१३ मंसिर, काठमाडौं । श्रीलंकाले दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । यससँगै सात खेलको श्रृखलामा घरेलु टोलीले २-० को अग्रता लिएको छ ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ओपनर मोइन अलीलाई २ रनमै गुमायो । पानीका कारण ४५ ओभरमा घटाइएको खेलमा अलराउन्डर रवी बोपाराले ५१ रन बनाउँदा इंग्ल्याण्ड ४३ ओभरमा सबै विकेट गुमाएर १८५ रनमै समेटियो ।
पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका अजन्था मेन्डिसले ३ तथा तलकरत्ने दिलशान र प्रसादले समान २-२ विकेट लिए ।
जवाफमा दुई भेट्रान ब्याटसम्यान माहेला जयवर्दने र कुमारा सागांकाराले तेस्रो विकेटका लागि अविजित १४९ रनको साझेदारी गरेपछि श्रीलंकाले ३४.२ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
श्रीलंकाका लागि जयबर्दनेले अविजित ७७ रन बनाए भने सागांकाराले ६७ रनमा नटआउट रहे ।
इंग्ल्याण्डका मोइन अली र स्टीभ फिनले समान १-१ विकेट लिए ।
प्रतिक्रिया 4