+

त्रिदेशीय फुटबलमा राम्रो प्रदर्शनको आशामा नेपाल

२०७७ चैत  ९ गते १७:१८ २०७७ चैत ९ गते १७:१८
त्रिदेशीय फुटबलमा राम्रो प्रदर्शनको आशामा नेपाल

९ चैत, काठमाडौं । मंगलबार सुरु हुने त्रिदेशीय (थ्री नेसन्स) फुटबल प्रतियोगितालाई नेपालले फिफा विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको यू-२३ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार आयोजित प्रि म्याच कन्फ्रेन्समा तीनवटै देशका प्रशिक्षकले कोभिड-१९ ले गर्दा अन्तर्राष्ट्रिय खेल नभइरहेको अवस्थामा यो प्रतियोगिता राम्रो अवसर रहेको बताए ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय फुटबललाई विश्वकप छनोटको तयारीको रुपमा लिएको बताए । ‘हामी विश्वकप छनोटको होम म्याचको तयारीमा थियौँ । त्यसैको तयारीस्वरुप यो प्रतियोगिता हुन लागेको छ । हामीले छनोटकै लागि ३ महिनादेखि लगातार तयारी गरिरहेका छौँ । त्यसैले राम्रो खेल खेल्ने राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’ प्रशिक्षक महर्जनले भने ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिनसम्म नेपालको टिम घोषणा भएको छैन । प्रशिक्षक महर्जनले आफ्नो टिम तयार रहेको र घोषणा हुन मात्र बाँकी रहेको बताए । टिमको कप्तान भने किरण चेम्जोङ नै हुने उनले पुष्टि गरे ।

हाल भारतमा आई लिग खेलिरहेका किरण चेम्जोङ यसैका लागि नेपाल आउँदैछन् । ‘हाम्रो टिमको कप्तान किरण नै हुन् । उनी आज (सोमबार) आइपुग्छन् । टिम तयारी छ म्यानेजमेन्टले भनेपछि म घोषणा गर्न तयार छु’ महर्जनले भने ।

महर्जनले टिममा सिनियर र जुनियर खेलाडी मिश्रण रहेको बताए ।

यस्तै प्रिम्याच कन्फ्रेन्समा उपस्थित भएका नेपालका उपकप्तान रोहित चन्दले विश्वकप छनोटका खेल स्थगित भएपनि त्रिदेशीय प्रतियोगिता हुने भएपछि खेलाडीहरु उत्साहित भएको बताए । ‘यसले गर्दा खेलाडी मोटिभेट भएका छन् । हामीले राम्रो तयारी गरेका छौँ ।’

नेपालको सिनियर टिमले सन् २०१५ पछि पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । गत वर्ष भएको १३ औं सागमा नेपालले स्वर्ण जित्दा यू-२३ टिमले खेलेको थियो । तर सिनियर टिमले भने करिब ६ वर्षपछि होम ग्राउण्डमा खेल्न लागेको हो । यसबाट खेलाडीहरु उत्साहित रहेको रोहितले बताए । ‘ रंगशालामा नखेलेको पनि धेरै भयो । धेरै पछि टुर्नामेन्ट रंगशालमा हुँदैछ । होम ग्राउण्डमा खेल्न उत्साहित छौँ’ उनले भने ।

प्रशिक्षक बालगोपालले त्रिदेशीय कपमा नतिजा भन्दा पनि प्रदर्शनमा ध्यान दिने बताए । ‘यसपटक हामी रिजल्टमा भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छौँ । उत्कृष्ट खेल्यौँ भने रिजल्ट आफैँ आइहाल्छ । राम्रो खेलेर नेपालीलाई खुशी पार्ने लक्ष्य छ’ उनले भने ।

प्रशिक्षक महर्जनले नेपालको रणनीतिबारे सोध्दा त्यही दिन थाहा हुने बताए । उनले मंगलबार हुने बंगलादेश र कीर्गिस्तानको खेल हेरेर रणनीति बनाउने बताए । ‘भोलिको म्याच हेर्छु को कस्तो छन् हेरेर टिम सेटअप गर्छु ।’ उनले किर्गिस्तानसंग पनि नेपालले विभिन्न उमेर समूहमा खेलेकोले सो टिमबारे पनि केही जानकारी भएको बताए ।

दशरथ रंगशालामा नेपालले कीर्गिस्तानसंँग चैत १२ गते पहिलो खेल खेल्नेछ । यस्तै चैत १६ गते बंगलादेशसंग दोस्रो खेल खेल्नेछ । यसअघि गत नोभेम्बरमा नेपालले बंगलादेश गएर दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा पराजित भयो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।

कोभिड-१९ ले गर्दा लामो समयपछि मैदान फर्केकोले त्यो बेला नतिजा आउन नसकेको प्रशिक्षक महर्जनले बताए । ‘हामीले त्यतिबेला ७-८ दिन मात्र प्रशिक्षण गरेका थियौं । जसले गर्दा एक म्याच हार्‍यौँ । एक म्याच बराबर भयो’ महर्जनले भने, ‘अहिले हामीले निरन्तर ट्रेनिङ गरेका छौँ । खेलाडीहरु मोटिभेट भएको छ मिहिनेत गरिरहेका छन् । त्यो पराजयलाई बिर्साउँदै यस पटक राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ ।’

बंगलादेश पनि विश्वकप छनोटमा केन्द्रित

बंगलादेशका प्रशिक्षक जेम्स डेले पनि यस प्रतियोगिता विश्वकप छनोटको तयारीको रुपमा रहेको बताए । ‘हाम्रो टिममा ६ नयाँ खेलाडी छन् । हाम्रो लागि अब हुने २ खेल अनुभव लिने राम्रो अवसर हुनेछ’ डेले भने, ‘जुनमा विश्वकप छनोटको म्याच छ । हाम्रो लागि त्यसैको तयारी गर्ने अवसर छ ।’

बंगलादेशका ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दैछन् । ‘हामी सबै खेलाडीलाई खेल्ने अवसर दिनेछौँ । उनीहरुलाई २ खेलमा प्रयोग गर्नेछौँ’ उनले भने ।

यस्तै प्रशिक्षक डेले नेपाल घरेलु टिम भएकाले प्रतियोगिताको फेभरेट टोली रहेको पनि बताए । ‘नेपाल आयोजक देश हो । घरेलु दर्शकको सपोर्ट छ । घरेलु वातावरण छ । त्यसैले उनीहरु फेभरेट छन्’ डेले दुवै खेल प्रतिस्पर्धात्मक हुने बताए ।

उनले नेपालसंग यसअघि खेलेकोले जानकारी भएपनि कीर्गिस्तानको बारेमा धेरै जानकारी नभएको बताए । त्यसैले नेपालसँगको खेलमा केन्द्रित हुने बताए । नेपाल र बंगलादेशबीचको खेललाई फिफाले अन्तर्राष्ट्रिय स्तरको मान्यता दिनेछ ।

यस्तै बंगलादेशका मिडफिल्डर सोहेल रानाले टिमले कडा मिहिनेत गरेको र राम्रो खेल्ने आशा व्यक्त गरे । ‘हामीले मिहिनेत गरेका छौँ । हामी नर्मल गेम नै खेल्छौँ’ रानाले भने, ‘आशा छ हामी हाम्रो उत्कृष्ट खेल देखाउनेछौँ ।’

बंगलादेशका कप्तान जम भुएन सोमबार नेपाल आइपुग्ने र मंगलबारको खेल नखेल्ने प्रशिक्षक डे ले बताए ।

कीर्गिस्तानको लागि अवसर

नेपाल र बंगलादेशको सिनियर टोली खेल्ने त्रिदेशीय प्रतियोगितामा कीर्गिस्तानको भने ओलम्पिक टोली अर्थात यू-२३ टिमले खेल्दैछ । नेपाल आउनुअघि धेरै तयारी गर्न नपाए पनि कीर्गिस्तानले यस प्रतियोगितामा राम्रो गर्ने अपेक्षा राखेको छ ।

कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले राम्रो खेल्ने आशा व्यक्त गरे । ‘हामीसंग तयारीका लागि धेरै समय थिएन । तैपनि यस प्रतियोगितामा राम्रो गर्ने अपेक्षा छ’ उनले भने । घरेलु टोली नेपाल कठिन प्रतिस्पर्धी भएको भन्दै नुर्बेकले भने, ‘नेपालसंगको खेल कठिन हुनेछ किनकी नेपालको यो राष्ट्रिय टिम हो ।’

यस्तै कीर्गिस्तानको गोलकिपर तोकोताएभ एर्जानले यस प्रतियोगिता महत्वपूर्ण अवसर भएको बताए । ‘हाम्रो लागि यो प्रतियोगिता ठूलो अवसर हो । नेपाल र बंगलादेशसंग खेल्न पाउनु अवसर हो । हाम्रो लागि आफ्नो राम्रो प्रदर्शन देखाउने अवसर छ’ उनले भने । एर्जानले यसअघि उमेर समूहमा पनि नेपालसंग खेलिसकेका छन् ।

कीर्गिस्तानको टोलीको औसत उमेर २१-२२ वर्षको रहेको छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

त्रिदेशीय कप फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय