५ जेठ, काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेस्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित गर्यो । रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।
त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । जेभियरले क्वेस्टलाई ५८–३८ ले हरायो । जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गरे ।
बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८-५० को जित दर्ता गर्यो । बीएमकेका सोनम तेन्जिङले १९ अंक बटुले । अन्माइस नेपाल विरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनिष केसीले १५ अंक जोडे ।
प्रतियोगिताको आयोजक रोयलका सञ्चालकत्रय विनोद महर्जन, रविन खत्री र नृपेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १० टिम सहभागी छन् ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । विजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल बुधबार हुने छ ।
महिला खुला बास्केटबल भोलिदेखि
गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ ।
ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् ।
राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल बिहीबार हुने छ ।
प्रतिक्रिया 4