Comments Add Comment

निजगढ विमानस्थल घेर्ने सडक बनाउन ४२३२ रुख काट्नुपर्ने

२८ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढले विमानस्थलका लागि बन्ने सो सडकका लागि तोकिएको क्षेत्रमा उक्त संख्यामा रुख कटान गर्नुपर्ने आंकडा निकालेको हो ।

निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको बैठकले रुख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले गरेको हो ।

यो स्वीकृति मन्त्रिपरिषद्बाट मिल्नासाथ कम्तिमा साइट क्लियरेन्टतर्फ पेरीफेरी रोड निर्माणको बाटो खुल्नेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवम् आईपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ । आइतबार समितिको पाँचौं बैठक बसेको हो ।

समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्वरीङ कार्य समेत तत्काल अघि बढाउने निर्णय गरेको छ ।

बैठकले २०७४ भाऽ १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्रमा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित काम अगाडी बढाउने निर्णय समेत गरेको छ । यसको मततलव रुख कटानमा नेपाली सेनाले नै काम गर्ने भएको छ ।

समितिको चौथो बैठकले २०७६ माघ २ मा वस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आˆनो कार्य जिम्मेवारी बमोजिमका कार्य यथाशिघ्र अगाडि बढाइ त्यसको प्रगति प्रतिवेदन १० दिन भित्र समिति समक्ष पेश गर्ने निर्णय समेत भएको छ ।

निजगढ विमानस्थल निर्माण गर्न स्रोतको व्यवस्थापनका सम्बन्धमा समेत समितिले चासो लिएको छ । विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया समेत छिटो सक्ने निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment