१८ भदौ, काठमाडौं । सुपरस्टार लिओनल मेस्सीको भविष्यको बारेमा स्पानिस जायन्ट बार्सिलोना र मेस्सीका बुबा जोर्ज मेसीबद्बीको बैठक निष्कर्षविहीन बनेको छ ।
बुधबार मेस्सीको एजेन्टसमेत रहेका जोर्जले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेएसँग मेस्सीको भविष्यबारे छलफल गरेका हुन् । ३३ वर्षीय मेस्सीले एक साताअघि क्याटलान क्लबमा २० वर्षको बसाइ अन्तय गर्ने घोषणा गरेका थिए । त्यसपछि विश्व फुटबलमा तरंग चलेको हो ।
दुई पक्षबीचको महत्वाकांक्षी बैठकले कुनै निष्कर्ष निकाल्न भने सकेन ।
स्पानिस फुटबल पत्रकार गुइलेम बालाग्ले दुई पक्षको छलफलबाट कुनै समाधान ननिस्किएको र अझे कुराकानी गर्नुपर्ने देखिएको बताएका छन् ।
‘मलाई लाग्छ, हामी कुनै बिन्दुमा सम्झौतामा प्रवेश गर्नुपर्छ र मेसीले क्लब छोड्नेछन्,’ बालागलेको भनाइ बीबीसीले उल्लेख गरेको छ ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी ६ पटकका बालोन डे ओर अवार्ड विजेता मेसीलाई अनुबन्धन गर्ने दौडमा अघि छ र बालागले सिटीले मेस्सीलाई यसअघि नै सहमत बनाइसकेको बताएका छन् ।
तर मेसी र बार्सिलोनाबीच रिलिज क्लजको विषयलाई लिएर असझदारी बढेको छ । यही क्लबले मेसीलाई फ्रि ट्रान्सफरमा नछाडेमा सिटीले मेसीको लागि बर्सिलोनाला२ ७०० मिलयन युरो रिलिज क्लज तिर्नुपर्नेछ ।
बार्सिलोनामा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ । तर अन्तिम वर्षमा रिलिज क्लज लागू नहुने मेस्सी पक्षको तर्क छ भने क्लबले रिलिज क्लज लागू हुने अडान राख्दै आएको छ ।
मेस्सीले अघिल्लो हप्ताको मंगलबार नै क्लब छाड्ने भन्दै क्लबलाई पत्र लेखेको थियो । तर यसबारे अहिलेसम्म क्लबले कुनै निर्णय गरेको छैन ।
अब स्पेन र इंगल्याण्डमा नयाँ फुटबल सिजन सुरु हुन एक साता र केही दिन मात्र बाँकी छ । तर मेसीको भविष्य के हुने अझै अनिश्चित नै छ । यस्तोमा मेसीले नयाँ सिजनमा कुन क्लबबाट खेल्ला भन्ने फ्यानहरुलाई उत्सुकता छ ।
प्रतिक्रिया 4