४ जेठ, काठमाडौं । अरब सागरमा आएको ताउ ते चक्रवातका कारण मुम्बईको समुद्री तटमा एक सानो जहाज डुब्दा ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारतीय जलसेनाका अनुसार जहाजमा २७० जना सवार थिए, जसमध्ये १७७ जनाको उद्धार गरिएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । अन्य तीन व्यापारिक जहाज अझै पनि अरब सागरमा रहेका छन् । जसमा सात सयभन्दा बढी मानिस छन् ।
तटीय क्षेत्रमा आएर ठोक्किएसँगै चक्रवात कमजोर बनिसकेको बताइएको छ, तर अहिलेसम्म उक्त चक्रवातका कारण कम्तीमा १२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतीय जलसेनाका प्रवक्ताले अरब सागरमा फसेको जहाजमा रहेका मानिसहरुको उद्धारको लागि तीन जहाज पठाइएको बताएका छन् ।
यसैबीच भारतको गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मंगलबार ताउ ते चक्रवातका कारण राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको बताएका छन् । चक्रवातका कारण गुजरातका कोरोना अस्पतालहरुमा विद्युत् आपूर्ति समेत रोकिएको थियो ।
गुजरात सरकारका अनुसार चक्रवातका कारण १५९ सडक भत्किएका छन् भने १९६ वटा सडकमा यातायात रोकिएको छ । यस्तै करिब १६ हजार कच्ची तथा पक्की दुवै किसिमका घरमा क्षति पुगेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4