९ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेप नेपाली खेलकुदको नियामक निकाय हो । राखेपमा आवद्ध झण्डै २ सय खेल संघहरुको नियमन र सुपरिवेक्षणको जिम्मा राखेपमा निहीत रहन्छ ।
सोमबार अखिल नेपाल फुटबल संघ एन्फाको एउटा पक्षले गरेको आसन्न निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घोषणा कार्यक्रममा राखेपकी वोर्ड सदस्य रेनुका श्रेष्ठ पनि उपस्थित थिइन् ।
कार्यक्रम सञ्चालक एन्फा महासचिव इन्द्रमान तुलाधरले राखेप सदस्यका रुपमा इन्दिरा निरौला र श्रेष्ठलाई मञ्चमा बोलाए । दुवै जनाले खुरुखुरु मञ्चमा गएर आतिथ्य ग्रहण गरे । कार्यक्रमलाई सम्बोधन गरेका सबैले दुवैलाई राखेप बोर्ड सदस्यका रुपमा सम्बोधन गरे ।
तुलाधरले राखेप बोर्ड सदस्य भने पनि निरौला राखेप बोर्ड सदस्य होइनन् । उनलाई गत मंसिर ३ गते युवा तथा खेलकुद मन्त्रालयले पदबाट बर्खास्त गरेको थियो ।
९ जना बर्खास्तीमा परेकोमा रेनुका श्रेष्ठसहित पाँच जनालाई फागुनमा उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत थमौती दिएको थियो । आफ्नो बर्खास्तगीविरुद्ध निरौलाले अदालतमा आवेदन दिएकी थिइनन् ।
नयाँ खेलकुद ऐनमा राखेप बोर्ड सदस्यको खास जिम्मेवारी उल्लेख छैन । राखेप अध्यक्ष र परिषदले तोके बमोजिमको जिम्मेवारी सदस्यहरुको हुने भनेर ऐनमा उल्लेख छ ।
प्रतिक्रिया 4