२० साउन, काठमाडौं । एसिया कप छनोटको दोस्रो चरणका लागि दक्षिण कोरिया जाने नेपाली फुटबल टिममा छनौट भएपछि नारायण मानन्धरलाई धेरै आफन्त र साथीभाइले उतै लुक्न सुझाएका थिए । उनको भनाइ मान्ने हो भने देशका लागि राम्रो खेल्नु भनेर शुभकामना दिनेभन्दा उतै लुक्नु र टन्न पैसा कमाउनु भनेर सुझाव दिने धेरै थिए ।
एकातिर बल्झिइरहने घुँडाको चोट, अर्कोतिर करिअरको उत्तरार्धको समय । उनलाई पनि आफ्नो भविष्यको चिन्ताले पिरोलिइरहेको बेला थियो ।
त्यसैले घर छोड्नु अघि परिवारलाई उनले भने, ‘मेरो भर छैन है !’
असमञ्जसताका बीच कोरिया उडेका नारायणले दुई खेल नियमित रुपमा खेले । पहिलो खेलमा ओमानसँग ७–० र दोस्रो खेल भियातनामसँग ५–० ले नेपाल हार्यो । यसबाट उनमा फ्रस्टेसन आउनु स्वाभाविक थियो । त्यसमा पनि साथीभाइले भनेका कुरा कानमा गुञ्जिइरहेको थियो– पैसा कमाउनु छ भने उतै लुक् ।
काठमाडौंको झोँछेमा रहेको ‘पानी चुहुने झुप्रो’बाट परिवारलाई निकाल्नुपर्ने दायित्व सम्झिए, हुर्कंर्दै गरेकी तीन वर्षकी छोरीलाई उज्वल भविश्य दिनुपर्ने जिम्मेवारी सम्झिए ।
अनि फुटबलमा हुने राजनीति र घुँडाको चोटसमेतलाई सम्झिएर उनले उतै लुक्ने निर्णय लिए । तर, यसो गर्दा आफ्नो देशको प्रतिष्ठामा पुग्ने आघातलाई भने उनले बिर्सिए ।
नजिकका टिममेट शुक्र तामाङ र दीपक लामासँग छलफल गरी नारायण दक्षिण कोरियामै लुके । टिमका प्रमुख तीन सदस्य नै अनुपस्थित भएपछि नेपालले दक्षिण कोरियासँग १६–० को पराजय व्यहोर्यो । त्यो नेपाली फुटबलमा अहिलेसम्मकै खराव नतिजा हो ।
कोरियामा लुकेको झण्डै १४ वर्षपछि तत्कालीन नेपाली राष्ट्रिय फुटबल टोलीका लेफ्ट ब्याक नारायण हालै मात्र नेपाल ‘ब्याक’ भएका छन् ।
झोँछेमा बुबाले सञ्चालन गर्दै आएको किराना पसलमा बसेर अनलाइनखबरसँग पछिल्लो १४ वर्षका कुरा गर्दैगर्दा नारायण केहि भावुक बने ।
झोँछेको दुई कोठे झुप्रोबाट परिवारलाई सोह्रखुट्टेमा ‘विल्डङ’मा सार्न पाउँदा ‘सपना साकार’ भएको उनको विश्लेषण थियो । ‘फुटबल नै खेलिरहेको भए मैले यो उपलब्धि जीवनभर पाउने थिइनँ’, उनले गर्वसाथ भने, ‘म कोरियामा नबसेको भए हामी यहीँ चुहुने घरमै हुने थियौं, मैले सानोमा देखे जस्तै हरेक पटक पानी पर्दा मेरा बाबा जस्ताको छानोमा प्लास्टिकले छोपेर हामीलाई पानीबाट जोगाइरहेका हुन्थे ।’
कोरियाका दुःख
तर परिवारको ‘स्टाटस’ यहाँसम्म ल्याउन उनले कोरियामा पसिना मात्र हैन, रगत नै बगाएका छन् ।
‘कोरियाको सबैभन्दा ठूलो दुःख भनेकै अबैधानिक थिएँ’ कुराकानीको सुरुवातमै नारायणले भने, ‘त्यसपछि काम नपाइने, पाए पनि पारिश्रमिकको ग्यारेन्टी नहुने र भाषाको समस्या ।’
सन् २००३ सेप्टेम्बर २८ मा राजधानी सियोलको होटल छाडेर शहरबाहिरको खेतमा काम गर्न पुगे ।
खेतमा वर्षको ६ महिनामात्र काम हुन्थ्यो । त्यसैले उनी पुनः सियोल नै फर्किएँ, शुक्र र दीपकहरु रहेकै ठाउँमा । जिन्स कम्पनीका काम गर्न थालेको साता नवित्दै उनी नराम्रोसँग बिमारी परे ।
‘मैले बढीमा दुई वर्ष बस्छु भन्ने सोचेको थिएँ, यो कुरा सुनाउँदा त्यहीँका दाइहरु भने, पहिले दुई वर्ष बस् न अनि कुरा गर्न आइज भन्थे’ हाँस्दै उनले सुनाए, ‘त्यही दुई वर्ष, एक वर्ष भन्दाभन्दै १४ वर्ष बितिसकेछ ।’
यसबीचमा उनले ११ वर्ष एउटै कम्पनीमा काम गरे । सहकर्मी र साहुको सहयोगमा अवैधानिक बस्न सहज भयो उनलाई । तर, हरेक साताजसो आउने चेकिङबाट बच्नु, कम्पनी छाडेर बाहिर जान नपाउनुले एक प्रकारले बन्दी जीवन कोरिया रहँदा ब्यहोरे नारायणले । ‘सुरुको सात वर्ष त मैले घरमा एक पैसा पठाउन पाइनँ’ उनले सुनाए, ‘इलिगल भइयो, बाहिर निस्कन पनि नपाइने ।’
जीवनको सबैभन्दा उर्जाशील समयमा परिवारबाट बिछोडिएर परदेशका अबैधानिक बस्नुको पीडा त छँदैथियो ।
‘हरेक दिन कुरा भए पनि सँगै बसेजस्तो त कहाँ हुँदो रहेछ र ?’, उनी भावुक बने, ‘बाबा बिरामी भएर २२ दिनसम्म आईसीयूमा राख्दा पनि म आउन सकिन ।’ उनलाई लाग्यो मैले पैसा कमाएँ भने त, राम्रो अस्पतालमा राम्रो डाक्टरबाट बाबाले उपचार पाउनेछन् ।
कोरिया जाँदा तोते बोली बोल्ने छोरी अहिले १२ कक्षा पढ्ने भएकी छन् । अहिलेजस्तो इन्टरनेटको ब्यापकता त्यतिबेला थिएन । हरेक पटक फोनमा कुरा हुँदा छोरीको एउटै प्रश्न हुन्थ्यो, ‘बाबा, हजुर घर कहिले आउने ?’ उनी जवाफ दिन्थे, म छिट्टै आउँछु ।’
भाइ कृष्ण मानन्धरले उनको अनुपस्थितिमा परिवारको अविभावकत्व लिए । नारायण भन्छन्, ‘भाइ यहाँ नभएको भए सायद म यति लामो समय कोरिया बस्ने थिइनँ ।’
सबैभन्दा बढी फुटबल मिस गरेँ
फुटबल खेल्न मुलुकको नेतृत्व गर्दै बिदेश गएर उतै लुकेपछि उनले सबैभन्दा गुमाएको कुरो फुटबल नै थियो । ‘म फुटबलको पागल हो, तर त्यही फुटबल खेल्न नपाउँदा म निक्कै आत्तिएँ ।’
देशको इज्जत र फ्यानहरुको विश्वासमाथि कुठाराघात गरेकोमा उनी आफू भन्दा परिस्थितिलाई दोषी मान्छन् ।
भन्छन्, ‘८ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा घोषित मासिक २ हजार तलब मैले एक महिनाको पनि पाइनँ, यहीँ बसिरहेका भए म अहिले कुन अवस्थामा हुन्थेँ होला अनुमान लगाउनुस् त !’
तत्कालिन समयमा लेफ्ट डिफेन्सका सबैभन्दा शशक्त खेलाडी नारायणले काठमाडौं क्लबबाट सुरु गरेर करिव आधा दर्जन ए डिभिजन क्लबबाट खेलेका थिए । लिग र नकआउटका साथै भारत र बंगलादेशसम्म पुगेर उनले खेल कौशल देखाएका थिए ।
तर, देशका लागि खेल्न गएको उनी कोरियामा लुके । झण्डै १४ वर्ष लामो कोरिया बसाइपछि नारायण फर्किएक छन् र उनको परिवारमा पछिल्ला तीन सातादेखि पुनर्मिलन छाएको छ ।
- हजुरबुबा, बुबा र भाइका साथ नारायण
नारायणले कोरियामै कमाएको पैसाले घर किनेपछि झोँछेको दुई कोठे सामान्य ‘झुप्रो’बाट उनको परिवार सोह्रखुट्टे सरेको ९ वर्ष भयो ।
सामान्य किराना पसल चलाउने उनका बृद्ध बुबालाई अहिले पानी पर्न थालेपछि टिनको छानोमा प्लास्टिक छोप्न जानुपर्दैन ।
तर, सानोमा टोलका केटाहरु बिग्रिएको देखेर फुटबल खेल्न प्रेरित गर्ने उनका बुबा अझैसम्म पनि समाजमा शीर ठाडो गरेर हिँड्न सक्दैनन् । किनकी उनको छोरामाथि कहिल्यै नमेटिने गरी ‘राष्ट्रघात’ को दाग लागेको छ ।
प्रतिक्रिया 4