरेको देखिएको छ । विद्यार्थीलाई दिइएको रसिद र अफिस कपी (ओसी) मा रकम फरक पारेर ४ करोड १४ लाख हिनामिना गरेका छन् । त्यसैगरी, रसिदमा उल्लेख गरेर पनि बैंकमा दाखिला नगरी १ करोड २७ लाख, शुल्क मिलानको नाममा १० लाख ७० हजार र रसिद नम्बरै नराखी लिएको ४ लाख ९९ हजार रकम लुकाइएको थियो ।

एउटै रसिदबाट फरकफरक व्यक्तिको नाममा रसिद काटेर पनि उनले २८ लाख ६७ हजार रूपैयाँ लगेका थिए भने क्याम्पस प्रति नभएको रसिदबाट रकम लिएर ३८ लाख ५० हजार दाखिला नगरी हिनामिना गरेका थिए । यसरी यी शीर्षकबाट मात्र ६ करोड २४ लाख भ्रष्टाचार गरिएको थियो ।

थप २२ प्याडमा रहेका २२ सय रसिदबाट पनि उनले शुल्क उठाएका थिए । त्यसमध्ये कति विद्यार्थीबाट कति रकम संकलन गरे भन्ने स्पष्ट छैन । ती रसिद गत वर्षको जेनजी विद्रोहको मौकामा जलाइएको थियो । तर औषतमा हिसाब गर्दा पनि कम्तीमा १४ करोड रूपैयाँ थप घोटाला भएको त्रिविका अधिकारीहरूको दाबी छ ।

‘एउटा प्याडमा १०० वटा रसिद हुन्छ । २२ वटा प्याडमा २ हजार २०० वटा रसिद भयो । यसमा न्यूनतम १३ देखि १४ करोड बराबरको घोटाला भएको छ,’ त्रिविका अधिकारीले भने, ‘अनियमितता गर्नेबाट जरिवानासहित फिर्ता गर्ने हो भने समग्रमा २० करोडभन्दा बढी रकम हुन्छ ।’

बीबीए, बीआईटी, सीएसआईटी, बीए, बीएस्सी माइक्रोबायोलोजी लगायत धेरै आम्दानी हुने कोर्समा आठ सेमेस्टरसम्म पढाइ हुन्छ । औसतमा सञ्जय दासले प्रतिरसिद ५६ हजारदेखि ६० हजारसम्म शुल्क उठाएको पाइन्छ ।

‘देखिएको घोटाला त ५ वर्षको मात्रै हो । त्यसअघि पनि कति हिनामिना भयो होला,’ क्याम्पसका एक प्राध्यापक भन्छन्, ‘सञ्जय दासले राराबमा काम गरेको त १० वर्ष भयो ।’ दास २०७३ मा स्थायी दरबन्दीमा राराबको लेखा शाखामा आएका थिए । प्रतिक्रियाका लागि प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

क्याम्पसका अधिकारीहरू भने यति ठूलो भ्रष्टाचार दास एक्लैले गर्नै नसक्ने बताउँछन् । उनीहरू यसमा ठूलो समूह संलग्न रहेको हुनसक्ने आशंका गर्छन् । ‘सञ्जय दास एक्लैले गर्न गाह्रो छ । त्रिविको शुल्कमा सबैभन्दा ठूलो घोटाला हो,’ एक अधिकारीले भने, ‘यति ठूलो घोटाला हुँदा लेखा प्रमुख र क्याम्पस प्रमुख मौन छन् । त्यसले शंका जन्माएको छ ।’

घोटालाको ५ वर्षको अवधिमा साढे ४ वर्ष प्रदीप प्रसाद क्याम्पस प्रमुख थिए भने लेखा प्रमुखमा देवेन्द्र शाह । तर उनीहरू दुवै जना आफूलाई केही थाहा नभएको भन्दै पन्छिए ।

‘दासले काउन्टर लेखा प्रमुख मातहत रहेर काम गरेको हो । क्याम्पस प्रमुखसँग कुनै लेनदेन हुँदैन । रसिद काटेपछि बैंकमा बुझाएको/नबुझाएको रेकर्ड लेखा प्रमुखले हेर्ने हो,’ तत्कालीन क्याम्पस प्रमुख प्रदीप प्रसादले भने, ‘सञ्जय दासले हिनामिना गरेको बारे त्यस अवधिमा कसैले जानकारी दिएनन् ।’

जेनजी आन्दोलनमा जलाइएको क्याम्पस प्रमुखको कार्यकक्ष ।

उनले त्रिविको आन्तरिक लेखा परीक्षण गर्ने टोली र महालेखाबाट आउने टोलीप्रति प्रश्न गरे । ‘प्रत्येक वर्ष त्रिविबाट आन्तरिक र महालेखाको टोली अडिटको लागि आउने गरेको थियो । कति रकम उठेको छ, कति रसिद काटियो, कति आम्दानी भयो, भएन भनेर अडिटको टोली हप्तादस दिन बसेर रिपोर्ट बुझाएर जाने गरेको थियो,’ उनले भने, ‘त्यो रिपोर्टमा किन केही जानकारी गराइएन ?’

तत्कालीन लेखा प्रमुख देवेन्द्र शाहले आफू कायममुकायम मात्र भएकाले यो विषयमा कुनै पनि जानकारी नभएको जिकिर गरे । ‘८ जना कर्मचारी हुनुपर्नेमा म एक्लै थिएँ । रसिद काट्ने अर्कै मान्छे थियो । म निमित्त प्रमुख थिएँ । सञ्जय दास पहिलेदेखि नै काम गरेको कर्मचारी हुन्,’ उनले भने ।

रसिदमा एउटा, ओसीमा अर्को शुल्क

आन्तरिक कार्यक्रमतर्फ बीए, बीबीए, बीआईटी, सीएसआईटी, बीएस्सी लगायतको शुल्क दासले संकलन गर्ने गर्थे । ‘धेरै रकम संकलन हुने काउन्टरमा उहाँ (दास) बस्नुहुन्थ्यो,’ लेखाका एक कर्मचारीले सुनाए ।

दासले रसिद काट्दा नै विभिन्न चलाखी गर्ने गरेका थिए । रसिद काट्दा विद्यार्थीहरूको पूरा नाम, रोल नम्बर, संकायको नाम र के बापतको शुल्क हो खुलाउनुपर्नेमा उनले काट्ने रसिदमा अपूरो विवरण हुन्थ्यो । त्यस्तै, अंक पनि कहिले नबुझिनेगरी र कहिले गणितीय त्रुटिजस्तो लाग्ने गरी रसिद काट्थे । कतिपय रसिदमा त विद्यार्थीको नामसमेत नबुझिने गरी लेखिएका छन् ।

रसिदबाट प्राप्त भएको रकम आम्दानीको दैनिक खातामा प्रविष्ट गर्नु पर्ने हुन्छ । तर दासले आंशिक रकम मात्रै प्रविष्ट गर्ने गरेका थिए ।

अधिकांश विद्यार्थीले तिरेको शुल्कको रसिद काट्दा उनी रसिदको पहिलो सेतो पानामा यथार्थ रकम उल्लेख गर्थे । तर, अफिस कपीमा भने कम रकम उल्लेख गर्थे । उदाहरणका रूपमा, बीबीए दोस्रो सेमेष्टरको शुल्क ४५ हजार ५०० छ । त्यो शुल्क लिँदा दासले विद्यार्थीलाई दिइएको रसिदमा ४५ हजार ५०० उल्लेख गरेका छन् । तर ओसीमा कुनैमा ४५० र कुनैमा ४ हजार ५०० मात्र कायम गर्ने गरेको भेटिएको छ ।

उसो त क्याम्पस हातामै बैंक काउन्टर छ । २०७९ साल कात्तिक ४ गतेदेखि सो काउन्टर स्थापना भएको हो । तर, दासले विद्यार्थीबाट नगदै रकम लिने गर्थे ।

‘हिनामिना गर्ने उद्देश्यले विद्यार्थीबाट नगदै लिने गरिएको थियो,’ क्याम्पसका एक कर्मचारीले भने, ‘पछि थाहा भयो, शुल्क बैंकमा दाखिला नै भएको रहेनछ ।’

दासले एउटै नम्बरको रसिद फरक–फरक व्यक्तिलाई दिएर पनि रकम लिएका थिए । आर्थिक वर्ष २०८२/०८३ को रसिद नं. १२२३४७ बाट बीबीएका एक विद्यार्थीसँग उनले ४५ हजार ५०० बुझिलिएका थिए । सोही नम्बरको रसिदबाट दासले बीएस्सी सीएसआईटीमा अध्ययनरत अर्का विद्यार्थीबाट पनि रकम बुझेको भेटिएको छ ।

तीमध्ये एक जनाको शुल्क उनले आम्दानीमा देखाएका थिए भने एक जनाको शुल्क आफैँले लिने गरेका थिए । तर यस्तो छरपष्ट हिनामिना पनि त्रिविको आन्तरिक लेखापरीक्षण र महालेखाले समेत पाँच-पाँच वर्षसम्म ‘सुइको नपाउनु’ आश्चर्य भएको छ ।

क्याम्पसको कोष नै घट्दा पनि बेवास्ता

घोटालाका कारण बर्सेनि उठ्नुपर्ने शुल्क घट्दै गए पनि क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरेको देखिन्छ । त्रिवि नियमानुसार क्याम्पसलाई बुझाउनु पर्ने विद्यार्थीको शुल्क प्रथम सेमेस्टरदेखि आठौँ सेमेस्टरसम्मको तोकिएको हुन्छ । विद्यार्थी संख्याको आधारमा मासिक रूपमा बैंकमा दाखिला हुनु पर्ने रकम पहिले नै यकिन हुन्छ । राराब क्याम्पसमा यसरी दाखिला हुने रकम क्रमशः घट्दै गएको देखिन्छ ।

बीबीए, बीआईटी, सीएसआईटी, बीए, बीएस्सी माइक्रोबायोलोजीका विद्यार्थीबाट आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ७९ लाख बैंकमा दाखिला हुनुपर्नेमा २५ लाख २४ हजार मात्र दाखिला भएको छ । २ करोड ५४ लाख रूपैयाँ कहाँ गयो भनेर खोजी गरिएन ।

 

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड १५ लाख दाखिला हुनुपर्ने मा ६५ लाख ४९ हजार मात्र दाखिला भएको छ । त्यो वर्ष ३ करोड ५० लाख रूपैयाँ फरक पर्‍यो । आर्थिक वर्ष २०७९/०८० मा ४ करोड १२ लाख दाखिला हुनुपर्नेमा १ करोड ३१ लाख दाखिला भएको छ । जसमा २ करोड ८१ लाख फरक परेको देखिन्छ । २०८०/०८१ मा ३ करोड ५९ लाख दाखिला हुनुपर्नेमा १ करोड ४७ लाख दाखिला हुँदा २ करोड ११ लाख फरक परेको छ । आर्थिक वर्ष २०८१/०८२ मा बैंकमा दाखिला हुनुपर्ने २ करोड ५६ लाख रकममध्ये एक रूपैयाँ पनि दाखिला भएको देखिँदैन ।

यी पाँच आर्थिक वर्षमा जम्मा १३ करोड ५३ लाख रूपैयाँ गायब भएको देखिन्छ । यसबारे किन खोजीनिती नगरेको भन्ने प्रश्नमा तत्कालीन क्याम्पस प्रमुख प्रदीप प्रसादले भने, ‘हिसाबकिताब हेर्ने लेखा प्रमुखले हो, त्यो मेरो जिम्मा होइन ।’

त्रिविबाट खटिएको दोस्रो अनुसन्धान टोलीले पनि प्रतिवेदन बुझाइसकेको छ । जसमा दासलाई नै मुख्य दोषी ठहर गरिएको त्रिविका एक अधिकारीले जानकारी दिए ।

‘प्रतिवेदनमा ६ करोड २४ लाख तत्काल फिर्ता गर्नुपर्ने र १३ देखि १४ करोड बराबरको रसिद भेटिएको छैन । दोषीलाई कारबाहीको सिफारिस गरेको छ,’ ती अधिकारीले भने ।

सञ्जय दास ।

प्रतिवेदन आए पनि कारबाही भएन

राराब क्याम्पस प्रमुख प्रा.डा. बसन्तकुमार कर्णले आफूहरू यो विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको बताए । ‘विद्यार्थीको निवेदनको आधारमा केन्द्रले अनुसन्धान गरेको हो । प्रतिवेदन आएपछि बाँकी कुरा थाहा हुन्छ,’ उनले भने । उनी २०८१ माघ २ गते क्याम्पस प्रमुखमा पदस्थापन भएका थिए ।

हालसम्म दासलाई भने कुनै कारबाहीको प्रक्रिया अघि बढाइएको छैन । जबकि त्रिविको शिक्षक कर्मचारी सम्बन्धी नियमले भ्रष्टाचार वा अनियमितता गर्नेलाई सेवाबाट हटाउन सक्नेसम्मको अधिकार त्रिविलाई दिएको छ ।

त्यस्तै, यो घोटालामा संलग्न अन्य कोको छन् भन्नेबारे पनि कुनै खोजी गरिएको छैन । त्रिविका उपकुलपति प्रा.डा. भोला थापा आफू आएपछि समितिले प्रतिवेदन बुझाएको र अब कानुन बमोजिम कारबाही गर्ने बताउँछन् ।

‘त्रिविको जिम्मेवारीमा आएपछि यहाँको वस्तुस्थिति थाहा हुँदै आएको छ । हालसालै प्रतिवेदन आएको हो । अध्ययन गरिरहेका छौँ । दोषीलाई त्रिविको नियम र प्रचलित कानुन अनुसार कारबाही गर्छौं,’ उपकुलपति थापाले भने, ‘हाम्रो मुख्य उद्देश्य विश्वविद्यालयमा सुशासन कायम गर्नु हो । जहाँजहाँ अनियमितता भएको छ, त्यहाँ छानबिन र कारबाही हुन्छ । हामी रकम फिर्ता लिन्छौँ ।’

वर्षौंदेखि गुपचुप राखिएको घोटालाबारे क्याम्पस प्रमुख र लेखा प्रमुख आफूलाई थाहै नभएको भन्दै पन्छिन्छन् । त्रिविको आन्तरिक लेखापरीक्षण र महालेखाले पनि गरे अनदेखा । छानबिन गरे पनि त्रिविले दोषीउपर कारबाही थालेको छैन ।

हिनामिना गर्ने उद्देश्यले विद्यार्थीबाट नगदै लिने गरिएको थियो । पछि थाहा भयो, शुल्क बैंकमा दाखिला नै भएको रहेनछ– क्याम्पसका एक कर्मचारी

प्रतिवेदन आएको हो । अध्ययन गरिरहेका छौँ । दोषीलाई त्रिविको नियम र प्रचलित कानुन अनुसार कारबाही गर्छौं– उपकुलपति भोला थापा

कभर स्टोरी

दिनेश गौतम
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय