+

एन्फा अध्यक्षमा उम्मेदवारी दिने इन्द्रमान तुलाधरको घोषणा

२०७४ पुष  ४ गते १५:२९ २०७४ पुष ४ गते १५:२९
एन्फा अध्यक्षमा उम्मेदवारी दिने इन्द्रमान तुलाधरको घोषणा

४ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले एन्फा कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तुलाधर सीईओ पद छाडेर हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ प्रदेशसभा ख मा कांग्रेसबाट उम्मेदवार बनेका थिए तर, पराजित भएका थिए ।

ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले जिल्ला र ए डिभिजन क्लवका नेतृत्वसँग उम्मेदवारीबारे छलफलमा रहेको अनलाइनखवरलाई बताए । उनले भने, ‘आउने चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने सोचेको छु ।’

२०५८ सालमा एन्फा केन्द्रीय सदस्यको रुपमा मनोनित भएका उनी २०६५ सालमा एन्फाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

एन्फाबृतमा उनी ‘सफ्ट लाइनर’का रुपमा चिनिन्छन् । पछिल्लो समय एन्फामा भइरहेका विवादका बीच उनले मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका थिए ।

अध्यक्षमा उम्मेदवारी घोषणासँगै तुलाधरले मैदानभित्र र बाहिर पनि अस्तव्यस्त बनेको नेपाली फुटबललाई पुरानै लयमा फर्काउने एजेण्डा अघि सारेका छन् ।

‘मुख्यतः भूकम्पपछि नै रोकिइरहेको फुटबल गतिविधिलाई पुनः सुरु गर्नु मेरो पहिलो काम हुनेछ, तुलाधरले अनलाइनखबरसँग भने, ‘क्लबहरु फुटबलका मेरुदण्ड हुन्, क्लवको व्यवसायिकता पनि मेरो प्राथमिकतामा पर्नेछ ।’

समुदायमा आधारित क्लबहरु सञ्चालन गर्ने र निजीक्षेत्रलाई समावेश गराएर व्यवसायिकता अभिबृद्धि गर्ने योजना उनले सुनाए । ‘प्रत्येक क्लबको आफ्नै मैदान र आफ्नै एकेडेमी सञ्चालन गर्नसक्ने बनाउनुपर्छ’ उनले भने ।

‘अहिले क्लबका पदाधिकारी भन्दा खेलाडीको जीवनशैली बिलासी बन्दै गइरहेको अवस्था छ, क्लब र खेलाडी दुवैको समान स्तरोन्नतिका लागि क्लबलाई बलियो बनाउनु जरुरी छ ।’

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सातैवटा प्रदेशमा फुटबल लिग सञ्चालन गर्ने तथा केन्द्रीय लिगलाई निरन्तरता दिएर अन्तर्राष्ट्रिय स्तरमा फुटबलको सिजन सञ्चालन गर्ने तुलाधरको योजना छ ।

उनले प्रत्येक प्रदेशमा कम्तिमा एउटा एकेडेमी सञ्चालन गर्ने एजेण्डा पनि प्रस्तुत गरेका छन् । ‘सबै प्रदेशमा एन्फाकै लगानी र व्यवस्थापनमा एकेडेमी सञ्चालन गर्न नसकिएला तर परोक्ष सहयोग गरी एकेडेमी चलाउने व्यवस्था गरिनेछ, फुटबलमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न सबै प्रयास गरिन्छ’ तुलाधरले भनेका छन् ।

भूकम्पले क्षति पुर्‍याएको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माणका लागि लामो समय बितिसक्दा पनि खासै प्रगति नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘काठमाडौंमा त्यस्ता धेरै मैदानहरु छन् जसलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान वा रंगशाला बनाउन सकिन्छ, नेतृत्व पाएको खण्डमा मैले रंगशाला निर्माणलाई प्राथमिकतामा राख्नेछु ।’

दुई पटक मिति सारेर एन्फाको निर्वाचन आगमी चैत १४ गते हुने भएको छ । सुरुमा पुस २३, त्यसपछि माघ ११ हुँदै एन्फाको पछिल्लो बैठकले चैत १४ मा गर्ने निर्णय गरेको छ । विश्व फुटबल महासंघ फिफाले समयमै चुनाव सम्पन्न गराउन निर्देशन दिएपछि एन्फाले चुनाव सार्ने निर्णय गरेको थियो ।

एन्फाका अनुसार चुनाव सर्नुको मुख्य कारण आन्तरिक तयारी नै हो । पुस ५ अर्थात भोलिदेखि एक महिनासम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गराउने गरी एन्फाले सम्बन्धित जिल्लामा परिपत्र गरिसकेको छ ।

इन्द्रमान तुलाधर एन्फा
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय