+

मैदानमै मनाए विकेश कुथुले जन्मदिन

२०७५ भदौ  १० गते १९:५८ २०७५ भदौ १० गते १९:५८
मैदानमै मनाए विकेश कुथुले जन्मदिन

१० भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा व्यस्त रहेका खेलाडीहरुले थकानकै बीच पनि रमाइलो गरे । एन्फा मैदानमा अभ्यास चलिहरहँदा गोलकिपर विकेश कुथुको २५ औँ जन्मदिन मनाएको दृश्य रमाइलो देखियो ।

कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले अभ्यासका लागि आवश्यक सामान मिलाइसकेपछि प्रारम्भिक टोलीमा रहेका ३० जनालाई एकै ठाउँ भेला गरे । गोलो आकारमा मिलेर बसेका उनीहरुले प्रशिक्षक महर्जनले निर्देशन दिनुअघि विकेशलाई बीचमा लगे र एकै स्वरमा भने, ‘हृयाप्पी बर्थ डे टु यु …।’

विकेशलाई जन्मदिनको शुभकामना दिएर आइतबारको अभ्यास सुरु गरेका उनीहरु अभ्यास सकिएपछि पनि जन्मदिनको उल्लासमै थिए ।
अभ्यास सकिएपछि प्रशिक्षक महर्जनले खेलाडीहरुलाई निर्देशन दिँदै थिए, विकेश दौडँदै भित्र गए । लड्डु ल्याएर सबै साथीहरुलाई बाँडे । प्रशिक्षक महर्जनले पनि विकेशलाई लड्डु खुवाइदिए ।

सबै साथीहरुलाई लड्डु बाँडिरहँदा नै गोलकिपर किरण चेम्जोङले अर्को रमाइलो गर्न भ्याइहाले । विकेश लड्डु लिन गएका बेला एक जार पानी लुकाएर राखेका किरणले उनको टाउकोबाट पानी खन्याइदिए । सबै साथीहरु एकै स्वरमा कराए, होहोहो … ‘हृयाप्पी बर्थ डे टु यु …।’

‘हामी सबै बीच राम्रो मित्रता छ । खेलसँगै हामी रमाइलो गर्न पनि पछि पर्दैनौं । आज विकेशको जन्मदिन परेकाले साथीहरुले रमाइलो गरी हाले’ कप्तान विराज महर्जनले भने ।

‘पहिलेदेखि नै यस्तै छौं । एकअर्कालाई साथ दिन्छौं र हाँसीमजाक गर्छौं । आज त विकेशले मैदानमै नुहाए’ विराजले हाँस्दै सुनाए ।
झण्डै दुई घण्टाको अभ्यासले थाकेका उनीहरु विकेशको जन्मदिनको उल्लासले फुर्तिलो भएका थिए । साथीहरुको मायाले विकेश पनि मुस्कुराइरहेका थिए ।

प्रारम्भिक टोलीमा रहेका ३० खेलाडीसँगै कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र एथ्लेटिक ट्रेनर तथा पफर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारी अभ्यासमा लागिरहेका छन् ।

१२ औं संस्करणको साफ आउँदो १९ गतेदेखि ३० गतेसम्म बंगलादेशमा आयोजना हुँदै छ । २३ वर्षमुनिको टोली १८ औं एसियाली खेलकुदमा सहभागी भएर फर्किएपछि गएको बुधबारबाट प्रशिक्षण सुरु गरिएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय