+

क्यामरुनको डफिन्स टिम फेमेली सामु आर्मी पराजित

२०७५ माघ  २१ गते १९:०१ २०७५ माघ २१ गते १९:०१
क्यामरुनको डफिन्स टिम फेमेली सामु आर्मी पराजित

२१ माघ, पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा कपमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले क्यामरुनको डफिन्स टिम फेमेलीसँग लज्जास्पद हार बेहोरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा मदन मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको त्रिभूवन आर्मी क्लवले क्यामरुनी टोलीसँग ४-१ को फराकिलो अन्तरको पराजय बेहोरेको हो । जितसँगै क्यामरुनी टिम सेमिफाइनमा प्रवेश गरेको छ ।

दोश्रो रोजाइका खेलाडीहरु मात्र मैदानमा उत्रिएको आर्मीबिरुद्ध क्यामरुनी क्लव डफिन्स टिम फेमेली एकतर्फी हावी भएको थियो ।

आर्मीका नवयुग श्रेष्ठ, भरत खवासलगायत सिनियर खेलाडी कोहिपनि मैदानमा उत्रिएका थिएनन् । क्यामरुनी टीमले पहिलो हाफमा १ गोल गर्‍यो भने दोश्रो हाफमा थप ३ गोल ठोक्यो । आर्मीले भने दोश्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गर्‍यो ।

क्यामरुनी क्लव डफिन्स टिम फेमेलीका लागि यानिक ओओनाले पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको निर्धारित ४५ मिनेट सकिएपछि थपिएको दुई मिनेट सकिनै लाग्दा इक्वेमको पासमा पेनाल्टी एरियामा अनमार्क रहेको यानिकले गोल गरेका हुन् ।

पहिलो गोल गरेपछि हौसिएको क्यामरुनी टिमले दोश्रो हाफमा आर्मीबिरुद्ध थप आक्रमक रुपमा प्रस्तुत भयो । एकपछि अर्को गर्दै आक्रमण बुनेको क्यामरुनी टिमले खेलको ६० मिनेटमा अग्रता दोब्बर बनायो ।

क्यामरुनी टिमका लागि यानिकले नै दोश्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । पेनाल्टी एरियामा रहेका उनले डिडेर टिनाको क्रसमा गोल गरेका हुन् ।

खेलको ६८ मिनेटमा गोल गर्दै क्यामरुनी टिमले अग्रता तेब्बर बनायो । यसपटक क्यामरुनी खेलाडी अर्मेल अहाण्डाले एक्लो प्रयासमा गोल गरे ।

उनले बिपक्षी आर्मीका ३ डिफेन्डरलाई छक्याउँदै सेकेण्ड बारमा गरेको कडा प्रहार गोलमा परिणत भयो । क्यामरुनले चौथो गोल भने खेलको निर्धारित समय ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा गर्‍यो ।

क्यामरुनका लागि थपिएको समयको पहिलो मिनेट ९० प्लस १ मिनेटमा ओको बोटाले गोल गरे । पेनाल्टी एरिया नजिक अनमार्क रहेका उनले फष्र्टबार च्याप्दै सजिलै जाली चुमाए ।

तुलनात्मक रुपमा पहिलो हाफ भन्दा दोश्रो हाफ निकै निरिह खेलेको आर्मीका लागि विवेक बस्नेतले सान्त्वना गोल गरे । उनले निर्धारित ९० मिनेट सकिएपछि थपिएको ५ मिनेटको चौथो मिनेटमा आर्मका लागि गोल गरेका हुन् ।

खेलमा क्यामरुनी टिमले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्यो । खेलको २९, ३९, ६६, ७९ र ८८ मिनेटमा गोल गर्ने सुनौलो मौका पाएपनि क्यामरुनले सदूपयोग गर्न नसकेको हो ।

आर्मीले पनि दोश्रो हाफको ५९, ७२ र ७५ मिनेटमा गोल गर्ने अवसर सृजना गरेपनि गोलमा परिणत गर्न असफल भयो ।

सोमबारको खेलमा क्यामरुनी टीमका लागि २ गोल गर्ने यानिक ओअना म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ६ हजारसहित ट्रफी प्रदान गरियो ।

प्ा्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लवबिरुद्ध जापानको रिस्सो युनिभर्सिटी प्रतिष्पर्धामा उत्रिनेछ ।

कास्की जिल्ला फुटवल संघ -एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, बि्रगेड ब्वाईज क्लव रहेका छन् ।

त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई सात लाख ५५ हजार रुपैयाँ र उपबिजेतालाई चार लाख पाँच हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय