५ पुस, काठमाडौं । एभरेष्ट प्रमियर लिग क्रिकेट ईपीएलमा पारस खड्काको टोली बिराटनगर वारियर्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबारको खेलमा ललितपुर प्याटि्रयट्सलाई हराएको बिराटनगरले बुधबारको पहिलो खेलमा पोखरा राहिनोजलाई ३ विकेटले पराजित गर्यो ।
पोखराले दिएको १२३ रनको लक्ष्य बिराटनगरले दुई बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका लागि ओपनर अंशुमन रथले ६० रनको अर्धशतकीय पारी खेले । १९औं ओभरमा रनआउटको शिकार हुनुअघि रथले ६१ बल खेलेर ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अर्का बिदेशी खेलाडी बाबर हायतले २२ र कप्तान पारस खड्काले ११ रन बनाए । बिराटनगरले १६ अतिरिक्त रन पाएको थियो । पोखराका शुसान भारी र इर्साउल्लाहले २/२ विकेट लिए ।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२२ रनको सामान्य योगफल बनाएको थियो । पोखराका लागि राजेश पुलामीले सर्बाधिक ३० रन बनाएका थिए । त्यस्तै इर्साउल्लाहले २१, ओपनर सुनील धमलाले १८ रन बनाए । तेज वली १८ र सौरभ खनाल १६ रनमा अविजित रहे ।
बलिङतर्फ बिराटनगरका कप्तान खड्काले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच बिराटनगरका लागि अर्धशतकीय पारी खेलेका अंशुमन रथ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतिक्रिया 4