९ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर इएफएल (काराबाओ) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले एभरटनलाई र टोटनहमले दोस्रो श्रेणीको स्टोक सिटीलाई पराजित गरेको हो ।
एभरटनको मैदानमा भएको खेलमा युनाइटेडले दुवै गोल अन्तिम समयमा गरेको हो । ८८ मिनेटसम्म खेल गोलरहित बराबरी भए पनि त्यसपछि युनाइटेडले दुई गोल गर्यो । ८८औं मिनेटमा एडिसन कभानीको गोलमा युनाइटेडले अग्रता बनाएको थियो भने इन्जुरी टाइममा एन्टोनी मार्सिएलले दोस्रो गोल गरे ।
यस्तै टोटनहमले पनि अवे मैदानमै जित हात पार्यो । स्टोकलाई टोटनहमले उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।
खेलको २२औं मिनेटमा गारेथ बेलको गोलबाट टद्दहमले अग्रता लिएको थियो । ५३औं मिनेटमा जोर्डन थोमपसनले स्टोकका लागि बराबरी गोल गरे । तर अन्तिम २० मिनेटमा टोटनहमले दुई गोल थप्यो । ७०औं मिनेटमा बेन डेभिस र ८१औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमको जित पक्का गरे ।
दुई म्यानचेष्टर भिड्ने
इएफएल कपको सेमिफाइनलमा दुई म्यानचेष्टर क्लब भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा युनाइटेड र सिटी भिड्ने भएका हुन् । खेल युनाइटेडको मैदान ओल्डट्रफोर्डमा हुनेछ । यस्तै टोटनहमले दोस्रो सेमिफाइनलमा दोस्रो डिभिजनको ब्रेन्टफोर्डसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4