२८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ ।
अनलाइनमार्फत बसेको क्यान बोर्ड बैठकले दुई मुख्य पदको अन्तर्वार्ता तिहारअघि र बाँकी पदहरुको लागि तिहारपछि गर्ने निर्णय गरेको हो ।
क्यानले मुख्य प्रशिक्षक क्रिकेट म्यानेजर वित्त म्यानेजर र सातै प्रदेशका प्रशिक्षकलगायत पदमा आवेदन आह्वाहन गरेको थियो ।
यस्तै क्यानले आगामी मंसिर ३ गते बस्ने क्यानको वार्षिक साधारण सभाको एजेन्डा पनि तय गरिएको छ । जसमा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनैतिक योजना निर्माण, जिल्ला तथा प्रादेशिक संघहरुको कार्यविधि निर्माण, पदाधिकारी एवं कर्मचारीको आचार संहिता, एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माणलगायतको एजेण्डा तय गरिएको क्यानले जनाएको छ ।
यस्तै क्यानको आर्थिक नियमावलीमा पनि छलफल गरिएको क्यानले जनाएको छ र त्यसबारे थप छलफल गर्दै अर्को बोर्ड बैठकबाट पारित गर्ने निर्णय गरिएको छ ।
नेपाल क्रिकेट एम्पायर तथा स्कोरर सघ ले प्रस्ताव गरेको विधानलाई शुक्रबार सम्पन्न बोर्ड बैठकले नेपाल क्रिकेट संघ मातहत रहनेगरी मान्यता प्रदान गरेको छ ।
यसैगरी प्रस्तावित नेपाल प्रिमियर लिग (एनपीएल) को ड्राफ्टमा छलफल गर्दै आगामी वार्षिक साधारण सभामा समेत एजेन्डाको रुपमा लगिने निर्णय गरिएको छ ।
प्रतिक्रिया 4