+

मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गएका हुन् : एन्फा पूर्व प्रवक्ता राई

२०७८ साउन  २६ गते १८:३४ २०७८ साउन २६ गते १८:३४
मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गएका हुन् : एन्फा पूर्व प्रवक्ता राई

२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुशासनको दायरभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ ।

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले भने, ‘प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाउनुभएको आरोप अनुशासनभन्दा बाहिर गएको जस्तो मलाई लागेको छ । प्रशिक्षकबाट त्रुटि भएजस्तो लाग्छ ।’

एक साताअघि बसेको एन्फाको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोहीको आधारमा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई समिति गठन गरेर छानबिन गर्न निर्देशन दिएको थियो ।

तर राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भएअनुसार काम नभएको भन्दै तेस्रो पक्षलाई छानबिन गर्न दिनु गलत नजीर भएको भन्दै एन्फाको प्रवक्ता पदबाट राजीनामा दिएका थिए ।

बयानका लागि बोलाइएका पूर्व प्रवक्ता राईले कुनै पनि पक्षमा नलागी आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताए । छानबिन समितिले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ ।

मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।

अब्दुल्लाह अलमुताइरी एन्फा किरण राई पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय