२९ साउन, काठमाडौं । सामान्यतः नेपाली भलिबलमा २० वर्षको उमेरमा खेलाडीहरुले आफ्नो पहिचान बनाउन सफल हुन्छन् । राष्ट्रिय टोलीमा पर्न नसके पनि घरेलुमा वा एकेडेमीमा आफूलाई निखारपन ल्याउँछन् ।
चर्चित स्पाइकर प्रतिभा मालीले १३ र उषा भण्डारीले १४ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, क्विक स्पाइकर सुमित्रा रेग्मीले २१ वर्षको उमेरमा भलिबल खेल्न सुरु गरिन् । त्यसको दुई वर्षमै नेपालको राष्ट्रिय टिमबाट डेब्यु मात्रै गरिनन्, क्विक स्पाइकमा लामो समयसम्म राज गर्नसक्ने सम्भावना पनि देखाएकी छन् ।
यसैसाता सम्पन्न काभा वुमन्स नेसन्स लिगको पहिलो खेलमा श्रीलंकाविरुद्ध उनले डेब्यु गरिन् । त्यसअघि रसिया टोलीसँग दुई अभ्यास खेल खेलेकी थिइन् । अभ्यास खेलमा राम्रो प्रभाव छाडेपछि काभामा पहिलो रोजाइमा सबै खेल खेलिन् ।
क्विक स्पाइकमा न्यू डायमण्डकी ललिता नाथ र पुलिसकी कोपिला रानाले घरेलुमा राम्रो गरे पनि उचाइको कारण राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । सुमित्राले सिनियर टोलीमा छिटो मौका पाउनुको मुख्य आधार नै उनको उचाइ हो ।
५ फिट ११ इन्च उचाइ भएकी सुमित्राले क्विक स्पाइक र ब्लकबाट धेरै प्रभावित पारेकी छिन् । ‘उचाइ मेरो प्लस प्वाइन्ट थियो । भलिबल सिकेको दुई वर्षमा राष्ट्रिय टिम डेब्यु गरें’, उनी भन्छिन्, ‘अब भलिबलमा नै केही गर्छु भन्ने सोच छ ।’
कुमारको प्रश्न : यतिका समयसम्म कहाँ थियौं ?
संखुवासभाको चैनपुर नगरपालिका-९ त्रिशुलेकी सुमित्रा, कुलबहादुर र रत्नकुमारीकी कान्छी छोरी हुन् । उनका दुई दिदीहरू छन् । उनले सानो उमेरमा कहिल्यै भलिबल खेलिनन् ।
२०७५ सालमा गाउँकै शारदा माध्यमिक विद्यालयबाट एसईई दिएपछि उनलाई पढ्न मन लागेन । सामान्य परिवारमा जन्मिएकी उनलाई त्यो समय जसरी पनि पैसा कमाउनुपर्छ भन्ने लाग्यो । त्यसैले एसईई दिएको एक वर्षसम्म गाउँघरमै काम गर्न थालिन् । तर, उनको पढाइलाई निरन्तरता दिन ठुली दिदी मिनाले काठमाडौं ल्याइन् । काठमाडौं आएर पनि उनले पढ्न छाडेर काम गरिन् ।
तर, काम अनुसार दाम पाइनन् । त्यसपछि भने पढ्न थालिन् । विश्व निकेतनमा कक्षा ११ भर्ना भएकी उनी बिहान कलेज जान्थिन्, दिनभर कोठामा हुन्थिन् । त्यसक्रममा चिनजानका नवीन थापा मगरले दिनभरी खाली बस्न भन्दा चन्द्रागिरि न्यू डायमण्ड एकेडेमीमा भलिबल खेल्न सुझाव दिए ।
उनलाई देखेपछि न्यू डायमण्डका प्रशिक्षक कुमार राई उचाइबाट प्रभावित बने । ‘यतिका समयसम्म कहाँ थियौं ?’ भनेर प्रश्न गरे । प्रतिभा र ललिताले पनि ‘तिमीले सक्छौं’ भनेर हौसला दिएपछि सुमित्रा भलिबल खेल्न तयार भइन् ।
त्यो समय घरेलु भलिबलमा न्यू डायमण्डको राज थियो । प्रतिभा माली, सलिना श्रेष्ठ, ललिता नाथ, झरना श्रेष्ठ लगायतका स्टार खेलाडीहरुले भरिएको न्यू डायमण्डलाई हराउन विभागीय टोलीहरुलाई निकै मुश्किल पर्दथ्यो ।
२१ वर्षको उमेर (सन् २०२२ मा) भलिबल सिक्न थालेकी उनलाई कुमार राई र सिनियर खेलाडीको साथले घरेलु प्रतियोगितामा पहिचान बनाउन खासै समय लागेन । सातौं एनभीए २०७९ मा कप्तान ललिता नाथलाई प्रतिस्थापन गर्दै सुमित्राले डेब्यू गरिन् ।
सुमित्राले एनभीए, प्रधानमन्त्री कप, टाइगर लामाचौर भलिबल प्रतियोगिता समान दुई-दुई संस्करण खेलिन् । अरु केही प्रतियोगिता पनि खेलेपछि राष्ट्रिय टिममा स्थान बनाइन् ।
न्यू डायमण्डमा भलिबल सिक्न जाँदासम्म उनले राष्ट्रिय टिममा खेल्छु भनेर कल्पना समेत गरेकी थिइनन् । ‘यत्तिकै घरमा बसिरहनुभन्दा खेल्छु भनेर गएकी थिएँ । खेल्दाखेल्दै राष्ट्रिय टिमसम्म पुगेँ,’ सुमित्राले भनिन् ।
लोभलाग्दो डेब्यु
सुमित्राले राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । ‘राष्ट्रिय टिममा डेब्यु गर्दा खुसी थिएँ । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने भयो’, सुमित्राले डेब्यू क्षण सम्झिइन्, ‘पहिला क्लबबाट खेल्थेँ, अहिले देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छु ।’
दोस्रो खेलमा भारतलाई ३-२ ले हराएको थियो । नेपालको भलिबल इतिहासमा भारतमाथि त्यो पहिलो जित थियो । ‘भारतलाई हराउँदा सबै जना यतिधेरै खुसी थियौं कि वर्णन गर्न सकिँदैन । त्यो बेला आफूलाई निकै गौरवान्वित महसुस भएको थियो,’ समित्रा भन्छिन् ।
तर फाइनलमा भारतसँग ३-२ ले हार्दा त्यति नै नराम्रो लागेको सुमित्रा बताउँछिन् । ‘भारतविरुद्ध फाइनलमा पहिलो र दोस्रो सेट राम्रै भएको थियो । तर त्यसपछि हाम्रो टिम सन्तुलन मिलेन जस्तो लाग्यो । म पनि अलिकति नर्भस भएँ’, उनले भनिन् ।
पहिलो पटक घरेलु समर्थक अगाडि फाइनल खेलेकी उनी केही दबाबमा थिइन् । त्यसैले सर्भिसमा गल्ती पनि गरिन् । यो गल्तीबाट सिक्दै राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित राख्न अझै मिहिनेत गर्नुपर्छ भन्ने शिक्षा उनले लिएकी छन् ।
‘धेरै राम्रा-राम्रा जुनियर खेलाडीहरु छन् । त्यसैले नियमित खेल्न यति मिहिनेतले पुग्दैन । अझै धेरै मिहिनेत गनुपर्छ’, उनले भनिन्, ‘मसँग अनुभवको कमी छ । मैत्रीपूर्ण खेलहरु भयो भने अनुभव र आत्मविश्वास दुवै बढ्छ ।’
विभाग छाडेर न्यु डायमण्ड रोजेकी सुमित्रा
न्यू डायमण्ड एकेडेमीमा सिक्न जानुअघि उनले नेपाल पुलिसको जवानमा नाम निकालेकी थिइन्, तर गइनन् । भलिबलका घरेलु प्रतिगोगिताहरुमा राम्रो गर्न थालेपछि विभागीय टोलीबाट प्रस्तावहरु पनि आए । तर, न्यू डायमण्डको मायाले जित्यो ।
उनले आफ्नो करिअरमा न्यू डायमण्डबाट मात्रै घरेलु खेल्ने निर्णय नै लिएकी छिन् । प्रशिक्षक कुमार राईले पनि उनलाई आफ्नो ‘ड्रिम प्लेयर’ बनाउने सपना देखेका छन् ।
प्रशिक्षक राई भन्छन्, ‘मैले सुमित्रालाई पाँच वर्षको लक्ष्य लिएको छु । दुई वर्ष गयो । अबको तीन वर्षमा उनीलाई ड्रिम प्लेअर बनाउने लक्ष्य छ ।’
यसअघि प्रशिक्षक राईले यस्तो सपना रमिला तण्डुकारमा देखेका थिए । तर, भलिबलमा भविष्य नभएको भन्दै उनी खेल छाडेर विदेश गइन् ।
त्यसपछि राईले स्पाइकर प्रतिभा मालीलाई ‘ड्रिम प्लेअर’ बनाउने लक्ष्य राखे । आफ्नो समयको उत्कृष्ट स्पाइक बनेकी मालीलाई चोटले सताएको छ । सन् २०२० मा खुट्टामा चोटका कारण नियमित खेल्न संघर्ष गरेकी छिन् ।
फेन्चाइजमा सरप्राइज अवसर
नेपाललाई पहिलो पटक हुन लागेको एभरेष्ट वुमन्स भलिबल लिगमा कर्णाली टिमले मार्की प्लेयरको रुपमा सुमित्रालाई अनुबन्ध गरेको छ ।
यो उनको लागि सरप्राइज अवसर थियो । उनी आफैंले पनि मार्की प्लेयर सोचेकी थिइनन् ।
हाल बीबीएस प्रथम वर्षमा अध्ययनरत सुमित्राले फ्रेन्चाइज लिगलाई पैसा कमाउने माध्यमसँगै विदेशी खेलाडीसँग सिक्ने अवसर मानेकी छन् ।
उनका अनसार परिवारका सदस्य पनि भलिबलमा लागेर जति नाम कमाएकी छन्, त्यसमै खुसी छन् ।
प्रतिक्रिया 4