३० वैशाख, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज (सोमबार) कार्यक्रम गर्दै साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो ।
परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ । शान्तिको प्रतीक परेवाको आकृतिमा बनेको लोगोले सार्क राष्ट्रबीच आपसी एकता, भाइचाराको सम्बन्ध बस्ने उदेश्यले निर्माण गरिएको छ । त्यस्तै मस्कोटमा कृष्णसारको प्रतीक राखिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सार्वजनिक गरेको लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् ।
४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट लोगो र मस्कट बनाएका पौडेल नगद एक लाखसहित सम्मानित भए ।
नेपालको पोखरा र काठमाडौंमा आयोजना हुने साग खेलकुद प्रतियोगिता यही वर्षको डिसेम्बर एक तारिखदेखि १० तारिखसम्म आयोजना हुनेछ ।
प्रतिक्रिया 4