नेपालको इतिहासमा रुचि हुनेका लागि जोन ह्वेल्पटन परिचित नाम हो । नेपालको इतिहासबारे उनका जंगबहादुर इन युरोपः द फस्ट नेप्लिज मिसन टु द वेस्ट (१९८३), किंग्स, सोल्जर्स एन्ड, पाइरेट्सः नेप्लिज पोलिटिक्स एन्ड द राइज अफ जंगबहादुर राणा (१९९१) तथा हिस्ट्री अफ नेपाल (२००५) लगायत पुस्तक चर्चित छन् ।
नेपालको इतिहासमाथि विद्यावारिधि बेलायती नागरिक जोन पछिल्लो ३५ वर्षदेखि हङकङ बस्दै आएका छन् । उनी अंग्रेजी र ल्याटिन भाषा शिक्षकका रूपमा पनि अद्यापि कार्यरत छन् ।
सोसल साइन्स वहाः को विद्वत् प्रवचन शृंखला ‘महेशचन्द्र रेग्मी लेक्चर’को यस वर्षको शृंखलामा भारत र चीनसँगको नेपालको ऐतिहासिक सम्बन्धबारे प्रवचन दिन गत साता जोन काठमाडौं आइपुगेका थिए ।
७४ वर्षीय जोनले काठमाडौंको होटल शंकरमा झन्डै डेढ घण्टा लामो प्रवचन दिएको पर्सिपल्ट उनीसँग नेपालको इतिहास, चीन र बेलायतसँगको नेपालको सम्बन्ध र जंगबहादुर राणाको विषय वरपर रहेर अनलाइनखबरका लागि यज्ञशले गरेको कुराकानीको सम्पादित अंश :
जंगबहादुर राणासँग जोडिएको एउटा विषयबाट सुरु गरौं । इतिहासलाई के भएको थियो मात्र नभई, त्यसो नभएको भए के हुनसक्थ्यो होला भन्ने कोणबाट पनि व्याख्या गर्ने गरिएको पाइन्छ । सन् १८५७ मा भारतमा बेलायत विरुद्ध भएको विद्रोहमा जंगबहादुरले आफैं अघि सरेर अंग्रेज सरकारलाई सहायता गरेका थिए । त्यो विद्रोहमा जंगबहादुरले अंग्रेजलाई साथ नदिएको भए के हुन्थ्यो होला ? नेपालको या यो क्षेत्रको इतिहास केही फरक हुनसक्थ्यो ?
फरक हुनसक्थ्यो । पहिलो कुरा के छ भने जंगबहादुरले त्यतिबेला अंग्रेजलाई समर्थन गरेकाले नै पछि ब्रिटिशले नयाँ मुलुकको भूभाग (कैलाली, कञ्चनपुर, बाँके र बर्दिया) नेपाललाई फिर्ता गरिदिएका थिए । त्यो युद्धमा नेपाल तटस्थ बसेको भए वा अंग्रेज विरोधीलाई साथ दिएको भए नेपालले यो भूभाग पाउने थिएन ।
जंगबहादुरले समर्थन नदिएको भए के हुन्थ्यो त ? मेरो अनुमानमा नेपालको समर्थन नपाएको भए ब्रिटिश त्यतिखेर पराजित हुने थिए तर आखिरमा भने ब्रिटिश विजयी नै हुनेथिए । तर, जंगको समर्थन नपाएको भए ब्रिटिशलाई विजय पाउन धेरै अप्ठ्यारो भने हुनेथियो ।
यसको मतलब जंगबहादुरको समर्थन ब्रिटिशका लागि धेरै नै महत्वपूर्ण थियो ?
निकै महत्वपूर्ण थियो । हुन त त्यतिखेर पनि भारतकै अन्य क्षेत्रका राज्यको सहयोग लिएर पनि ब्रिटिश विजयी हुनसक्थे । तर, नेपाली फौजले सहयोग गरेका कारण उनीहरूले सजिलै विद्रोहलाई दबाउन सके ।
लखनऊ युद्धमा अंग्रेजलाई सघाउन नेपाली टोली पुग्दा अवध राज्यका नवाव वाजेद अलि शाहका वफादारहरूले जंगबहादुरसँग आफूहरूलाई सघाउन अपिल गरेको र परिआएमा राजा नै बनाउन तयार रहेको भनेर प्रस्ताव गरेको पनि कतै उल्लेख भएको पाइन्छ । उनीहरूले धर्म, संस्कृतिको पनि कुरा गरेका रहेछन् । तर, जंगबहादुर किन तयार भएनन् ?
यो प्रस्ताव बारे त मलाई धेरै जानकारी छैन । तर, जंगबहादुरको सिद्धान्त चाहिं आफ्नो फाइदा हेर्ने भन्ने नै थियो, जुन त्यतिबेला नेपालको फाइदा हुन पुग्यो । मेरो विचारमा उनले आफ्नो र देशको स्वार्थ छुट्याउन सकेका थिएनन् । मेरो परिवार र मेरो फाइदा नै नेपालको फाइदा हो भन्ने उनलाई थियो । सबै राणाहरूले त्यही नै सोच्थे जस्तो मलाई लाग्छ ।
यो युद्धपछि, उन्नाइसौं शताब्दीको अन्त्यतिर ब्रिटिशहरूले आफू-आफू बीच गरेको पत्र व्यवहारबाट पनि के थाहा हुन्छ भने ब्रिटिशले त्यतिबेलासम्म नेपाललाई पूर्ण स्वतन्त्र राष्ट्रका रूपमा स्वीकारेको थिएन । जस्तो कि, लर्ड कार्सनले लेखेका थिए- नेपाल्स स्टेट इज सम हाउ लाइक स्टेट अफ हैदरावाद एन्ड अफगानिस्तान ! (नेपाल राज्यको स्थिति भनेको हैदरावाद र अफगानिस्तानको बीचको जस्तो छ ।)
अफगानिस्तान पूर्ण रूपमा स्वतन्त्र थियो र हैदरावाद पूर्णतः उनीहरूको अधीनमा थियो । यसको अर्थ ब्रिटिशको भनाइमा नेपाल बेलायतको उपनिवेश त होइन तर पूर्ण रूपमा स्वतन्त्र राष्ट्र पनि होइन भन्ने थियो । जंगबहादुरले त्यत्रो साथ दिंदा पनि यसमा परिवर्तन भएको थिएन । पछि चन्द्रशमशेरको पालामा १९२३ मा आएर बल्ल पूर्ण स्वतन्त्र राष्ट्र मानेको देखिन्छ । यस विषयमा कनकमणि दीक्षितले आयोजना गरेको सम्मेलनमा मैले जुमबाट एउटा प्रिजेन्टेसन पनि दिएको थिएँ ।
इतिहासलाई फर्केर हेर्दा, नेपाल र अंग्रेजबीचको सम्बन्ध कहाँबाट सुरु भएको मान्न सकिन्छ ?
सीधै सम्पर्क पृथ्वीनारायण शाहको समयमा भएको देखिन्छ । तपाईंले किन्लकको नाम सुन्नुभएको होला । पृथ्वीनारायण शाहको उपत्यका आक्रमणका क्रममा वि.सं. १८२३ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले इष्ट इण्डिया कम्पनीसँग पृथ्वीनारायाण शाह विरुद्ध लड्न मद्दत मागे ।
मल्ललाई सघाउन कम्पनीले क्याप्टेन जर्ज किन्लकको नेतृत्वमा सेना पठायो । तर, किन्लकको फौजलाई पृथ्वीनारायण शाहको फौजले पराजित गरिदियो । टम बेल लगायतका केही अध्येताले किन्लकले फेरि फौज लिएर दोस्रो आक्रमण गरेको भए विजय पाउन सक्ने थिए भनेका छन् ।
यस विषयमा इतिहासकारहरू बीच भिन्न मत छ । किनभने, पराजित भएर गएपछि किन्लकले ‘अझै ठूलो सेना र स्रोत देऊ, म फेरि लड्न जान्छु’ भनेर प्रस्ताव गरेको तर इष्ट इण्डिया कम्पनीले उनको प्रस्तावलाई स्वीकार नगरेको पनि उल्लेख पाइन्छ । त्यो युद्धपछि नेपाल र कम्पनीको सम्बन्ध विभिन्न किसिमले अघि बढ्दै गएको देखिन्छ ।
खासगरी ब्रिटिशको रुचि त्यसबेला तिब्बत र ट्रान्स हिमालयन ट्रेडमा बढी थियो । बेलायतले चीनबाट चिया लगायतका सामग्री लैजाने गरेको थियो । त्यतिबेला चीनलाई भने अन्तर्राष्ट्रिय व्यापारमा खासै रुचि थिएन । चीन आफैंमा पूर्ण र सम्पन्न छौं भन्ने मान्थ्यो । चीनमा एउटा चाखलाग्दो एक्सप्रेसन छ, यसबारे मैले लेक्चरमा पनि उल्लेख गरेको थिएँ-टिन हा । यसको अर्थ ‘अन्डर हेभन’ भन्ने हुन्छ । उनीहरू चीनलाई अन्डर हेवन भन्थे ।
तर, जुन समयमा बहादुर शाहले भोट (तिब्बत) माथि आक्रमण गरे, त्यसबेला चीनले तिब्बतलाई सहायता गर्न ठूलो ‘एक्सपिडिसन’ हिमालयपार पठाएको थियो ।
त्यतिबेला बहादुर शाहले चीनसँग लड्न इष्ट इण्डिया कम्पनीसँग मद्दत मागेका थिए । तर, पाएनन् होइन ?
हो, पाएनन् । किनभने, ब्रिटिशहरू चीनलाई चिढ्याउन चाहँदैनथे । उनीहरूको मुख्य उद्देश्य चीनसँगको व्यापार थियो । इष्ट इण्डिया कम्पनी भनेको एउटा कमर्सियल कम्पनी थियो । यसको उद्देश्य नै पैसा कमाउने थियो । यता स्वामीजी महाराज रणबहादुर शाहले बनारस गएपछि इष्ट इण्डिया कम्पनीबाट केही ‘मेन्टिनेन्स ग्रान्ट’ पाएका थिए । तर, उनले र दामोदर पाण्डेहरूले इष्ट इण्डिया कम्पनीको मद्दत माग्न चाहेका थिएनन् भन्ने पनि मत छ ।
मैले यसबारे आफैंले अनुसन्धान गरेको छैन । यो जीवन सीमित छ, समय सीमित छ, पैसा पनि सीमित छ । त्यसैले कहिले अनुसन्धान गर्न सक्छु भन्न सक्दिनँ । लियो रोजका अनुसार रणबहादुरले बेलायतसँग हात मिलाउन चाहेका थिएनन् बरु काठमाडौंमा शक्तिशाली भएका उनका दुश्मनहरूलाई कमजोर बनाउन मात्रै चाहेका थिए । पछि रणबहादुर काठमाडौं फर्किएपछि भीमसेन थापा शक्तिशाली भए ।
ब्रिटिशसँग युद्ध पनि भयो । यो युद्धमा भीमसेन थापाले हामीहरू ब्रिटिशसँग हट्नुहुँदैन, नत्र बेलायतले सबै कब्जा गर्छ भने । त्यतिबेला ब्रिटिशले कुमाउ भएर भोट जाने बाटो खोज्दै थियो । व्यापारका लागि भूमि मात्रै नभई बाटो पनि चाहिन्छ । बेलायत संसारभर व्यापार फैलाउँदै थियो । त्यतिबेला कहाँसम्म नेपालको जमिन, कहाँसम्म इष्ट इण्डियाको भन्ने प्रस्ट थिएन । यो विवादको कारण थियो, जसले गर्दा युद्ध भएको थियो । यो युद्धपछि बेलायतले कुमाउलाई आफ्नो कब्जामा लियो, काठमाडौंमा रेजिडेन्ट राख्यो ।
साम कोयनले यो युद्धबारे लामो लेखेका छन् । यो युद्धको अन्त्यमा नेपालीले चीनको सहयोग मागेका थिए । चीनका बादशाहले इष्ट इण्डिया कम्पनीलाई चिठी पठाएका थिए– ‘वि विल बी ग्रेट्ली अब्लाइज इफ यु सी नट टु पुट द रेसिडेन्ट दियर’ भनेर ।
तर, यसको भाषा एकदम नरम थियो । चीनका बादशाह यसबारे चिन्तित छैनन् भनेर ब्रिटिशहरूलाई थाहा थियो । त्यसैले ब्रिटिशले जवाफ पठाए– ‘ओके, वि विल विथ ड्र आवर रेसिडेन्ट इफ यु विल सेन्ड योर रेसिडेन्ट’ । अनि चिनियाँ बादशाहले जवाफ पठाए– ‘द्याट उड नट वि नेसेसरी ।’
यसरी हेर्दा नेपालले चीन-भोटसँगको युद्धमा इष्ट इण्डिया कम्पनीको मद्दत माग्दा पाएन । अनि इष्ट इण्डिया कम्पनीसँग चीनको मद्दत माग्दा त्यहाँबाट पनि मद्दत पाएन । दुइटैसँग नेपालले युद्ध चाहिं लड्यो तर सहयोग कसैले पनि गरेन ।
हो । नेपालको दुवैसँग युद्ध पनि भयो । र, दुवैसँग मद्दत माग्दा नपाएको पनि ठिक हो । यसको मुख्य कारण के थियो भने चीनसँग युद्ध गर्न बेलायतको रुचि थिएन । यसबारे कुरा गर्दा अलि अगाडि पुग्नुपर्छ, जुन बेला भोट आफैं एउटा साम्राज्य थियो । र, चीनले हिमालयको उतापट्टि के हुन्छ भन्ने कुरामा खासै चिन्ता लिएको थिएन ।
त्यसैले बहादुर शाहले भोटमा आक्रमण नगरेको भए चीन–नेपाल युद्ध हुने थिएन । त्यतिबेला बेलायत चीनसँग आफ्नो व्यापार बढाउन चाहिरहेको थियो, चीन आफ्नै साम्राज्य बलियो बनाउन चाहन्थ्यो । यो दुवै कुराका लागि भोट महत्वपूर्ण भूमि थियो । नेपालसँग चीनको धेरै ठूलो स्वार्थ थिएन ।
१८५७ को विद्रोहअघि एङ्लो–शिख युद्धका बेला पनि नेपालले बेलायतलाई सघाउन खोजेको थियो ?
जंगबहादुर राणाका छोरा पद्मजंग राणाका अनुसार त्यतिबेला जंगबहादुर र गगनसिंहले अंग्रेजलाई सहयोग गर्नुपर्छ भन्ने मत राखेका थिए । दरबारका अन्य भारदारहरू यसको विपक्षमा थिए । त्यतिबेलाका दरबारभित्रका कुराहरू दर्शाउने धेरै कागजपत्र र अभिलेखहरू भेटिंदैनन् पनि ।
भीमसेन थापाले अंग्रेजसँग युद्ध लडे । बेलायत जान भनेर हिंडेका माथवरसिंह थापा कलकत्ताबाटै फर्किए । जंगबहादुरचाहिं बेलायत पुगे । ब्रिटिशसँगको खराब सम्बन्धलाई जंगबहादुरले सुधारेको देखिन्छ । यो नेपालको हितमा भएको देखिन्छ कि जंगबहादुरको आफ्नो हितमा मात्रै थियो ?
भीमसेन थापाको कुरा हामीले गरिसक्यौं । माथवरको समयमा के भएको थियो भने हड्सनको अनुमानमा थापाहरू नेपाल दरबारमा आफ्नो शक्ति बढाउनका लागि बेलायतसँग नजिक हुन चाहन्छन् भन्ने थियो । त्यसैले माथवर आए पनि उनीसँग कुनै किसिमको सन्धि सम्झौता हुनेवाला थिएन । लियो रोजको सिद्धान्त अनुसार नेपाल दरबारमा भीमसनेका विरोधीहरूलाई हड्सनले सहयोग दिएका थिए ।
भीमसेनले पनि आफ्नो स्थान अलि कमजोर हुने बेलामा बाहिरको मद्दत खोजेका थिए । अहिले पनि बाहिरको मद्दत खोज्छन् नि नेपालका राजनीतिज्ञहरू । पछि रणजंग पाण्डेहरू बलियो भए । उनीहरूलाई हड्सनले मद्दत गरेका थिए । तर, उनीहरू पनि खासमा बेलायतको विपक्षमै थिए ।
त्यसैले लियो रोजले भनेका छन्– ‘हड्सनले जसलाई मद्दत गरे, ती पनि बेलायतका मित्र थिएनन् ।’ पछि १८४० पछि बेलायतले ‘नन इन्टरभेन्सन’को नीति लियो । तर, नेपालमा भने बेलायत त्यसरी अलग्गै बस्छ भनेर पत्याइएको थिएन । आफू बलियो हुनलाई बेलायतसँग हात मिलाउने प्रयास भइरहेका थिए । त्यतिबेला पाण्डेहरू बाहेक सबै पक्षले रेजिडेन्ट लरेन्ससँग एलायन्स बनाउन चाहेका थिए ।
अर्को चाखलाग्दो कुराचाहिं के छ भने, माथवरसिंह थापा आफैंले नेपालीहरूका बीचमा हड्सन मेरो साथी हो भनेर भन्थे । एउटा वंशावलीमा लेखे अनुसार माथवरसिंह थापाले ‘मैले नै लरेन्सलाई काठमाडौं पठाउनुस् भनेकाले उनी आएका हुन्’ भन्ने दाबी गरेका थिए ।
खासमा त्यस्तो चाहिं थिएन । तर, यस्ता कुराहरूले के भइदियो भने नेपालीहरूमा कहिले बेलायतले र कहिले भारतले हस्तक्षेप गर्छ भन्ने भावना भइरह्यो, अहिलेसम्म पनि छ । माथवरको हत्या हुने समयमा पनि बेलायतले उनलाई मद्दत गरेको थिएन । र, उनको हत्यामा पनि बेलायतको हात थिएन । लरेन्स केवल अवलोकनकर्ता मात्रै थिए । माथवरले शिमलामा रहँदा बेलायतसँग मद्दत मागेका थिए ।
पछि उनी आफू सुरक्षित भएको ठानेर काठमाडौं फर्किए तर उनी सुरक्षित थिएनन् । लरेन्सको सहानुभूति थियो माथवरसिंह प्रति तर हड्सनले जस्तो सहयोग गर्ने उनले गरेका थिएनन् । राणाशासनको सुरुमा पनि बेलायतीहरू जंगबहादुर बारे सशंकित थिए । एउटा चिठी छ, ब्रिटिस रेसिडेन्सीको कारिन्दाले दार्जीलिङमा भएका हड्सनलाई लेखेको ।
हड्सनको त्यो बेला कुनै औपचारिक स्थान थिएन तैपनि उनले सबै कुरा हेरिरहेका थिए । त्यो कारिन्दाले कोत पर्वको दुई–तीन दिनपछि लेखेको चिठीमा ‘जुन मानिसहरू मारिएका छन्, ती धेरैजसो बेलायतका साथीहरू हुन्’ भनेर लेखेको छ । यसबाट पनि जंगप्रति बेलायतको पूर्ण विश्वास थिएन भन्ने बुझिन्छ ।
तर, जंगबहादुरले ब्रिटिशलाई म सहयोग पुर्याउन सक्छु भनेर विश्वास दिलाए । उनी बेलायतको साथी बन्ने प्रयास गरिरहेका थिए । म १९८२–८३ मा भारतको अभिलेखालयमा काम गर्दै थिएँ । त्यहाँ बेलायतीले जंगबहादुरलाई ‘हिज एक्सिलेन्सी’ लेखेको भेटेको थिएँ । र, त्यसमा कसैले आश्चर्य मानेर नीलो मसीले अन्डरलाइन गरेको थियो । किनभने, त्यसअघि बेलायतले जंगलाई हिज एक्सिलेन्सी भनेको थिएन ।
जंगबहादुरलाई विश्वास चाहिं कसरी गर्यो बेलायतले ?
सन् १८४७–४८ तिर एङ्ग्लो–शिख युद्धमा जंगबहादुरले सिपाही पठाउने प्रस्ताव गरे पनि बेलायतले लिएको थिएन । किनभने, उनीप्रति पूर्ण विश्वास थिएन । र, अर्कोचाहिं कम्पनीले सकेसम्म एक्लै जित्न चाहन्थ्यो । नेपालमा चाहिं के भएको थियो भने विस्तारै काठमाडौं दरबारमा जंगबहादुरका विरोधी नै कोही पनि नहुने स्थिति भयो । कोही मारिएका थिए, कोही भागेका ।
उनको हातमा पूर्ण शक्ति थियो । उनको कुरा चित्त नबुझे पनि मान्छेले भन्न सक्ने स्थिति थिएन । उनको विरोध गरेर कोही सुरक्षित रहनसक्ने स्थिति थिएन । बेलायतले उनलाई ‘डिक्टेटर’ कै रूपमा लिएको थियो । उनका विरोधी नै नभएपछि बेलायतले उनको कुरा सुन्नै पर्ने स्थिति आयो ।
भीमसेन थापाको समयमा जस्तो बेलायतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने नीति पनि थिएन । त्यसैले जंगबहादुरको प्रस्ताव उनीहरूले स्वीकार गरे । सन् १८५० मा जंगबहादुर लन्डन पुगे । त्यसको ७ वर्षपछि भारतमा भएको विद्रोहलाई दबाउन मद्दत गरेपछि उनी बेलायतको प्रिय बने ।
जंगबहादुरको बेलायत यात्रा त्यो समय र राजनीतिका लागि निकै महत्वपूर्ण परिघटना थियो होइन ? दक्षिणएशियाको यो क्षेत्रबाट बेलायत जाने सरकार प्रमुख उनी नै पहिलो थिए, होइन ?
त्यो भ्रमण महत्वपूर्ण थियो । त्यसबेलासम्म व्यक्तिगत रूपमा त दक्षिणएशियाबाट मानिसहरू युरोप पुगेका थिए । एक जना मोतिलाल सिंह भन्ने नेपाली नै लन्डनमा स्विपरको काम गरेर बसेको पाइन्छ । उनले जंगबहादुरको बेलायत यात्रामाथि बेलायती पत्रिकामा लेख पनि लेखेका छन् ।
तर, राजा वा राज प्रतिनिधिका रूपमा त्यसरी बेलायत जाने जंग नै पहिलो हुन् । लन्डनवासीहरूले जंगबहादुरलाई निकै चाख लिएर हेरेका थिए भन्ने मोतिलाल सिंहले पनि लेखेका छन् । कृष्ण अधिकारीले मोतिलालका सन्ततिबारे खोज गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् ।
उनले बेलायती अखबारमा प्रकाशित लेखमा आफू भादगाउँबाट गएको भनेका छन् । उनका सन्ततिहरू नेपालमा हुनसक्छन् । तर, नभेटिएकाले उनले नै त्यो लेख लेखेका हुन् वा घोस्ट राइटिङ गरिएको थियो वा कुनै बेलायतीले नै बदमासी गरिदिएको थियो कि भन्ने आशंका पनि छ । किनभने, त्यो निकै राम्रो अंग्रेजीमा लेखिएको छ ।
तपाईं जंगबहादुरलाई मूल्यांकन गर्दा उनको त्यसबेलाको भूमिकालाई कसरी लिनुहुन्छ ?
मैले अघि नै भने जस्तो उनको मनमा आफ्नै स्वार्थ, परिवारको स्वार्थ र देशको स्वार्थमा ठूलो अन्तर थिएन । त्यसैले उनले सबैलाई एकै ठानेर काम गर्थे, आफ्नो स्वार्थ नै देशको स्वार्थ । उनी क्रूर थिए, मान्छे मार्न तयार रहन्थे । चलाख पनि थिए । उनले त्यो समयमा जुन किसिमले बेलायतसँग मिल्ने नीति लिए त्यसको कुनै विकल्प पनि थिएन होला । किनभने, उनले बेलायतलाई सहयोग दिएर नजिक नगएको भए नेपालको स्वतन्त्रतालाई ठूलो खतरा हुनेथियो ।
विदेशी विद्वान्हरूले जंगबहादुरको फरक-फरक ढंगले मूल्यांकन गरेको पाइन्छ । कार्ल मार्क्सले त जंगबहादुरलाई बेलायतको कुकुर भनेर नै लेखेका छन् !
कार्ल मार्क्सले बेलायती साम्राज्यवादको विरोध गर्ने क्रममा त्यो कुरा लेखेको हुनुपर्छ । जंगबहादुर बेलायतसँग मिलेको कुरालाई उनले मालिकमा आश्रित भन्ने तरिकाले लेखेका होलान् । मेरो विचारमा त्यो मूल्यांकन उचित होइन । सायद, मार्क्सलाई त्यतिबेलाको नेपालको परिस्थितिबारे धेरै जानकारी थिएन पनि होला ।
प्रतिक्रिया 4