४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ र १६ वटा ठूलो कौडा बरामद गरेको छ ।
महालक्ष्मी नगरपालिका-४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।
प्रहरी निरीक्षक रामप्रसाद खनालको कमान्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा घरधनी श्रेष्ठसहित २० जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवा खेलिरहेको खालबाट नगद ५४ हजार रुपैयाँ र पक्राउ परेका २० जनाको साथबाट ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको जनाएको छ ।
बरामद रकम र कौडासहित उनीहरुलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया 4