१५ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिड र इङ्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको खेलमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् । रियलको अस्थायी घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । जसमा चेल्सीले अग्रता लिएपनि जोगाउन सकेन ।
खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए । तर २९ औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि बराबरी गोल फर्काए । उक्त गोलपछि बेन्जेमाले च्याम्पियन्स लिगमा ७१ गोल पुर्याएका छन् ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । अब दोस्रो लेगको खेल चेल्सीको घरेलु मैदानमा आगामी ६ मेमा हुनेछ ।
प्रतिक्रिया 4