३२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले आफु मातहातमा रहेका निश्क्रिय ७ खेलसंघको दर्ता खारेज गरेको छ ।
परिषदमा दर्ता भएयता कुनैपनि गतिविधि नगरेका नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सलआर्ट संघ, नेपाल फ्युजन मार्सलआर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागूपदार्थ तथा एड्स संघ र नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको राखेपले जनाएको छ ।
दर्ता भएएता १ पटकपनि साधारणसभा नगरेको र कुनैपनि खेल गतिविधि नगरेको पाइएपछि यी संघहरु कारबाहीमा परेका हुन् । राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनको कार्यन्वयन स्वरुप पहिलो चरणमा यी संघहरु खारेज गर्ने निर्णय भएको राखेप सदस्यसचिवका प्रेस सल्लाहकार रोयिहत दाहालले जानकारी दिए ।
गत पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय राष्ट्रिय संघ छानविन समिति गठन गरिएको थियो । करिव चार महिना लगाएर समितिले राष्ट्रिय संघहरुको सक्रियता र बिबादबारे अनुसन्धान गरेको थियो । फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८,आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७ तथा कर्पोरेट संघ २०६३ सालमा राखेपमा दर्ता भएका थिए ।
परिषदमा दर्ता भएका तर कुनै गतिविधिमा संग्लग्न नरहेका झोले संघलाई कारबाही गर्ने प्रतिबद्धता राखेप सदस्यसचिवले पटक पटक गर्दै आएका थिए । त्यसैको पहिलो चरण अन्तर्गत सात संघ कारबाहीमा परेको राखेपले जनाएको छ ।
प्रतिक्रिया 4