९ असोज, विराटनगर । मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिकालागि भारत सिलिगुढीको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले पराजित गर्दै रोयलले धरानसँगको भेट पक्का गरेको हो ।
रोयलको जीतमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । तीनवटै गोल मध्यान्तरपछि भएको थियो ।
एपीएफमाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोलेका थिए । कैलाश बस्नेतको पासमा निशान्तले प्रहार गरेको बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले रोक्ने मौका पाएनन् ।
६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाए । एपीएफ विरुद्ध तेस्रो गोल ७६ औं मिनेटमा सञ्जय सुब्बाले गरे ।
भारतीय टोलीले समूह चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गरेको थियो । एपीएफले झापा–११ लाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
खेलको म्यान अफ दि म्याच रोयलका क्लबका निशान्त लिम्बू बने । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नुपरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4