+

मैत्रीपूर्ण फुटबलका लागि भारतसहित तीन देशलाई प्रस्ताव

२०७८ साउन  १५ गते २१:४१ २०७८ साउन १५ गते २१:४१
मैत्रीपूर्ण फुटबलका लागि भारतसहित तीन देशलाई प्रस्ताव

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पिनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेलका लागि तीन देशसँग प्रस्ताव गरेको छ ।

बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको  एन्फाको शुक्रबार बसेको कार्यमसितिको आकस्मिक बैठकले आवश्यकता अनुसार राष्ट्रिय टिमका लागि मैत्रीपूर्ण खेल आयोजना गर्ने तथा टिम सहभागी गराउने निर्णय गरेको छ ।

दक्षिण एसियाली क्षेत्रको मुख्य फुटबल प्रतियोगिता सेप्टेम्बरमा हुने तय भएपनि आयोजक बंगलादेशले तोकिएको समयमा गर्न नसक्ने भन्दै हात झिकेको छ र अब अक्टोबरमा साफ हुनेछ ।

नेपाललाई आयोजना गर्न प्रस्ताव गरेको छ । एन्फाले साफ च्याम्पियनसिप आयोजना गर्न आवश्यक पर्ने १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नेपाल सरकाले स्रोत सुनिश्चितता प्रतिवद्धता पत्र प्राप्तसहित ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको जानकारी आएको पनि एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिपसहित एएफसी एसियन कप छनोटको अन्तिम चरणलाई मध्यनजर गर्दै नेपाली टिमले प्रशिक्षण गरिरहेको छ । बन्द प्रशिक्षणमा सुरुमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले ५० जना बोलाएका थिए, त्यसमा ३६ जना प्रशिक्षणमा छन् ।

महिलाको मैत्रीपूर्ण खेलका लागि प्रस्ताव

यस्तै अर्को वर्ष भारतमा आयोजना हुने महिला एएफसी एसियन कप २०२० को छनोटको तयारी स्वररुप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तयारी एन्फाले गरिरहेको छ ।

इरानको राष्ट्रिय महिला टोली वा अन्य राष्ट्रको महिला टोलीसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्राचार भइसकेकोले आवश्यकताअनुसार राष्ट्रिय महिला टिमले मैत्रीपूर्ण खेल आयोजना गर्ने तथा सहभागी हुने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ ।

एसिया कप छनोट अन्तर्गत समूह एफ मा रहेको नेपाली महिला टोलीले आगामी सेप्टेम्बरमा छनोट खेल खेल्दैछ । यो समूहमा नेपालसंगै हङकङ र फिलिपिन्स छन् ।

एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय