यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे।
पूर्वश्रममन्त्रीसहितको समूहमाथि एउटा गम्भीर आरोप लागेको छ। स्वास्थ्य परीक्षणबापत तोकिएकोभन्दा बढी रकम लिएर मलेसिया जाने श्रमिकमाथि आर्थिक शोषण भयो। तर, अनुसन्धान गर्दा पुष्टि भएको छ- स्वास्थ्य परीक्षणका लागि एक रुपैयाँ पनि रकम तिर्नु नपर्नेमा नेपाली श्रमिकबाट धमाधम उठाइएको थियो।
नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा स्पष्ट लेखिएको छ- श्रमिकको टिकट, भिसा र बायोमेट्रिकसहितको स्वास्थ्य परीक्षणको रकमको जिम्मेवारी रोजगारदाता कम्पनीको हुनेछ। श्रमिकले स्वास्थ्य परीक्षणका लागि नेपालमा रकम भुक्तान गरिहालेमा पनि पहिलो महिनाको तलबसहित सोधभर्ना पाउनुपर्छ। उताबाट रकम नेपाली श्रमिकको खातामा आउनुपर्नेमा यताबाट पैसा उठाएर धमाधम मलेसिया पठाइएको थियो।
श्रमिकबाट अनधिकृत रकम उठाएर मलेसिया पठाउन मन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवरले निर्णय नै गरेका थिए भने डोलप्रसाद (डीपी) अर्याल र शरतसिंह भण्डारीका पालामा पनि मन्त्रालयको सक्रियतामा श्रमिकमाथि सङ्गठित शोषण गरिएको थियो। चार वर्षमा चार मन्त्रीको कार्यकालमा साढे सात लाख श्रमिकबाट दुई अर्ब ३७ करोड रुपैयाँ लुटेर एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको थियो। पूर्वमन्त्री यादव र कुँवर अहिले सीआईबीको हिरासतमा छन्।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको सम्झौताले श्रमिकलाई शून्य लागतमा लैजाने र स्वास्थ्य परीक्षणसमेतको खर्च रोजगारदाताले बेहोर्ने स्पष्ट व्यवस्था गरेको छ। तर काठमाडौँमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी हरेक श्रमिकबाट सम्झौतामा उल्लेखै नभएको १०० रिङ्गिट अर्थात् रु. ३,१६४ ‘बायोमेडिकल’ शुल्क असुलियो।
सरकारी अभिलेखअनुसार सन् २०२० फेब्रुअरीदेखि २०२४ मेसम्म ७ लाख ५० हजार ९८८ श्रमिकबाट २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ उठाइएको थियो। त्यसमध्ये करिब १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको डलर र पाउन्ड मलेसियाली कम्पनी बेस्टिनेट सेन्डिरियन बरहाडको खातामा पुग्यो। १७ पटक नै रकम ट्रान्सफर गर्दा श्रम मन्त्रालयको सिफारिस थियो।
यसमा काठमाडौँस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन् र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको सीआईबीको दाबी छ। पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
सम्झौताले के भन्छ: खर्च रोजगारदाताको
२०७५ कात्तिक १२ (२९ अक्टोबर २०१८) मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा नेपाल र मलेसिया सरकारबीच श्रमिकको भर्ना, रोजगारी र फिर्तीसम्बन्धी सम्झौता भयो। सम्झौताको एपेन्डिक्स बीको बुँदा ७ (जी) ले नेपालमा हुने स्वास्थ्य परीक्षणको खर्चसमेत रोजगारदाताले तिर्नुपर्ने र श्रमिकले तिरेको भए पहिलो महिनाको तलबसँगै फिर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
सम्झौता र कार्यान्वयनको अनुगमन गर्न बनेको संयुक्त कार्यदल (जेडब्लूजी) को पहिलो बैठकले नेपाली श्रमिक भर्नाको अनुमानित खर्चको तालिका ‘एनेक्स फाइभ’ पारित गरेको थियो।
त्यसमा बायोमेडिकल सिस्टमका लागि १०० रिङ्गिट र स्वास्थ्य परीक्षणका लागि २६० रिङ्गिट दुवै मलेसियाली रोजगारदाताको कोलममा राखिएका छन्, श्रमिकको कोलम खाली छ। मलेसियाली दूतावासकै सन् २०२२ मार्च ७ को सार्वजनिक सूचनामा पनि बायोमेडिकल सिस्टम (बीएमएस) को खर्च रोजगारदाताको जिम्मा भनिएको छ।

तर व्यवहारमा उल्टो भयो। रोजगारदाताबाट लिनुपर्ने मेडिकल शुल्क रु. ६,५०० र सम्झौतामा श्रमिकले तिर्ने कुनै उल्लेखै नभएको थप १०० रिङ्गिट गरी झन्डै रु. ९,५०० नेपाली श्रमिकबाट असुलियो। दूतावासको सूचनाअनुसार यो १०० रिङ्गिटको नेपाली रूप रु. ३,१६४ थियो- सेवा शुल्क रु. २,८०० र १३ प्रतिशत भ्याट रु. ३६४।
सिन्डिकेटमा रहेका स्वास्थ्य संस्थाबाहेक अरूमा परीक्षण गराउनै नपाइने भएकाले श्रमिकसँग अर्को विकल्प थिएन। कुनै रोजगारदाताले यो शुल्क तिरिदिएको वा कुनै श्रमिकले पहिलो तलबसँग फिर्ता पाएको कुनै कागजात अनुगमन टोलीले भेट्टाउन सकेन। उताबाट रकम नेपाली श्रमिकले पाउनुपर्नेमा यो त उता पठाउने रकम हो भन्दै पौने दुई अर्ब रुपैयाँ पठाइएको थियो।
सिन्डिकेटको सुरुवात: कैलाश खड्काको योजना
२०७० सालअघिसम्म सरकारले मलेसिया जाने श्रमिकको मेडिकलका लागि कुनै निश्चित स्वास्थ्य संस्थालाई जिम्मा दिएको थिएन; सरकारबाट स्वीकृत २०५ संस्थामध्ये जुनसुकैबाट परीक्षण गराएर श्रमिक मलेसिया जान सक्थे।
मलेसिया जाने श्रमिक ठगीको केन्द्रमा छन्- रामेछापका कैलाश खड्का। २०७० सालमा यो व्यवसायमा प्रवेश गरेका खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको नेतृत्वमा बसेको फाइदा उठाउँदै २०७० असार ६ मा मलेसियाली कम्पनी बेस्टिनेटका प्रमुख कार्यकारीसँग बायोमेट्रिक प्रणाली सञ्चालनसम्बन्धी समझदारीमा हस्ताक्षर गरे। सरकारी अनुगमन प्रतिवेदनअनुसार त्यसबेला महासङ्घका अध्यक्ष प्रवीण तिवारी र वरिष्ठ उपाध्यक्ष कैलाश खड्का थिए। खड्काले आफैँ मलेसिया पुगेर बेस्टिनेटसँग ‘सेटिङ’ मिलाएका थिए।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनपछि श्रम मन्त्रालयले २०७२ असार २१ गते मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीबाट गर्ने निर्णय गर्यो। असार २२ मा सचिवले टिप्पणी उठाए र असार २३ मा टेकबहादुर गुरुङको राज्यमन्त्रीस्तरीय निर्णयबाट सदर भयो।

असार २५ मा मन्त्रालयले उही महासङ्घलाई पत्र लेख्यो, जसमा बायोमेट्रिक परीक्षणलाई बढीमा ६ महिनाका लागि मात्र अनुमति दिइएको थियो र श्रमिकको हितविपरीत भए खारेज हुन सक्ने सर्त राखिएको थियो।
६ महिने परीक्षण र निःशुल्क सेवाको नाममा सुरु भएको बायोमेडिकल निरन्तर चल्यो, रकम उठाउने काम पनि जारी रह्यो। बायोमेट्रिक जाँचको अनुमति दिने भन्दै बेस्टिनेटले स्वास्थ्य संस्थासँग निवेदन मागेको थियो र ३९ वटा छानिएका थिए। बेस्टिनेटका नेपाल साझेदार खड्काले ती संस्थासँग रकम उठाएको र मागेअनुसारको कमिसन नदिएका संस्था हटाएर सङ्ख्या ३६ मा झारिएको आरोप छ। मलेसियाकै भनाइअनुसार यी ३६ संस्थाले सन् २०१५ देखि निरन्तर रकम उठाइरहेका थिए।
२०७५ जेठ २ मा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले आफूखुसी रकम उठाउने कम्पनीहरूलाई कारबाही हुने भन्दै यस्तो रकम नउठाउन निर्देशन दिए र गृह मन्त्रालयलाई पत्र लेखे। त्यो पत्र प्रहरी प्रधान कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्यो र प्रहरीले राम श्रेष्ठसहित करिब ४० जनालाई पक्राउ गर्यो। खड्का भने फरार थिए। पक्राउ परेकाहरूले अदालतबाट भने सफाइ पाए। ६ महिने अनुमति खारेज नभएको र सिन्डिकेटलाई ठगी नमानिएको तर्कमा सफाइ दिइएको थियो। त्यो फैसला विवादित बन्यो र फैसला गर्ने न्यायाधीश न्याय परिषद्मा तानिए।
श्रमिकमाथि थोपरिएको भार नहटेसम्म मलेसिया श्रमिक नपठाउने अडान लिँदै विष्टले सोही दिन मलेसिया रोजगारी नै बन्द गरे। झन्डै दुई वर्ष बन्द रहेको मलेसिया रोजगारी सम्झौतापछि खुल्यो, त्यसमा स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने भनिएको थियो तर श्रमिकबाटै निरन्तर उठाइयो।
म्याक्रोटेकको जन्म र दूतावासको पत्र
सम्झौताले श्रमिकलाई शून्य लागतमा लैजाने भने पनि नेपालमा भने राज्यकै संरक्षणमा रकम सङ्कलन भइरह्यो। खड्का, मुकुन्द भट्टराई र शालिग्राम क्षेत्री मिलेर २०७५ फागुन ६ मा म्याक्रोटेक प्रा.लि. स्थापना गरियो।
महाराजगन्जको नबिल गल्लीमा कार्यालय रहेको म्याक्रोटेकले २०७५ चैत (अप्रिल २०१९) मा मलेसियाको बेस्टिनेटसँग ‘बिजनेस प्रोसेस र आईटी हेल्प डेस्क : बायोमेडिकल मोड्युल (एफडब्लूसीएमएस)’ सेवाको नाममा सम्झौता गर्यो र आफूलाई बेस्टिनेटको नेपाली साझेदारका रूपमा चिनायो। सरकारलाई पेस गरिएका कागजातमा कम्पनीका सञ्चालक अध्यक्षका रूपमा खड्काले हस्ताक्षर गरेका छन्।

त्यहीबीच काठमाडौँस्थित मलेसियाली दूतावासबाट अनौठो पत्र आयो। पत्रमा यस्तो ठगी किन गरिएको भनेर चासो राखिएको थिएन, बरु ठगीका लागि बाटो खुल्ने व्यवस्था गरिएको थियो।
सन् २०१९ जुन १७ मा कार्यवाहक राजदूत अहमद फदिल इस्माइलले नेपाल सरकारलाई होइन, म्याक्रोटेकका सञ्चालक मुकुन्द भट्टराईलाई पत्र लेखेर ‘तत्काल लागू हुने गरी’ बायोमेडिकल शुल्क रु. ३,१६४ तोके र ३७ स्वास्थ्य संस्थामा लागू गराउन अनुमति दिए।
अर्को देशको दूतावासले नेपाली रुपैयाँमा, नेपालको मूल्य अभिवृद्धि करसमेत जोडेर तोकेको यही शुल्क नै सिङ्गो सङ्कलनको आधार बन्यो। अनुसन्धान अधिकारीहरूका अनुसार दूतावासबाटै पत्र तयार पार्न लगाएर स्वास्थ्य जाँच, रकम उठाउने र विदेश लैजाने आधार बनाइएको थियो।
सन् २०१९ सेप्टेम्बर १०–११ मा बसेको संयुक्त कार्यदलको बैठकले पनि श्रमिकमाथि भइरहेको शोषण बेवास्ता गर्दै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेका ३६ स्वास्थ्य संस्था ‘पर्याप्त’ भएको र तिनैले काम जारी राख्न दिने निर्णय गर्यो। ती संस्थाहरूले अनुमतिबिना म्याक्रोटेकको भ्याट बिल काटेर रु. ३,१६४ उठाए र म्याक्रोटेकको सनराइज बैंक खातामा जम्मा गरिरहेका थिए।
पछि खड्कासँग विवाद परेपछि उनका नेपाल साझेदार भट्टराईले सरकारलाई दिएको विवरणअनुसार हरेक श्रमिकबाट उठाइएको १०० रिङ्गिटमध्ये १० रिङ्गिट म्याक्रोटेकले राख्थ्यो र ९० रिङ्गिट बेस्टिनेटलाई पठाइन्थ्यो।
रकम कसरी गयो ? दूतावास, मन्त्रालय र राष्ट्र बैंकको भूमिका
रकम बाहिर पठाउन नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ र राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयले रकम वैध रहेको भनी सिफारिस गरेपछि मात्र स्वीकृति दिन्छ। यस मामिलामा हरेकपटक उही क्रम दोहोरियो। म्याक्रोटेकले निवेदन दिन्थ्यो।
मलेसियाली दूतावासले पनि परीक्षण गरिएका श्रमिकको सङ्ख्या खुलाएर राष्ट्र बैंकलाई भुक्तानी ‘सहजीकरण’ गर्न पत्र लेख्थ्यो। श्रम मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा सिफारिस गर्थ्यो, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले स्वीकृति दिन्थ्यो र लक्ष्मी सनराइज बैंकको खाताबाट टिटी (टेलिग्राफिक ट्रान्सफर) मार्फत बेस्टिनेटको मलायन बैंकिङ बरहाडको खातामा रकम पुग्थ्यो।
सीआईबीको पत्रको जवाफमा राष्ट्र बैंकले पनि यी रकमान्तर भएको र तिनले ७ लाख ५० हजार ९८८ श्रमिकको स्वास्थ्य परीक्षण समेटेको पुष्टि गरेको छ। एक अनुसन्धान अधिकृतका अनुसार राष्ट्र बैंकले कागजातको सत्यतथ्य जाँच नगरी अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा पठाउन स्वीकृति दियो। यद्यपि सम्बन्धित मन्त्रालयको पत्र पाएपछि राष्ट्र बैंकले पैसा पठाउने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसियाली दूतावासका पत्र कूटनीतिक मर्यादाभन्दा बाहिर गएर पठाइएका थिए। २०८२ को अनुगमन प्रतिवेदनले पनि विदेशी दूतावासले नेपालमा शुल्क तोक्ने र केन्द्रीय बैंकलाई निजी कम्पनीको भुक्तानीका लागि अनुरोध गर्ने कानुनी आधारमाथि प्रश्न उठाएको थियो। दूतावासका भनिएका पत्रको आधिकारिकतासमेत अझै यकिन हुन बाँकी रहेको सीआईबीको भनाइ छ।
कसका पालामा कति रकम गयो मलेसिया?
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम २०७६ सालदेखि मलेसिया लैजान थालिएको थियो र यसको सुरुवात तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले गरे। ‘यादव श्रममन्त्री भएका बेला पहिलोपटक २०७६ माघ १५ मा मन्त्रीस्तरीय निर्णय गरी रकम मलेसिया लैजान स्वीकृति दिएको देखिएको छ,’ अनुसन्धानमा सङ्कलन भएको दस्ताबेज भन्छ।
तत्कालीन मन्त्री यादवको सोही निर्णयका आधारमा उनको पालामा चारपटक रकम मलेसिया गयो- २०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउन्ड, चैत १० मा २ लाख ४८ हजार पाउन्ड, २०७७ जेठ १९ मा २ लाख ४५ हजार ९४६ पाउन्ड र साउन १२ मा २ लाख १३ हजार ६५८ अमेरिकी डलर। अन्तिम रकमान्तर दूतावासको सन् २०२० जुन १६ को पत्रसँग जोडिएको छ, जसमा फेब्रुअरी १३ देखि २९ सम्म मात्र ११,८२८ श्रमिकको परीक्षण भएको भनिएको थियो।
त्यसपछि श्रममन्त्री भए- गौरीशङ्कर चौधरी, विमलप्रसाद श्रीवास्तव र कृष्णकुमार (किसन) श्रेष्ठ। तर उनीहरूको पालामा भने रकम विदेश गएको देखिँदैन।
यही बीच म्याक्रोटेककै सञ्चालक तथा सेयरधनी खड्का र भट्टराईबीच विवाद बढ्यो। २०७९ जेठ ६ मा भट्टराईले अर्थ मन्त्रालयमा निवेदन दिए। उनले करिब ६०,००० श्रमिकको मेडिकल जाँचबाट उठेको १८ करोड ९८ लाख ४० हजार रुपैयाँ सनराइज बैंक, मेगा बैंक र एनसीसी बैंकमा रहेको, मलेसियाबाट नयाँ माग नआए पनि मेडिकल जारी रहेको र साझेदार खड्काले आफ्नो सहमतिबिना त्यो रकम मलेसिया पठाउन लागेको भन्दै रकम रोक्का गर्न माग गरे।

भट्टराईको उजुरीमा सुनुवाइ र अनुसन्धान भएन। बरु तीन महिनापछि रकमान्तर फेरि सुरु भयो। त्यहीबीचमा श्रममन्त्री भएर आएका थिए- शेरबहादुर कुँवर। उनको पालामा पाँचपटक रकम मलेसिया गयो- २०७९ भदौ १४ मा १ लाख ३५ हजार ३७५ डलर, असोज ११ मा ६ लाख ६६ हजार ९३६ डलर, कात्तिक २४ मा ७ लाख ३५ हजार ८०३ डलर र मङ्सिर १६ मा ७ लाख ८० हजार ९८९ पाउन्ड।
कुँवरको मन्त्रीका रूपमा अन्तिम दिन पनि रकम ट्रान्सफर भएको थियो। देउवा नेतृत्वको सरकार हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री बनेकै दिन पुस ११ मा १७ लाख ४९ हजार ३०९ पाउन्ड ट्रान्सफर गरिएको थियो। सीआईबीका अनुसार यादव र कुँवर दुवैले दुई–दुईपटक मन्त्रीस्तरीय निर्णय गरेर रकम पठाउने स्वीकृति दिएका थिए।
कुँवरपछि २०७९ माघ ३ मा श्रममन्त्री बने डीपी अर्याल। उनी मन्त्री बनेको दुई दिनपछि नै माघ ५ मा ९ लाख २५७ डलर मलेसिया गयो। यसका लागि नयाँ निर्णय गरिएको थिएन। बरु कुँवरकै पालाको निर्णयअनुसार रकम पठाउन राष्ट्र बैंकलाई पत्र लेखिएको छ।
अर्याल २२ दिनमै पदबाट हटे। उनले राजीनामा दिएपछि पनि २०७९ फागुन १५ मा १७ लाख १ हजार ५८२ डलर मलेसिया पठाउन मन्त्रालयबाट पत्राचार भएको पाइएको छ, जतिबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए।
त्यसपछि श्रममन्त्री भए शरतसिंह भण्डारी। उनको पालामा पाँचपटक रकम मलेसिया गयो- २०८० वैशाख ११ मा १५ लाख ९९२ डलर, साउन २ मा ७ लाख ८८ हजार ८४ डलर, कात्तिक २ मा ५ लाख ५२ हजार २१५ डलर र माघ ९ मा ४ लाख ८४ हजार ५४४ डलर। उनले अलग्गै निर्णय नगरे पनि अघिल्ला मन्त्रीको निर्णयकै आधारमा रकम पठाइरहेको सीआईबीको भनाइ छ।
एक वर्ष एक महिनापछि २०८० फागुन २३ मा अर्याल श्रममन्त्री भएर फर्किए। २०८१ असार ३१ सम्म उनी श्रममन्त्री हुँदा थप दुईपटक रकम गयो- २०८१ वैशाख २४ मा ६ लाख ५४ हजार ३९० डलर र जेठ ९ मा ३६ हजार ५९९ डलर।
अन्तिम रकमान्तर सन् २०२४ अप्रिलमा परीक्षण गरिएका २,२३९ श्रमिकबापतको थियो। सोही दिन दूतावासले राष्ट्र बैंकलाई पत्र लेखेर त्यही सङ्ख्या पुष्टि गर्यो र मे २०२४ देखि भने मलेसियाले श्रमिक भर्ना रोकेको जानकारी दियो। अर्यालको पालामा गएका तीनै रकमान्तर अघिल्ला मन्त्रीको निर्णयअनुसार भएको लेखिएको छ।
फाइल गायब, पूर्वमन्त्रीसहित ११ जना हिरासतमा
उजुरी थपिँदै गएपछि श्रम मन्त्रालयले २०८२ माघ २३ गते सहसचिव लवराज जोशीको नेतृत्वमा प्रहरी अधिकृतसमेत रहेको अनुगमन टोली बनायो। टोलीले ३६ वटै संस्थाको फाइल हेरेर २०८२ फागुन ५ गते प्रतिवेदन बुझायो र कैलाश खड्कालगायतकाले कमिसनको रकम हुन्डीमार्फत पनि मलेसिया पठाएको बुझिएको भन्दै सङ्गठित अपराध, ठगी, विदेशी मुद्रा अपराध र सम्पत्ति शुद्धीकरणमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न सिफारिस गर्यो। २०८३ भदौमा सीआईबीले राष्ट्र बैंकसँग रकमान्तरको विवरण मागेर थप अनुसन्धान गरिरहेको छ।
अहिले सीआईबीले तत्कालीन मन्त्रीहरूलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा सम्बन्धित फाइल नै मन्त्रालयबाट गायब भएको सीआईबी स्रोत बताउँछ। ‘अहिले दुई मन्त्रीले रकम मलेसिया लैजान भनेर गरेको निर्णय नै फेला परेको छैन। अपराध लुकाउन सरकारी कागजात नै नष्ट गरेको हुन सक्ने आशङ्का छ,’ एक अनुसन्धान अधिकारीले भने।

दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना अहिले हिरासतमा छन्। पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई भारतमा पक्राउ गरी बिहीबार मात्र काठमाडौँ ल्याइएको छ। तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि हिरासतमै छन्।
यसअघि सीआईबीले चारजनालाई पक्राउ गरेको थियो- कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र मलङ्गवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी। अनुगमन प्रतिवेदनमा रवीन्द्र केसी ‘ए क्वालिटी हेल्थ केयर डायग्नोस्टिक सेन्टर’ का सञ्चालक र मलेसियन भिसा सेन्टरका सहसञ्चालकका रूपमा उल्लेख छन्। अमिताभ बुद्ध मेडिकल सेन्टरका सञ्चालकको नाम पनि रामपुकार तिवारी उल्लेख छ। सबैमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
सीआईबीका अनुसार यसमा काठमाडौंस्थित मलेसियाली दूतावासका तत्कालीन अधिकारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न छन्, र कूटनीतिक सुविधाको समेत दुरुपयोग भएको छ।
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
प्रतिक्रिया 4