+

पीएसजीमा मेस्सीको उतारचढाव

२०७८ फागुन  ३० गते १७:४७ २०७८ फागुन ३० गते १७:४७
पीएसजीमा मेस्सीको उतारचढाव

३० फागुन, काठमाडौं । सात पटकका बेलोन डी’ओर विजेता लियोनल मेस्सीले १८ वर्षपछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुग्नु धेरैका लागि आश्चर्यजनक थियो ।

जीवनको सबैभन्दा महत्वपूर्ण समय बार्सिलोनामा रहँदा मेस्सीले व्यक्तिगत र क्लबका लागि सम्भव भएजति सबै उपाधि जिते । ३३ वर्षको उमेरमा पीएसजी पुगेका उनीबाट क्लबले ठूलो आशा गरेको थियो । पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने लक्ष्यमा मेस्सीसहित नेयमार र केलियन एम्बाप्पेलाई भेला गरेको पीएसजी गत साता नराम्रोसँग बजारियो ।

रियल मड्रिडसँग पराजित भएपछि पीएसजी यो सिजन च्याम्पियन्स लिगमा क्वार्टरफाइनल पनि पुग्न सकेन । विश्वका उत्कृष्ट तीन फरवार्ड लिएर खेलेको पीएसजीका समर्थकले मेस्सीलाई सात पटक बेलोन डी ओर विजेता भन्दै नराम्रोसँग जिस्क्याए ।

बार्सिलोना छाडेपछि मेस्सीले पेरिसमा विताएका उत्कष्ट क्षण र कठिन समयलाई फ्रान्सेली अनलाइन फ्रान्स–२४ ले यसरी प्रस्तुत गरेको छ ।

राम्रा प्रदर्शन :

म्यानचेस्टर सिटीविरुद्धको पहिलो गोल

मेस्सीले पीएसजीमा आएर पहिलो गोल सेप्टेम्बर २८ मा म्यानचेस्टर सिटीविरुद्ध गरेका थिए । सिटीविरुद्धको खेल पीएसजीका लागि महत्वपूर्ण थियो । पीएसजीमा डेब्यू गरेयता उनी तीन खेलसम्म जितविहीन थिए । च्याम्पियन्स लिगअन्तर्गतको उक्त खेलमा उनले पीएसजीका अर्का फरवार्ड केलियन एम्बापेसँग साझेदारी गर्दै गोल गरेका हुन् ।

लाइपजिगविरुद्ध जादू

पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिए पनि मेस्सीले च्याम्पियन्स लिगमा केही उत्कृष्ट प्रदर्शन भने देखाए । कहिलेकाहीँ पीएसजीको खेल हेर्दा च्याम्पियन्स लिगमा उसको यात्रा यति छिट्टै टुंगिन्छजस्तो लाग्दैनथ्यो ।

समूह चरणमा आरबी लाइपजिगविरुद्धको खेलमा मेस्सीले दोस्रो हाफको अन्त्यतिर सात मिनेटको अन्तरमा दुई गोल गर्दै ३–२ को जित दिलाएका थिए ।

असिस्टको ह्याट्रिक

नोभेम्बर २८ मा मेस्सीले फ्रेन्च लिग वानमा संघर्षरत टोली सेन्ट इटिनविरुद्ध तीन असिस्ट गरे । यो पनि उनको पीएसजी करिअरको उत्कृष्ट क्षण रह्यो । सेन्ट इटिनविरुद्ध मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनी यस सिजन लिग वानमा १० असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्नेमा एमबाप्पेसँगै शीर्ष स्थानमा छन् ।

खराब समय :

पहिलो गोलको प्रतीक्षा

मेस्सीले लिग वानमा पीएसजीबाट डेब्यु गोल गर्न नोभेम्बर सम्म कुर्नुपर्‍यो । अगष्ट २९ मा डेब्यू गरेका उनले नोभेम्बर २० मा पहिलो लिग गोल गरे । रेइम्स, ल्योन, रेन्स, मार्से र लिलीविरुद्धको खेलमा गोल गर्न असफल भए पछि मेस्सीले घरेलु मैदानमा नान्टेसविरुद्ध गोल गरे । उक्त खेल पीएसजीले ३–१ ले जितेको थियो ।

लिगमा पहिलो हार

एक से एक सुपरस्टारको जमघट र मेस्सी जस्तो फरवार्ड हुँदा पनि पीएसजीलाई खेल जित्न कठिन हुन थाल्यो । अक्टोबर ३ मा रेन्नेससँग २–० ले हारेको खेलमा पीएसजीले गोलका लागि एउटै पनि सशक्त प्रहार गर्न सकेन । माउरिसियो पोचेटिनोको टोलीमा त्यस दिन मेस्सी, एम्बाप्पे, नेइमार, एंगेल डी मारिया खेलेका थिए ।

कपबाट बाहिरिनु

कोरोना संक्रमणबाट मुक्त भएर पहिलो खेल खेल्दा फ्रेन्च कपको साविक विजेता पीएसजीले निससँग पराजय ब्यहोर्नुपर्‍यो । अन्तिम–१६ चरणको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा पीएसजीबाटै लोनमा गएका गोलरक्षक मार्सिल बुल्काले निर्णायक बचाउ गरेका थिए ।

रियल मड्रिडविरुद्ध पेनाल्टीमा चुक्नु

पीएसजीका लागि २०२२ को च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्धको दोस्रो लेगको खेल निकै यादगार रहनेछ । त्यसअघि पहिलो लेगमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसक्नु पनि घाटाकै रुपमा रह्यो ।

६२ औं मिनेटमा मेस्सीले प्रहार गरेको पेनाल्टीलाई रियल मड्रिडका बेल्जियन गोलरक्षक थियावट कोर्टवाले बचाएका थिए । पछि किलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले सो खेल खेल १–० ले जितेको थियो ।

च्याम्पियन्स लिगबाट बहिर्गमन

सान्टियागो बार्नबाउमा रियल मड्रिडसँगको हार मेस्सी र पीएसजीको लागि ठूलो झड्का थियो । आधा घण्टा भन्दा कम समय बाँकी पीएसजीले रहँदा २–० को अग्रता लिएर पनि जोगाउन सकेन । करिम बेन्जेमाको ह्याट्रिकले पीएसजीलाई च्याम्पियन्स लिगको पहिलो उपाधी जित्ने प्रतीक्षालाई अझै धकेलिदिएका थिए । यसले फ्रान्सका समर्थकले सन् २०१७ र २०१९ मा क्रमशः बार्सिलोना र म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को नाटकीय पराजय पुनः सम्झन पुगे ।

समर्थकबाट आलोचना

रियल मड्रिडसँग हारेपछिको अर्को खेलमा पीएसजीका सर्मथकबाट मेस्सीको आलोचना भयो । पार्क डी प्रिन्समा आइतबार पुछारको क्लब बोर्डेविरुद्ध ३–० को जित हात पारे पनि फरवार्डद्वय लियोनल मेस्सी र नेयमारलाई हारको मुख्य दोषी मानिएको थियो । उनीहरुलाई अपमानजनक तरिकाले खिल्ली उडाइएको थियो ।

एएफपीको सहयोगमा

लियोनेल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय