८ साउन, काठमाडौं । जापानमा आजदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागीता जनाउन जापान पुगेकी नेपाली सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् ।
टोकियो पुगेर तीन दिनको क्वारेन्टिन समय पूरा गरेपछि कल्पनाले प्रशिक्षण सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ ।
वाइल्ड कार्डबाट टोकियो ओलम्पिकमा छनोट भएकी कल्पनाले भोली महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दैछन् ।
जुडोका सोनिया भट्टले भने यसअघि नै प्रशिक्षण सुरु गरिसकेकी छिन् । सोनियाले पनि शनिबार नै महिला ४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
दुई साता अघि नै जापान पुगेका पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले तोकुशिमामा विशेष प्रशिक्षण गरेका थिए । त्यसपछि उनीहरु ओलम्पिक भिलेजमा नेपाली टिम बस्ने स्थान पुगेका थिए ।
गौरिकाले पनि शुक्रबार प्रशिक्षण गरेकी छन् । गौरिका र एलेक्सले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउँदैछन् । त्यसमध्ये एथ्लेटिक्स खेलाडी सरस्वती भने शनिबार जापान जाँदैछिन् । उनले जुलाई ३० मा महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछिन् ।
प्रतिक्रिया 4