१९ वैशाख, काठमाडौं । भारतका पाँच राज्यमा विभिन्न चरणमा भएको विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतको पश्चिम बंगाल, तमिलनाडु, आसाम, केरला र पुदुचेरीमा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।
२९४ सिट रहेको पश्चिम बंगालमा दुई स्थानको मतगणना रोकिएको छ । बाँकी २९२ मध्ये सत्तारुढ तृणमूल कांग्रेस १७९ स्थानमा अगाडि देखिएको छ । भारतीय जनता पार्टी १०७ सिटमा अगाडि छ । भारतीय कांग्रेस र उसको गठबन्धन पाँच स्थानमा मात्र अगाडि देखिएको छ ।
तमिलनाडुमा भारतीय कांग्रेससहितको डीएमके गठबन्धन अगाडि देखिएको छ । २३४ सिट रहेको यो राज्यमा अहिलेसम्म डीएमके गठबन्धन १३७ सिटमा अगाडि देखिएको छ । त्यस्तै सत्तारुढ एआईडीएमके गठबन्धन भने ९० सिटमा अगाडि देखिएको छ । सत्तारुढ गठबन्धनमा भारतीय जनता पार्टीसमेत सामेल छ ।
१२६ सिट रहेको आसाममा भारतीय जनता पार्टी सम्मिलित एनडीए गठबन्धन ७७ स्थानमा अगाडि देखिएको छ । भारतीय कांग्रेस सम्मिलत यूपीए गठबन्धन भने ४९ स्थानमा अगाडि देखिएको छ ।
केरलामा वाम गठबन्धन सबैभन्दा अगाडि देखिएको छ । वाम गठबन्धन १४० सिटमध्ये ८१ स्थानमा अग्रता लिइरहेको छ भने भारतीय कांग्रेससहितको यूडीएफ गठबन्धन ५० स्थानमा अगाडि देखिएको छ । भारतीय जनता पार्टीसहितको एनडीए गठबन्धनले भने जारी मतगणनामा केवल २ सिट पाएको छ ।
पुदुचेरी राज्यमा भने ३० मध्ये १६ स्थानमा भारतीय जनता पार्टीसहितको एनडीए गठबन्धन अगाडि देखिएको छ । भारतीय कांग्रेससहितको यूपीए गठबन्धनले १२ सिटमा अग्रता लिएको छ ।
प्रतिक्रिया 4