+

रियाद महरेज: म्यानचेस्टर सिटीमा नयाँ शैली

२०७५ भदौ  ११ गते ९:०६ २०७५ भदौ ११ गते ९:०६
रियाद महरेज: म्यानचेस्टर सिटीमा नयाँ शैली

११ भदौ, काठमाडौं । इंग्लिस क्लब लिसेस्टर सिटीमा चम्किएका अल्जेरियाका रियाद महरेज महिनौंको कुराकानीपछि अन्ततः म्यानचेस्टर सिटीमा छन् । सिटीले यो सिजन आफ्नो महत्वपूर्ण खेलाडीका रुपमा महरेजलाई लिएको जनाएको छ ।

२०१५/१६ को सिजन प्रोफेसनल फुटबलर्स एशोसियसनले दिने प्लेयर अफ दि इयर को अवार्ड जितेका महरेज ६० मिलियन पाउण्डमा सिटी आएका हुन् । लिसेस्टरमा जस्तै सिटीमा पनि उनी २६ नम्बर जर्सीमा नै देखिने छन् ।

२०१५/१६ को सिजन लिसेस्टरले प्रिमियर लिग जित्दा उचाइमा पुगेका महरेज डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी आएसँगै उनको नयाँ शैली देखिनेमा फुटबल समर्थकहरु आशावादी छन् ।

पेरिसको उत्तरी सहरमा जन्मिएका महरेजले फ्रान्सकै तल्लो तहको लिग क्लब क्युमपेरबाट फुटबल करिअर सुरु गरेका थिए । २०१० मा उनी फ्रेन्च लिग टू क्लब ले हार्भे गए । त्यहाँ उनले आफ्नो बलको कला बढाएका थिए । जसले उनी बाहिरका प्रशिक्षकको नजरमा पनि परे ।

मैले सिटीको शैली राम्ररी नै बुझेको छु । खेलाडीहरुको शैली बुझ्न उनीहरुले मद्धत गरेको हुँदा सहज पनि भएको छ । सिटी मैले चाहेको जस्तै क्लब हो – महरेज

उनी २०१४ मा लिसेस्टर आउँदा लिसेस्टर च्याम्पियनसिपमा मात्रै थियो । सिजन सकिँदा लिसेस्टर पि्रमियर लिगमा पुग्यो । त्यही बेला अल्जेरियाबाट विश्वकपमा सहभागी भएका महरेज इभर्टनसँगको २-२ को बराबरी भएको खेलमा पि्रमियर लिग डेब्यू गरेका थिए ।

प्रशिक्षक निजेल पिएरसनको स्थानमा क्लाउडियो रानिएरी आएपछि लिसेस्टर नाटकीय जितमा अघि बढ्यो । जसमा प्रमुख भूमिकामा थिए उनै महरेज । प्रिमियर लिगमा गएको सिजन पनि महरेजले १२ गोल र १० एसिस्ट गरेकाले उनी पेप गार्डिओलाको नजरमा परे ।

महरेजको सबैभन्दा राम्रो गुण नै उनी अट्याकर्सहरुका लागि उत्कृष्ट तालमेलमा पास मिलाउन सक्छन् । लिसेस्टरमा जेमी भार्डी र महरेजले मिलाएको तालमेल म्यानचेस्टर सिटीमा पनि निरन्तर रहनेमा उनी विश्वस्त छन् ।

उनी दुवै साइटबाट अट्याकमा बढ्न सक्छन् । मिडफिल्डबाट बलमा तालमेल मिलाउने र विपक्षी डिफेन्डरलाई अगाडि तानेर बल बढाउन सक्ने क्षमताले पनि उनी सिटीमा चल्ने देखिन्छन् ।

२७ वर्षका उनको स्थिरता र अट्याकिङ क्षमताका साथै लामो प्रहार गर्न सक्ने गुणले पनि सिटीलाई फाइदा हुने छ । महरेज देब्रे र दाहिने दुवैतिरबाट सिटीमा मैदान उत्रन सक्छन् ।

रहिम स्टर्लिङ, बर्नार्डो सिल्भा र लेरोए सानेसहित महरेजको उपस्थितिले सिटीको बेन्च लाइन पनि बलियो बनेको छ । पेप गार्डिओलाको काउन्टर प्रेसिङको खेल शैलीमा पनि महरेज विशेष फिट हुने देखिन्छन् ।

महरेज लिसेस्टरको ४-४-१-१ को शैलीमा विशेष त राइट मिडफिल्डमा देखिन्थे । राइट मिडफिल्डबाट पनि उनी अट्याकमा भार्डीसँगै बढ्न सक्ने क्षमतामा थिए । लिसेस्टरमा उनको लागि स्पेस पनि मिलेको थियो ।

सिटीविरुद्ध प्राय विपक्षीहरु लो ब्लकमा रहने हुँदा महरेजालाई लिसेस्टरमा जस्तो स्पेस भने नमिल्न सक्छ । यसैले उनले आफ्नो बल रोक्ने र बढाउने क्षमता टाइट एरियामा पनि गर्न सक्नुपर्दछ ।

सिटीसँग पाँच वर्षे सम्झौता गरेपछिको पहिलो अन्तर्वार्तामा महरेजले गार्डिओलाको योजनामा फिट हुन जुनसुकै स्थानमा पनि खेल्न सक्ने बताएका थिए । ‘म अफेन्सिभ मिडफिल्ड रुचाउने खेलाडी हुँ । त्यसमा दाहिने र देब्रे दुवैतिरबाट अट्याकमा बढ्न सक्छु’ उनले भनेका छन्, ‘पोजिसनसँग मलाई कुनै समस्या छैन । म प्रशिक्षकले जहाँ चाहन्छन् त्यहीँबाट खेल्न सक्छु ।’

स्किल, स्पिड र टेक्निक सबैमा राम्रो देखिएका महरेजले म्यानचेस्टर सिटीमा नयाँ उचाइ लिनेमा प्रशिक्षक गार्डिओला पनि विश्वस्त छन् ।

यो सिजन सिटीले आर्सनलविरुद्धको पहिलो खेल २-० ले जित्दा महरेज सुरुवाती ११ मा थिए । दोस्रो खेलमा हडर्सफिल्डलाई ६-१ ले हराउँदा भने उनी मैदानमा थिएनन् ।  ‘मैले सिटीको शैली राम्ररी नै बुझेको छु । खेलाडीहरुको शैली बुझ्न उनीहरुले मद्धत गरेको हुँदा सहज पनि भएको छ’ महरेजले भनेका छन्, ‘सिटी मैले चाहेको जस्तै क्लब हो ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय