७ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा विनयराज पाण्डे र चतुरबहादुर चन्द भिड्ने भएका छन् । यद्यपि अरु तेस्रो उम्मेदवार पनि हुने सम्भावना कायमै छ ।
संघको विशेष साधारणसभा असोज १० र ११ मा हुनेछ, जसले नयाँ नेतृत्व चयन गर्नेछ ।
महासचिव र अध्यक्षका रुपमा झण्डै ४० वर्ष क्रिकेट संघको नेतृत्व गरेका पाण्डे यो पटक अध्यक्ष उठ्दैछन् । उनले यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् ।
तत्कालीन निर्वाचित क्यानको समूहबाट चतुरबहादुर चन्द नै उम्मेदवार हुने भएका छन् । अध्यक्षमा चन्द र महासचिवमा अशोकनाथ प्याकुरेल उम्मेदवार हुुने पक्का भएको छ । अरु उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एक सदस्यले बताए ।
स्रोतका अनुसार अध्यक्षको उम्मेदवार तय गर्नुअघि चन्द समूहले सहयोग गर्नुपर्यो भन्दै पूर्व अध्यक्ष पाण्डे कहाँ पनि पुगेको थियो । ‘हामीले सहयोग गर्नुपर्यो, अभिभावकको भूमिकामा बसेर मागनिर्देश गर्नुस् भन्यौं । उहाँले ५ भोट आएपछि म चुनाव लड्छु भन्नुभयो’ चन्द समूहका एक सदस्यले बताए ।
शेर्पा र मैनालीले के गर्छन् ?
क्रिकेट संघको चुनावमा ५९ मतदाता छन् । जिल्लाबाट आएका ३९ र प्रदेशबाट आएका २० जनाले आफूहरु मध्येबाट १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ ।
यदि सबै मतदाता आए भने विजयी हुन कुनै पनि उम्मेदवारलाई ३० मत चाहिन्छ । तर अध्यक्षको चुनाव भने कति जना उम्मेदवार हुन्छन् भन्नेमा भर पर्ने बताइएको छ ।
यो पटक क्रिकेट संघको चुनावमा पाण्डे र चन्द समूहबाहेक तेस्रो पक्षका रुपमा मिङ्ग्मा डन्डू शेर्पा समूह छ । शेर्पा क्रिकेट संघको प्रदेश १ को अध्यक्ष हुन् ।
चतुरबहादुर चन्द समूहले अध्यक्ष र महासचिवको उम्मेदवारी घोषणा गरिसकेकाले शेर्पा समूहसँग गठबन्धन बनाउने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा शेर्पा समूहले पाण्डेसँग सहकार्य गर्छ कि छुट्टै प्यानल बनाउँछ टुंगो लागेको छैन ।
यस्तै तत्कालीन निर्वाचित क्यानमा उपाध्यक्ष रहेका विनोद मैनाली पनि एउटा फ्याक्टर हुन् । उनले उम्मेदवारी त घोषणा गरेका छैनन् तर भोट भने माग्न थालेका छन् । तर सर्वोच्चको आन्तरिम आदेशबाट संघको चुनाव मतदाता भएकाले कुनै पनि समूह उनलाई अध्यक्ष बनाउन तयार देखिएको छैन ।
१० गते उद्घाटन, ११ गते चुनाव
क्रिकेट संघको स्वतन्त्र टोलीका अनुसार १० गते साधारणसभाको उद्घाटन समारोह हुनेछ ।
चुनावी प्रक्रिया भने भोलिपल्ट मात्र सुरु हुनेछ । अधिवेशनमा स्वतन्त्र टोलीमा रहेका अन्तराष्ट्रिय क्रिकेट संघ (आईसीसी)का तीनै प्रतिनिधि आउने छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि पर्यवेक्षक खटाउने भएको छ ।
यो अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि क्रिकेट संघको निलम्बन फुकुवा हुने अपेक्षा छ । १३ अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकमा निलम्बन फुकुवाबारे छलफल हुनेछ ।
प्रतिक्रिया 4