२९ वैशाख, काठमाडौं । भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुददेखि लिगामेन्टको चोट झेलिरहेका राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर थप उपचारका लागि आज बेल्जियम जाँदैछन् ।
साग गेम्सको फुटवल तर्फ सेमिफाइनलमा माल्दिभ्स बिरुद्धको खेलमा स्ट्राइकर बिमलको बायाँ खुट्टामा चोट लागेको थियो । त्यस प्रतियोगिताको फाइनलमा उनले भारतबिरुद्ध पेन किलर लिएर खेलेका थिए । त्यसयता लिगामेन्टको चोट झेलिरहेका उनको उपचार राष्ट्रिय टोलीका फिजियो सुरज भुसालले गरिरहेका थिए ।
स्तरीय उपचारका लागि एजेन्ट रिगार्ड लुईसको संयोजनमा बेल्जियम जान लागेको स्ट्राइकर विमलले अनलाइनखवरलाई जानकारी दिए । आतेजातेसहित लिगामेन्टको उपचारमा लाग्ने सम्पूर्ण खर्च उनै एजेन्टले व्यहोर्नेपनि बिमलले जानकारी दिए । साग लगत्तै स्पेनको एकेडेमी क्लवले प्रशिक्षण तथा ट्रायलका लागि बोलाउँदा विमल चोटकै कारण जान सकेका थिएनन् ।
बेल्जियममा उपचार गरेपछि उनले युरोपकै क्लवहरुबाट फुटबल खेल्ने संभावना छ । उनका एजेन्टले प्रशिक्षण तथा व्यवसायिक फुटबलका लागि पनि कुरा गरिरहेका छन् । तर कुन मुलुकका कुन क्लवसँग कुरा भइरहेको बारे भने उनले बेल्जियम पुगेपछिमात्र थाहा हुने बताए ।
प्रतिक्रिया 4